अनुश्रीको जीवन बाँच्यो: बिर्तामोड चिल्ड्रेन अस्पतालमा दुर्लभ रोगको सफल उपचार

इलाम  : अर्जुनधारा नगरपालिका ५ चाँदनी चोककी दिपा गिरीकी ९ महिनाकी छोरी अनुश्री गिरीको जटिल छारे रोगको सफल उपचार बिर्तामोड चिल्ड्रेन अस्पतालमा गरिएको छ। अस्पतालमा समयमै गरिएको उपचारले अनुश्रीको जीवन जोगिएको छ।

गत साउन २ गते बिहान  ४ बजे सुतिरहेकै बेला अनुश्रीलाई अचानक छारे लाग्न थाल्यो। छारे लगातार आउन थालेपछि आमा दिपा गिरी आत्तिएर छोरीलाई नजिकैको क्लिनिकमा लगिन्। त्यहाँबाट बच्चाको आईसियू सुविधा भएको अस्पतालमा लैजान सल्लाह पाएपछि उनी सीधै बिर्तामोड चिल्ड्रेन अस्पताल पुगिन्। “छोरीलाई यस्तो अवस्थामा देख्दा म निकै डराएँ,” दिपाले भनिन्, “अस्पताल ल्याउँदा डाक्टर र नर्सहरूको हेरचाह देखेर मनमा आशा पलायो। आज छोरी पूर्ण रूपमा ठिक भएकी छिन्। म धेरै खुशी छु।”

बालरोग विशेषज्ञ डा. रुपक आर्चायका अनुसार अनुश्रीलाई ‘सुपर रेफ्रेक्ट्री स्टाटस एपिलेप्टिकस’ भन्ने दुर्लभ प्रकारको छारे रोग लागेको थियो। यो रोग विश्वमा १० लाख जनामा मात्र करिब ४२ जनामा देखिन्छ। २४ घण्टासम्म छारे नरोकिने यस्तो अवस्थामा ज्यानसमेत जाने खतरा हुन्छ। “अनुश्रीलाई सुरुमा दिइएका औषधिहरूले काम गरेनन्। तीनवटा डोजपछि पनि छारे रोकिएन,” डा. आर्चायले बताए, “त्यसपछि भेन्टिलेटरमा राखेर लगातार निगरानी गरियो। केही दिनको उपचारपछि छारे कम हुँदै गयो र अन्ततः नानी ठिक भइन्।”

लगातार ४–५ दिनको पीआईसीयू उपचारपछि अनुश्रीलाई भेन्टिलेटरबाट हटाइयो। अहिले उनी सामान्य अवस्थामा फर्किएकी छिन्। “अब उनी खाना खान, खेल्न र गफ गर्न थालेकी छिन्। सोमबार हामीले उनलाई डिस्चार्ज गरेका छौं,” डा. आर्चायले जानकारी दिए। अस्पतालकी नर्सिङ इन्चार्ज गोमा सिटौलाले उपचार सफल हुनुमा चिकित्सक, नर्सिङ टिम र अभिभावकको सहकार्य मुख्य कारण भएको बताइन्। “२४ सै घण्टा निगरानी, समर्पित टोलीको सेवा र आमाबुवाको धैर्यताले गर्दा उपचार सफल भयो,” उनले भनिन्।

बिर्तामोड चिल्ड्रेन अस्पतालमा २४ घण्टा विशेषज्ञ चिकित्सकको सेवा र अनुभवी नर्सहरूको टोली उपलब्ध रहेकाले बालबालिकाको गम्भीर रोगमा पनि समयमै उपचार गर्न सम्भव भएको छ। पछिल्लो समय यो अस्पतालले आम अभिभावकको विश्वास जित्दै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार