जुविलेन्ट इलाइट एकाडेमी: कक्षा १२ विज्ञान संकायमा उत्कृष्ट नतिजा

इलाम : इलाम सदरमुकामस्थित जुविलेन्ट इलाइट एकाडेमी ले जिल्लामै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित कक्षा ११ र १२ को विज्ञान संकायको सफलतापूर्वक सञ्चालन गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।

विज्ञान संकाय सञ्चालनको पहिलो ब्याचबाट नै एकाडेमीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । कक्षा १२ को परीक्षामा सहभागी २० जना विद्यार्थीहरूमध्ये निशान्त श्रेष्ठ ले ३.९२ (जीपीए) हासिल गर्दै जिल्लामै उच्चतम नतिजा ल्याएका छन् ।

देशभरको अधिकतम जीपीए ३.९६ रहेको सन्दर्भमा, श्रेष्ठको नतिजा सम्भवतः देशमै दोस्रो वा तेस्रो स्थानमा पर्ने अनुमान गरिएको छ । साथै, यो नतिजा कोशी प्रदेशमै पहिलो हुनसक्ने विद्यालयको दाबी छ ।

त्यसैगरी अर्का विद्यार्थी प्रसन्न घिमिरे ले ३.७८ जीपीए ल्याउँदै उत्कृष्टता प्रदर्शन गरेका छन् । समग्रमा सम्पूर्ण विद्यार्थीहरू राम्रै ग्रेडमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल भुसान्त सुब्बाले यस अवसरमा सफलताका लागि विद्यार्थीहरू, शिक्षकगण, कर्मचारी, अभिभावक तथा विज्ञान संकाय इन्चार्जप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन् । उनले भने, ‘काठमाडौँतर्फ विद्यार्थी आकर्षित भइरहेका बेला इलाममै निजी लगानीमा विज्ञान संकाय सञ्चालन गर्नु आफैमा चुनौती थियो । न्यून शुल्क, उच्च लगानी र सीमित स्रोतका बाबजुद हाम्रो प्रयास सफल भएकोमा हामी गर्व गर्छौं ।”

शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै गएको जुविलेन्ट इलाइट एकाडेमी ले स्थानीय स्तरमै विज्ञान शिक्षाको गुणस्तरमा क्रान्ति ल्याउने चर्चा हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार