माङसेबुङ गाउँपालिकामा वन, वातावरण तथा विपद व्यवस्थापनमा सक्रिय योजना अघि बढाइँदै

  नयाँ बुलन्द
70 Shares

माङसेबुङ : माङसेबुङ गाउँपालिकाले चुरे क्षेत्रका वनहरूको दिगो संरक्षण र वातावरणीय व्यवस्थापनका लागि विविध योजना र नीति अवलम्बन गरेको छ । सो क्षेत्रका स्थानीय बासिन्दालाई बाँस लगायत वन पैदावरमा आधारित व्यवसायिक आय आर्जनमा उत्प्रेरित गर्दै भू–क्षय र जैविक विविधताको संरक्षणमा जोड दिइनेछ ।

गाउँपालिकामा बाँस प्रशस्त मात्रामा पाइने भएकाले बाँसमा आधारित उद्योग विकास गरी बाँस रोपण र विस्तारलाई आयआर्जनको प्रमुख आधारको रूपमा स्थापित गर्ने नीति ल्याइएको छ। साथै ताल–तलैया, पोखरी र सीमसार संरक्षण तथा व्यवस्थापनलाई पनि प्राथमिकता दिइने छ।

वन अतिक्रमण, अवैध कटानी, वन फँडानी, चोरी-शिकारी र तस्करी तथा वन डढेलो नियन्त्रणका लागि जनसहभागितामूलक र समन्वयात्मक संयन्त्र निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिने योजना छ। साथै भूक्षय र खोलानदी कटान रोकथामका लागि बायो-इन्जिनियरिङ र स्थानीय प्रविधिमा आधारित चेकड्याम निर्माण गरिनेछ।

वडा नं ३, ४, ५ र ६ का चुरे क्षेत्रका बाढीपहिरो र नदी कटानबाट सुरक्षा गर्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँग सहकार्य गरी संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ। जडिबुटी लगायत वन पैदावरमा आधारित उद्योग सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा स्थापना गर्न पहल गरिने छ।

स्थानीय वातावरणसँग अनुकूल वनपैदावरको विविधीकरण, वृक्षरोपण, भू–क्षय नियन्त्रण र नदी मुहान तथा किनाराको संरक्षणमा विशेष ध्यान दिइनेछ। एक गाउँपालिका एक नर्सरी र एक उत्पादन कार्यक्रम सञ्चालन गरिने योजना समेत रहेको छ। डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहसँग समन्वयमा वृक्षरोपण कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने छ।

प्राकृतिक प्रकोप जस्तै भूकम्प, महामारी, बाढीपहिरो, आगलागी लगायतका विपद् व्यवस्थापनका लागि विशेष कोषको व्यवस्था गरी तत्काल प्रभावकारी व्यवस्थापन गरिने गाउँपालिकाको लक्ष्य रहेको छ।

यसरी माङसेबुङले वन, वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै समृद्ध र सुरक्षित गाउँपालिका निर्माणमा अगाडि बढिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार