
इलाम : इलामको फाकफोकथुम–२ स्थित धार्नेखोप आधारभूत विद्यालयका विद्यार्थीले नयाँ झोला पाएसँगै अनुहारमा खुसी झल्किएको छ । यो सहयोग विद्यालयकी पूर्वविद्यार्थी तथा हाल ताप्लेजुङको मेरीङदेन गाउँपालिका–३ मा कार्यरत शिक्षिका सम्झना राईको व्यक्तिगत खर्चमा व्याग प्रदान गरिएको हो।
शिक्षिका राईले बाल्यकालमा यही विद्यालयबाट प्रारम्भिक शिक्षा हाँसिल गरेकी थिइन्। २०७९ साल चैत्र २४ देखि केही समय उनी पहिलो पटक नियुक्ति भइ यसै विद्यालयमा स्थायी शिक्षकको रूपमा कार्यरत पनि रहिन्। हाल ताप्लेजुङको पृथ्वी मावि, खाम्लुङमा अध्यापन गरिरहेकी राईले आफ्नो सानो प्रयासले गाउँका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई केही सहयोग पुग्ने विश्वास गर्दै झोला वितरण गरेकी हुन्। “मैले यही विद्यालयबाट शिक्षाको यात्रा सुरु गरेकी हुँ। केही फर्काउन सकूँ भन्ने सोचले यो सानो सहयोग गरेकी हुँ,” उनले भनिन्।
२०३० सालमा स्थापना भएको धार्नेखोप आधारभूत विद्यालयमा ४ जना स्थायी शिक्षक, १ जना बालविकास शिक्षक तथा १ जना कार्यालय सहयोगीसहित कुल ६ जना कर्मचारी कार्यरत छन्। विद्यालयका प्रधानाध्यापक शान्तिराम भट्टराई, जो २०५० सालदेखि निरन्तर सेवा दिँदै आइरहेका छन्, भन्छन्, “यस किसिमको सहयोगले विद्यार्थी र अभिभावक दुवैको मनोबल उच्च हुन्छ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश बोहोराले शिक्षिका राईप्रति आभार व्यक्त गर्दै यस्ता योगदानले गाउँकै शिक्षाको स्तर उकास्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
झोला वितरण कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाहरूको उपस्थिति थियो। सहभागी सबैले शिक्षिका सम्झना राईको योगदानको खुलेर प्रशंसा गरेका थिए।यस विद्यालयले गत वर्ष आफ्नो स्वर्ण जयन्ती (५० वर्ष) उत्सव समेत भव्य रूपमा मनाएको थियो।






















































