
पाँचथर: फाल्गुनन्द गाउँपालिकाले वर्षायामका कारण सडक क्षति हुन सक्ने भन्दै गाउँपालिका भित्र ट्याक्टर, ट्रक तथा अन्य हेभी सवारी साधनहरूको सञ्चालनमा अस्थायी रोक लगाएको छ। गाउँपालिकाको कार्यपालिकाको मिति २०८२ साउन ७ गतेको बैठकले राष्ट्रिय राजमार्ग बाहेकका मुख्य सडकहरू अहिले स्तरोन्नतिको प्रक्रियामा रहेकाले र वर्षाको समयमा ती सडकहरू हिलाम्य भई थप क्षति हुन सक्ने भन्दै यस्तो निर्णय लिएको हो।

गाउँपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म ट्याक्टर, ट्रक लगायतका भारी सवारी साधनहरू सञ्चालन नगर्न सवारी चालक र सवारी धनीहरूलाई आग्रह गरेको छ। निर्णयको उल्लङ्घन गर्नेहरूमाथि प्रत्येक पटक पाँच हजार रुपैयाँ जरिवाना गरिने पनि सूचनामा उल्लेख गरिएको छ। सडक सुरक्षाका लागि गाउँपालिकाले वडा कार्यालयहरू तथा विभिन्न प्रहरी चौकीहरूलाई निगरानीमा सहयोग गर्न अनुरोध गरेको छ। यस निर्णयले अस्थायी असुविधा भए तापनि दीर्घकालीन रूपमा सडकको संरक्षण र दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।






















































