
इलाम : नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आज देशभरका ७५३ वटै स्थानीय तहमा विद्यालय शिक्षा विधेयकविरुद्ध विरोध कार्यक्रम राखिएको थियो । सोही सिलसिलामा इलाम जिल्लाका फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा समेत ध्यानाकर्षण पत्र बुझाइएको छ।
नेपाल सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक राहत शिक्षकहरूको हितविपरीत रहेको भन्दै विरोध कार्यक्रम सञ्चालन गरिएको हो। राहत शिक्षकहरूले विगत दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा योगदान दिँदै आएका छन्। तर, हाल प्रस्तावित विधेयकले ती शिक्षकहरूलाई विस्थापित गर्ने खतरा रहेको भन्दै व्यापक असन्तुष्टि जनाइएको छ। नेपाल राहत शिक्षक इलाम जिल्ला समितिका अध्यक्ष धर्म दाहालका अनुसार फाकफोकथुम, सूर्योदय र इलाम नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण पत्र बुझाइएको हो। अन्य पालिकामा निरन्तर बुझाउने उनले बताए ।
२०७८, २०८० र २०८२ सालमा नेपाल सरकारसँग भएका सम्झौताहरू विपरीत हालको विधेयक ल्याउन लागिएको छ, अध्यक्ष दाहालले बताए, ‘यसले राहत शिक्षकहरूलाई पेशाबाट बाहिर निकाल्ने र अयोग्यको बिल्ला भिराउने खतरा छ।’ यसअघि नेपाल राहत शिक्षक केन्द्रीय समितिको २०८२ असार २७ र २८ गते काठमाडौंमा सम्पन्न बैठकले साउन २५ गते देशव्यापी विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो। आगामी संघर्षका थप कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर तय गरिने पनि जनाइएको छ।

राहत शिक्षकहरूले स्थायी व्यवस्थापनको माग गर्दै आउनुका साथै विगतमा भएका सरकारी सहमति र सम्झौताहरू कार्यान्वयन गर्न दबाव दिइरहेका छन्। यदि, शिक्षा समिति, उपसमिति र सरकारले राहत शिक्षकप्रति गरिँदै आएको अन्याय यथावत् रहेमा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत राहत शिक्षकहरूले दिएका छन्।






















































