
यमनको अबियान प्रान्तको सागर किनारमा अफ्रिकी शरणार्थी तथा आप्रवासीहरू चढेको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको ज्यान गएको छ भने दर्जनौँ अझै बेपत्ता छन्।
शनिबार साँझ, अरब सागरमा शक्रा तट नजिकै डुङ्गा पल्टिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। डुङ्गामा करिब १५० जना सवार थिए, जसमा अधिकांश इथियोपियाका नागरिक थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार उद्धारकर्ताले ५४ शव फेला पारेका छन् भने १२ जनालाई उपचारका लागि अस्पतालमा पठाइएको छ।
यमन र अफ्रिकी मुलुकहरूबिचको समुद्री मार्गलाई विश्वकै एक ‘जोखिमपूर्ण र व्यस्त’ आप्रवासन मार्ग मानिन्छ। गत वर्ष मात्र ५५८ जनाले यसै मार्गमा ज्यान गुमाएका थिए।
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन सङ्गठनका अनुसार २०२४ मा मात्र ६० हजारभन्दा बढी शरणार्थी तथा आप्रवासी यमन पुगेका थिए।
























































