
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सिंचाइ सुविधा अभावका कारण बाँझो रहेका खेतीयोग्य समथर जमिनको उपयोगका लागि नयाँ योजना ल्याएको छ । ङ्गलबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले यस्तो क्षेत्रमा सम्भाव्यता अध्ययन गरी विद्युतीय वा सौर्य लिफ्टिङ परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
सिंचाइ व्यवस्थालाई थप सुदृढ गर्न गाउँपालिकाले कृषि विकास कार्यक्रम र सिंचाइ योजनाहरूलाई आपसमा समन्वय गरेर प्रभावकारी रूपमा संचालन गर्ने योजना छ। यसका लागि प्रदेश सरकार, संघीय सरकार र स्वीस दातृ निकायसँग सहकार्य गरी गाउँपालिका क्षेत्रमा चलिरहेका सिंचाइ आयोजनाहरूलाई निरन्तरता दिइनेछ ।
त्यसैगरी, गाउँपालिका क्षेत्रभित्रका पानीका मुहानहरूलाई लिफ्टिङ प्रविधिबाट उपयोग गरी खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने नीति पनि लागू गरिनेछ। यसले कृषकहरूलाई पानीको पहुँच बढाएर उत्पादन क्षमता वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसरी माङसेबुङले आधुनिक प्रविधिको प्रयोग गरी सिंचाइ क्षेत्रलाई सुदृढ बनाउँदै समृद्ध ग्रामीण अर्थतन्त्रको आधार तयार गर्न पहल गरिरहेको छ ।
























































