न्यूयोर्क । यही अगष्ट ९ मा विश्वव्यापी रुपमा मनाइने ३१औँ विश्व आदिवासी दिवस अमेरिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा दिवस मनाउने तयारी गरिएको हो ।
यस अघि नै फिप्नाको कार्यसमिति बैठकले अगस्ट ९ मा दिवस मनाउने निर्णय गरिसकेको छ । दिवसको अवसमारमा न्यूयोर्कस्थित ज्यक्सन हाइटमा कार्यक्रम हुने छ । यस वर्ष दिवसको नामा “आदिवासी जनताको आत्मनिर्णयको अधिकार, खाद्य सुरक्षाको र स्वाधीनताको बाटो” भन्ने तय गरिएको छ ।
कार्यक्रममा विगतका वर्षहरु जस्तै यस वर्ष पनि फिप्नामा आवद्ध १८ वटा संस्थाका नेपाली आदिवासी जनजाति समुदायहरूले आ-आफ्नो जनजातिहरूको भेषभूषा र साँस्कृतिक झाँकी प्रस्तुत गर्ने छन् । ज्यक्सन हाइटको ७२ स्ट्रिट देखि ७९ स्ट्रिटको मध्यभागसम्म र्यालीको आयोजना गरिने छ । सोही र्याली मूल समारोह कार्यक्रममा परिणत हुनेछ ।
कार्यक्रममा नेपाली डायस्पोराका विभिन्न संघसंस्थाहरुलाई आमन्त्रण गरिएको छ । अमेरिकामा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाका अध्यक्ष तोरण गुरुङले जानकारी दिनुभयो ।






















































