
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिँदै विभिन्न नयाँ कार्यक्रमहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
मङ्गबार सार्वजनिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूले सञ्चालन गर्ने गतिविधिहरूको जानकारी जनसमुदायलाई नियमित रूपमा चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत उपलब्ध गराइनेछ । यसले सेवाग्राहीको पृष्ठपोषण सुनिश्चित गर्दै सबै क्रियाकलापलाई जवाफदेही बनाउने उद्देश्य राखेको छ।
आर्थिक वर्ष २०७९/८० देखि वडा नं २, ३ र ६ मा सेवा प्रवाह विस्तार गरी घरदैलो सेवा सञ्चालन गरिएको छ र यसलाई निरन्तरता दिइनेछ। साथै, संघीय, प्रदेश र स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरूसँग समन्वय गरी बालबालिका, दलित, अपाङ्ग, पिछडा वर्ग, अल्पसंख्यक र सीमान्तकृत समुदायसमेत समावेशी विकासका लागि आवश्यक योजना निर्माण र बजेट विनियोजनको आह्वान गरिनेछ ।
सेवा प्रवाहमा कुनै भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गरिने नीति लागू गरिनेछ। गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि तथा पशु शाखामा कार्यरत करार कर्मचारीहरूको सेवामा निरन्तरता दिइनेछ भने ईञ्जिनियरिङ सेवा तर्फका प्राविधिक कर्मचारीहरूलाई फिल्ड भत्ता दिइने व्यवस्था हुनेछ ।
सेवा समाप्तिमा कर्मचारी कल्याण कोष मार्फत अवकाश हुने कर्मचारीहरूको सुविधा सुनिश्चित गरिनेछ। वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र अन्य इकाइहरूमा विद्युतीय हाजिरी प्रणाली लागू गरिनेछ भने सेवा प्रवाह प्रविधिमैत्री बनाइनेछ ।
पदीय दायित्व, जवाफदेहिता, व्यवसायिकता र क्षमता वृद्धिका लागि कर्मचारीहरूलाई तालिम दिइनेछ। गाउँपालिका र वडा कार्यालयबाट संकलित राजस्व पारदर्शी बनाउन अनलाइन प्रणालीलाई निरन्तरता दिइनेछ ।
उत्कृष्ट कर्मचारी, उपभोक्ता समिति, शिक्षक, विद्यार्थी र अवकाशप्राप्त शिक्षक तथा कर्मचारीहरूको सेवाको सम्मान गर्दै प्रोत्साहन कार्यक्रम पनि निरन्तर सञ्चालन गरिने योजना रहेको छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा सुशासन कायम गर्न विद्यालय तथा कार्यालयहरूमा सीसीटीभी जडान गर्ने नीति पनि लागू गरिनेछ ।
यसरी माङसेबुङ गाउँपालिकाले सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउँदै समृद्धि र विकासको दिशामा अगाडि बढिरहेको छ।






















































