फाल्गुनन्दमा आएको अनुदानको मलबारे कृषकको चासो, सूचना सार्वजनिक गर्न माग

  नयाँ बुलन्द
518 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिका अन्तर्गतका कृषकहरूले आर्थिक वर्ष ०८१/८२ मा प्राप्त अनुदानको रासायनिक मल सम्बन्धी विवरण सार्वजनिक गर्न माग गरेका छन्।

स्थानीय कृषक पूर्णकुमार नेम्बाङ र भिमप्रसाद चेम्जोङले गाउँपालिकामा निवेदन दिँदै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन, कोशी प्रदेश विराटनगरमार्फत आएको अनुदानको मल के कति मात्रामा आएको, त्यसको मूल्य, भाडा, नाफा र वितरण प्रक्रिया पारदर्शी रूपमा खुलाउन माग गरेका हुन्।

 

कृषकहरूले मल गाउँपालिकाका ७ वटै वडामा कसरी वितरण भयो भन्ने प्रक्रिया, प्रत्येक वडामा मल पाउने किसानहरूको नामावलीसहितको विवरण माग गर्दै सूचनाको हक ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सार्वजनिक सरोकारका विषयमा जानकारी लिन आफूहरू अधिकार सम्पन्न रहेको बताएका छन्।

“कृषकलाई दिने भनेर आएको अनुदानको मल कुन किसानले कति पाए? के सबैले पाएका छन्? मूल्य र वितरण प्रक्रिया कस्तो हो? भन्ने प्रश्न उठेकाले हामीले लिखित रूपमा सूचना माग गरेका छौं,” निवेदक नेम्बाङले बताए।

निवेदनको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय पाँचथरमा समेत बोधार्थ पठाइएको छ।

स्थानीयस्तरमा मल वितरणमा पारदर्शिता र जवाफदेहिताको माग गर्दै कृषकहरूले राखेको यो कदमलाई गाउँपालिकाले कस्तो प्रतिक्रिया दिने हो भन्ने चासो व्यापक रूपमा देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार