
इलाम : अब दक्षिण कोरियामा नगद वा कार्ड झिक्नै नपर्ने, मोबाइल समेत नछोइकन अनुहार देखाएरै भुक्तानी गर्न सकिने प्रविधि तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ।
“पे-बाई-फेस” भनिने यो प्रणालीमा प्रयोगकर्ताले केवल क्यामेरामा आफ्नो अनुहार देखाउँछन् र भुक्तानी स्वचालित रूपमा पूरा हुन्छ। यो प्रविधि फेसियल रिकग्निसन अर्थात् अनुहार पहिचान प्रविधिको प्रयोगमा आधारित हो, जुन पहिले पहिचान पुष्टि गर्न प्रयोग हुँदै आएको थियो।
यस प्रविधिको सुरुवात सन् २०१९ मा सिनहान कार्ड ले आफ्नै कार्यालयको क्यान्टिन र केही क्याफेहरूमा गरेको थियो। पछि यो सेवा विश्वविद्यालय, सुपरमार्केट जस्ता स्थानहरूमा विस्तार गरिएको थियो। तर बैंकमा गएर अनुहार दर्ता गर्नुपर्ने प्रक्रिया र गोपनीयता सम्बन्धी चिन्ताले गर्दा सेवा त्यति व्यापक हुन सकेको थिएन।
हालै नेभर पे र टस जस्ता ठूला फिनटेक कम्पनीहरूले सेवा सुरु गरेसँगै यो प्रणालीले नयाँ गति लिएको छ। यी कम्पनीहरूले मोबाइल एपमै अनुहार दर्ता र स्वीकृति दिने सुविधा उपलब्ध गराएकाले प्रयोगकर्ताका लागि यो निकै सहज भएको छ। विशेषगरी प्रविधिप्रेमी युवा पुस्तालाई लक्षित गरेर सेवा विस्तार भइरहेको छ। डिजिटल भुक्तानीमा सहजता, छिटो प्रक्रिया र आधुनिक प्रविधिको अनुभव चाहने प्रयोगकर्ताहरूका लागि यो प्रविधि नयाँ आकर्षण बनेको छ।
विशेषज्ञहरूका अनुसार, भविष्यमा सार्वजनिक यातायात, अस्पताल, शपिङ मलजस्ता क्षेत्रमा पनि यो प्रविधिको प्रयोग बढ्ने अपेक्षा गरिएको छ। यद्यपि गोपनीयता र डेटा सुरक्षा सम्बन्धी विषयमा सावधानी अपनाउनु पर्ने खाँचो भने कायमै छ।-इपिएस कोरिया नेपाल



















































