माङसेबुङ गाउँपालिकाको जलश्रोत र उर्जा विकासमा नयाँ योजना

  नयाँ बुलन्द
49 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले उज्यालो घर अभियान अन्तर्गत सबै वडाका हरेक टोल, बस्ती र घरमा राष्ट्रिय प्रसारणको विद्युत् पुर्याउने लक्ष्य तय गरेको छ। मङ्गलबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार यस अभियानलाई सफल बनाउन गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण, प्रदेश र संघीय सरकार, साथै सम्बन्धित सांसद र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग घनिष्ट समन्वय र सहकार्य गर्ने जनाएको छ।

गाउँपालिकाले विद्युत् पुर्याउन नसकिने क्षेत्रहरूमा सौर्य ऊर्जा र वैकल्पिक नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्दै ‘उज्यालो घर, उज्यालो टोल बस्ती’ कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। यसका लागि २०७५ भाद्र ५ गते त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ।

त्यसैगरी, गाउँपालिकाभित्र साना सौर्य ग्रीड सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिनेछ भने देउमाई, फेवा, रतुवा र तामा खोलाबाट जलविद्युत उत्पादनका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पार्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरिनेछ। यसले दीर्घकालीन जलविद्युत विकासको बाटो खोल्ने अपेक्षा गरिएको छ।

धार्मिक तथा पर्यटकीय स्थलहरूमा सौर्य बत्ती जडान गरिने कार्यलाई पनि निरन्तरता दिइनेछ भने सुधारिएको चुलो र बायोग्यास जडान गर्नेहरुलाई प्रोत्साहन नीति लागू गरिनेछ। यसले प्राकृतिक स्रोतको सदुपयोग गर्दै गाउँपालिकाको समग्र उर्जा पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ।

गाउँपालिका अध्यक्षको भनाइ अनुसार “विद्युतीकरणलाई प्राथमिकतामा राखेर गाउँपालिका क्षेत्रभित्र विद्युतीकरण प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गराउने प्रयास भइरहेको छ। यसले जनजीवनमा सहजता र विकासका नयाँ अवसरहरू ल्याउने विश्वास छ।”

यसरी माङसेबुङ गाउँपालिकाले जलश्रोत र उर्जा विकासमा ठोस कदम चाल्दै समृद्धि र दिगो विकासको दिशामा अघि बढिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार