अनुमति बिना कार्यक्रम सञ्चालन गर्न खोजेपछि इलाम नगरपालिकाले रोक लगायो

  सिर्जना श्रेष्ठ
2.3k Shares

इलाम : हेल्दी लिभिङ नेपालले आयोजना गर्न लागेको उपभोक्ता स्वास्थ्य सचेतना तथा आत्मनिर्भर योजना कार्यक्रमलाई इलाम नगरपालिकाले रोकेको छ। कार्यक्रम सञ्चालनअघि स्थानीय तहबाट अनुमति नलिइएकाले नगरपालिकाले  कार्यक्रम रोकेको हो । शनिबार दिउँसो १२ बजेदेखि इलामको होटेल समिटमा गर्ने तय भएको थियो ।

इलाम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरू जो कोहीले जथाभावि गर्न पाउदैन ।बाहिरबाट कोही आएर इलाममा कार्यक्रम गर्न चाहन्छ भने अनिवार्य रूपमा पालिकाको अनुमति लिनुपर्छ । त्यस्तै पालिकाले पनि कार्यक्रमको उद्देश्य, सामग्री र सहभागी विज्ञहरूको आधारमा मात्र अनुमति दिर्नेगर्छ ।

उनका अनुसार जनस्वास्थ्यको सवालमा सबैजना जिम्मेवार हुनुपर्छ । स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दा योग्य र प्रमाणित स्वास्थ्यकर्मी तथा विज्ञको सहभागिता अनिवार्य हुन्छ, अनावश्यक भ्रम फैलाउने र प्रचारमुखी कार्यक्रमहरू कसैले पनि नगर्न उनले आग्रह गरे ।

खानालले आयोजकसँग फोनमार्फत सम्पर्क गरी पालिकाको अनुमति बिना यस्ता कार्यक्रम गर्न नमिल्ने जानकारी गराएको र भविष्यमा अनुमति लिएर तथा विज्ञको उपस्थिति सुनिश्चित गरी मात्र कार्यक्रम गर्न अनुरोध गरेको जानकारी दिए ।

स्वास्थ्यको नाममा कार्यक्रमप्रति चासो विज्ञको चिन्ता

पछिल्लो समय सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म विभिन्न व्यक्तिहरूले “स्वास्थ्य जनचेतना कार्यक्रम” को नाममा सप्लिमेन्ट र स्वास्थ्य सामग्रीको प्रचार–प्रसार गर्दै कार्यक्रम सञ्चालन गरिरहेका छन्। स्वास्थ्यकर्मी, पोषणविद् र उपभोक्ता अधिकारकर्मीहरूले यस्ता कार्यक्रम अनधिकृत, प्रमाणहीन र विज्ञता तथा अनुमति विना संचालन भइरहेकामा गम्भीर चासो व्यक्त गरेका छन् ।

सार्वजनिक स्वास्थ्य सेवा ऐन, २०७५ अनुसार स्वास्थ्य शिक्षाका कार्यक्रमहरू वैज्ञानिक, तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्नेछ। स्वास्थ्य सेवा प्रवाह वा स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गर्न योग्यता प्रमाणित हुनु अनिवार्य छ। यद्यपि हाल सामाजिक सञ्जालमार्फत स्वास्थ्य सामग्री, सप्लिमेन्ट र औषधिको खुला प्रचार भइरहेको छ।

उपभोक्ता संरक्षण ऐनले के भन्छ ?

उपभोक्ता संरक्षण ऐन, २०७५ ले झूटा, भ्रामक र अप्रमाणित दाबी गर्दै स्वास्थ्य सामग्रीको प्रचारलाई दण्डनीय ठहर गरेको छ। ऐनको दफा १६ उपदफा २ (ख) अनुसार झूटा विज्ञापन गर्न नपाइने उल्लेख छ। दोषी ठहरिएकालाई २–५ वर्ष कैद वा ४ देखि ६ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।

स्वास्थ्य जनचेतना कार्यक्रमको नाममा एउटा मात्रै कम्पनीको सप्लिमेन्ट प्रचार गर्नु ऐनको उल्लंघन हो। “सार्वजनिक स्वास्थ्य कार्यक्रम निष्पक्ष, तथ्यमा आधारित र वैज्ञानिक हुनुपर्छ, कुनै एक कम्पनीको प्रचार मात्र हुनु गलत हो,” उनीहरु  बताउँछन्।

सप्लिमेन्ट बारेमा  विशेषज्ञहरूको सुझाब

हेल्दी लिभिङ नेपाल एउटा स्वास्थ्यवद्धक सामग्री प्रवद्धन गर्ने कम्पनी हो । यस्को स्थापना विं सं। २०७७  असार १९ गते टेम्पा शेर्पाले गरेका हुन् । यस्ले बस्तुको प्रत्यक्ष विक्री गर्ने इजाजत पाएको छ । यसले भारतीय नेटवकिर्ङ कम्पनी भेस्टिसको केही सप्लिमेन्ट तथा सौन्दर्य सामग्री र नेपालमा उत्पादन सामग्री बिक्री वितरण गर्दै आएको छ ।

यी सप्लिमेन्टहरूले कोलेस्टेरोल घटाउने, मोटोपना कम गर्ने, मुटुको स्वास्थ्य सुधार गर्ने, र महिलाको स्वास्थ्यमा लाभदायक हुने दाबी गरिन्छ। तर मधुमेह, थाइराइड, र हर्मोनसम्बन्धी रोग विशेषज्ञ डा. प्रसिद्ध ढकाल भन्छन्, “सप्लिमेन्टहरू आयुर्वेदिक, एलोपेथिक या नाम नै नभएका हुन्छन्। रोग लागिसकेपछि सप्लिमेन्ट सेवन गर्नु उपयुक्त हुँदैन। जस्तै सुगर, थाइराइड वा हर्मोन समस्या भए सप्लिमेन्टले रोग नियन्त्रण गर्न सक्दैन। स्वस्थ र सन्तुलित भोजन गर्ने ४० वर्ष मुनिका ९० प्रतिशत मानिसहरूलाई सप्लिमेन्ट आवश्यक पर्दैन।

 “सप्लिमेन्ट राम्रो छ भन्ने भए पनि त्यसमा के मिसिएको छ भन्ने थाहा हुँदैन। कुन अवस्थामा कस्तो सप्लिमेन्ट र कति मात्रामा सेवन गर्ने भन्ने कुरा डाक्टरको सल्लाहमा मात्रै गर्नुपर्छ। सप्लिमेन्ट खानाले रोग नलाग्ने ग्यारेन्टी छैन। सन्तुलित आहार, दुध, दही, मोही, फलफूल, सागसब्जी, मासु, अण्डा र पानी नै उत्तम हो।” डा. ढकाल भन्छन् ।

मुटु रोग विशेषज्ञ डा. डि.आर. आचार्यका अनुसार, “सप्लिमेन्टको प्रभाव सीमित छ। यो बजार प्रवर्द्धनको वस्तु हो। खेतमा फल्ने फलफूल र सागसब्जी खाँदा पनि सप्लिमेन्टको आवश्यकता पर्दैन। सप्लिमेन्टले लिभर, किडनी र मुटुमा असर पुर्‍याउन सक्छ। त्यसैले डाक्टरको सल्लाह बिना सेवन गर्नु हानिकारक हुनसक्छ।”

आयुर्वेद चिकित्सक डा सरोज रिसाल भन्छन्, “सप्लिमेन्ट आवश्यकतानुसार मात्र सेवन गर्नुपर्छ। जथाभावी सेवन गर्दा समस्या हुन सक्छ। भिटामिन डी जस्तो कमी भए मात्र परीक्षण गरेर मात्र सप्लिमेन्ट लिनुपर्छ। अत्यधिक सेवनले ओभरडोज हुन सक्छ। शरीरले आवश्यक पर्ने भिटामिन आफैं बनाउँछ, बाहिरी सप्लिमेन्टले शरीरको प्राकृतिक उत्पादन रोक्न सक्छ जसले नकारात्मक असर गर्छ।”

पोष्टणविद् डा अरुणा उप्रेतीका अनुसार, “सप्लिमेन्टले तौल घटाउने वा रोग नलाग्ने ग्यारेन्टी दिन सक्दैन। स्वस्थ रहन सन्तुलित आहार, नियमित व्यायाम र उचित जीवनशैली आवश्यक छ। कतिपय खेलाडीहरू र जिम जानेलाई सप्लिमेन्टले मासपेशी बलियो बनाउँछ भन्ने गलत धारणाले सप्लिमेन्टको अति सेवन गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। म अहिले ६५ वर्षकी छु तर अहिलेसम्म कुनै सप्लिमेन्ट सेवन गरेको छैन। स्वास्थ्यकर खानामा ध्यान दिएर मात्र सप्लिमेन्टको आवश्यकता कम गर्न सकिन्छ।”

यसरी अनधिकृत रूपमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्रम रोक्न स्थानीय निकाय र स्वास्थ्य विज्ञहरूले जोड दिएका छन्। स्वास्थ्य सचेतनाका नाममा बिना अनुमति र विज्ञता कार्यक्रम चलाउनु जनस्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्ने भएकाले सचेत रहन सबैलाई अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार