
पाँचथर : पछिल्लो समय नेपाली जनमानसमा आयुर्वेदिक स्वास्थ्य उपचारप्रति चासो र विश्वास बढ्दो छ। कम खर्चिलो, भरपर्दो र परम्परागत जडिबुटीमा आधारित उपचार सेवाले गाउँदेखि शहरसम्मका नागरिकलाई आकर्षित गरिरहेको छ।
यस्तै उदाहरण प्रस्तुत गरिरहेको छ पाँचथर जिल्ला अन्तर्गतको फाल्गुनन्द गाउँपालिका। यहाँ सञ्चालनमा रहेका फाक्तेप र पिपलबोटे आयुर्वेदिक औषधालयहरू स्थानीय समुदायको स्वास्थ्य सुधारमा उदाहरणीय योगदान पुर्याइरहेका छन्। इलाम जिल्लासँग सिमाना जोडिएको घुर्बिसे पञ्चमी बजार नजिकै अवस्थित फाक्तेप आयुर्वेदिक औषधालय र वडानम्बर ७ स्थित पिपलबोटे औषधालयमा दैनिक दर्जनौं सेवाग्राही उपचारका लागि पुग्ने गरेका छन्।
बाथरोग, जण्डिस, ग्याष्ट्रिक, पायल्स, सुगर, प्रेसर, दम, ढाड तथा नसा सम्बन्धी समस्याहरू लिएर आउने अधिकांश बिरामी यहाँ आयुर्वेदिक औषधि र उपकरणको सहायतामा उपचार गराइरहेका छन्। फाक्तेप औषधालयका इन्चार्ज राजकुमार श्रेष्ठका अनुसार, “टाढा जानुपर्ने झन्झट र महँगो खर्चका कारण स्थानीय बिरामी यहीं उपचार गराउँछन्। यहाँ योग अभ्यासदेखि पञ्चकर्म, शिरोधारा, स्नेहन, स्वेदन, कोरियन थेरापीसम्मका सेवा सहज रूपमा पाइन्छ।”

त्यसैगरी, पिपलबोटे आयुर्वेदिक औषधालयका इन्चार्ज रामकृपाल यादव भन्छन्, “हामीले दैनिक ओपीडी, जेष्ठ नागरिक सेवा, औषधि वितरण र वाफ सेवा नियमित रूपमा सञ्चालन गर्दै आएका छौं। आयुर्वेदिक उपचार सजिलो, सस्तो र प्रभावकारी भएका कारण समुदायमा यसको विश्वास बढ्दै गएको छ।”
फाल्गुनन्द -५ घुर्बिसे पञ्चमी बजार नजिकै २०४२ सालमा स्थापना भएको फाक्तेप आयुर्वेदिक औषधालय र २०१४ सालमा वडानम्बर ७ आङसाराङस्थित पिपलबोटे स्थापना भएको औषधालयबाट पालिकाको आयुर्वेद शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ को जेष्ठ महिनासम्म दुवै कार्यालय मार्फत ७ हजार बिरामीले सेवा लिएका छन् भने, नागरिक आरोग्य केन्द्रमा गइ दुवै कार्यालयका कर्मचारीले दुई हजार जना सेवाग्राहीलाई सेवा दिएको जनाइएको छ ।
गाउँपालिकाका सबै वडामा नागरिक आरोग्य केन्द्र स्थापना गरिँदैछ, जसले आयुर्वेद र प्राकृतिक उपचारको पहुँच थप विस्तार गर्दै लगेको छ। शिक्षा, चेतना र अभ्यासको समन्वय स्वास्थ्य सुधारका लागि औषधोपचार मात्र पर्याप्त हुँदैन। सही दिनचर्या, ऋतुचर्या र जीवनशैलीको ज्ञान पनि आवश्यक हुन्छ। यसै कारण, फाल्गुनन्द गाउँपालिकाले विद्यालयस्तरमै ‘आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सञ्चालन गरेको छ। प्रशिक्षित शिक्षकहरूले विद्यार्थीलाई योग, दिनचर्या, ऋतुअनुसारको आहारविहार र स्थानीय जडिबुटीको प्रयोगबारे सिकाइरहेका छन्। यसबाट विद्यार्थीमार्फत समुदायमा पनि स्वास्थ्य चेतनाको विस्तार भइरहेको छ। आयुर्वेद शाखा प्रमुख राजु पराजुली भन्छन्, “विद्यालय स्तरमै चेतना फैलाउने हाम्रो दीर्घकालीन योजना हो।

यसले दीर्घकालीन रूपमा स्वस्थ समाज निर्माणमा सहयोग गर्छ।” सेवा विस्तारमा समुदायको योगदान फाक्तेप औषधालयमा यस संस्थाका पूर्व कर्मचारी स्व. मदन भट्टराईको स्मृतिमा उनका परिवारद्वारा दुई लाख रुपैयाँभन्दा बढी मूल्यका स्वास्थ्य तथा फिटनेस सामग्री (जस्तै ट्रेडमिल) प्रदान गरिएको छ। यसले सेवा गुणस्तरलाई अझ प्रभावकारी बनाएको छ। त्यस्तै, दुईवटै सेवा केन्द्रमा ९–९ जना महिला स्वयंसेविकाहरू सक्रिय छन्।

उनीहरूले सुत्केरी आमा, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई घरमै औषधि र पोषण सामग्री पुर्याउने सेवा प्रदान गरिरहेका छन्। तालिमप्राप्त यी स्वयंसेविकाहरू स्वास्थ्य सचेतनाका नारी अग्रदूत बनेका छन्। नियमित योग अभ्यासले फैलाउँदै स्वास्थ्यको उज्यालो गाउँमा दैनिक ३०–४० जना स्थानीय बासिन्दा नियमित योग अभ्यासमा सहभागी हुन्छन्। पालिकाले अब वृद्धवृद्धाको घरमै योग शिक्षा पुर्याउने योजना अघि सारेको छ। योग अभ्यासले दीर्घकालीन रूपमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दै स्वास्थ्यमा क्रान्ति ल्याइरहेको छ। फाल्गुनन्द गाउँपालिकाको फाक्तेप र पिपलबोटे आयुर्वेदिक औषधालयहरू प्राकृतिक उपचार, योग र शिक्षाको संगम बनेका छन्।

औषधोपचारसँगै चेतना विस्तार, जीवनशैली परिवर्तन र समुदाय आधारित सेवाले गाउँलाई समग्र रूपमा स्वस्थ बनाउने दिशामा ठूला कदम चालेका छन्। आयुर्वेदको प्रयोग, शिक्षामूलक कार्यक्रम, महिला स्वयंसेविकाको सक्रियता र स्थानीय स्रोतको सदुपयोगले गर्दा फाल्गुनन्दको यो अभ्यास दीर्घकालीन रूपमा अन्य पालिकाका लागि पनि अनुकरणीय बन्ने अपेक्षा गर्न सकिन्छ।






























































