
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सूचना तथा संचार प्रविधिलाई समग्र विकासका लागि समयानुकूल र प्रभावकारी रुपमा प्रयोग गर्न विविध योजना ल्याएको छ । गाउँपालिका र वडा कार्यालयहरूको इन्टरनेट पहुँच अभाव हटाउन सबै वडा कार्यालयलाई गाउँपालिकासँग इन्ट्रानेटमार्फत जोड्ने र इन्टरकम टेलिफोन व्यवस्था गर्ने काम थालिनेछ ।
यसअन्तर्गत संचालित योजना तथा कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न अनुगमन र निरीक्षणलाई नतिजामुखी बनाइनेछ। साथै स्थानीय तहको क्षमता स्वमूल्यांकन (लिजा) र वित्तीय जोखिम मूल्यांकन (एफआरए) प्रणालीलाई प्रभावकारी बनाउने योजनासमेत तयार छ ।
जनतालाई सूचना, कार्यक्रम, फोटो, भिडियो र प्रत्यक्ष कार्यक्रम देखाउन विद्युतीय डिजिटल डिस्प्ले बोर्डको संख्या विस्तार गरिनेछ । जसले पारदर्शी, छिटो र सुरक्षित डाटाबेसको स्थापना गर्दै पेपरलेस कामकाजलाई थप प्रवर्द्धन गर्नेछ ।
सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिमैत्री अध्यापनलाई प्रोत्साहन गर्न इन्टरनेट सेवा विस्तार गर्ने कार्य नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्यमा अघि बढाइनेछ।
गाउँपालिकाले आफ्ना गतिविधि र विकास कार्यक्रमहरू बारे जनतालाई सूचित गर्न पत्रपत्रिका, अनलाइन प्रकाशन र रेडियो कार्यक्रम सञ्चालन गर्ने योजना छ। स्थानीय संचार माध्यमहरूको गुणस्तर वृद्धि गर्न नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्न सहयोग गरिनेछ ।
माङसेबुङका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिनेछ भने गाउँपालिकाले प्रकाशन गर्दै आएको ‘माङसेबुङ बुलेटिन’ प्रकाशन निरन्तर जारी राख्नेछ । पत्रकारितामार्फत विकासमा योगदान दिने पत्रकारहरूलाई वार्षिक सम्मान कार्यक्रम समेत सञ्चालन गरिने योजना रहेको छ।
साथै, गाउँपालिकाभित्र रहेका एफ.एम. रेडियो स्टेशनहरूको प्रशारण क्षमता बढाउन प्रोत्साहन गर्दै सम्बन्धित निकायसँग सहकार्य गरिनेछ।
यसरी माङसेबुङ गाउँपालिकाले सूचना तथा संचार क्षेत्रमा दिगो विकास र प्रविधिमैत्री समाज निर्माणतर्फ महत्वपूर्ण कदम चालिरहेको छ।






















































