माङसेबुङ गाउँपालिकाद्वारा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता

  नयाँ बुलन्द
70 Shares

माङसेबुङ : माङसेबुङ गाउँपालिकाले ‘दिगो विकास, समृद्धिको आधार स्थायित्व र पर्याप्त पूर्वाधार’ भन्ने मुख्य लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि सडक, भवन तथा पुल निर्माण र स्तरोन्नतिमा विशेष प्राथमिकता दिँदै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले योजनाबद्ध विकासका लागि सडक यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ । मुख्य सडकहरूलाई सधैं सवारीसाधन सञ्चालन योग्य बनाउन प्रदेश तथा संघीय सरकारसँग लागत साझेदारी तथा सहकार्यमा स्तरोन्नति गरिने नीति ल्याइएको छ ।

यसैगरी, ‘आहा माङसेबुङ’ अभियानअन्तर्गत गाउँपालिकाका सडकलाई व्यवस्थित तथा भरपर्दो बनाई प्रत्येक वडा र बस्तीलाई जोड्दै पर्यटक तथा नागरिकलाई सहज यातायात सेवा प्रदान गर्ने योजना सार्वजनिक गरिएको छ । सडकहरूलाई बाह्रै महिना सञ्चालन योग्य बनाइने तथा वडा–वडा जोड्ने सडकको विस्तार र स्तरोन्नति पनि प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकाले गाउँपालिका तथा वडा कार्यालयका भवन निर्माण कार्यलाई निरन्तरता दिने, मोटर बाटो, पदमार्ग, पक्की पुल, झोलुङ्गे पुल आदिको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने तथा जिल्ला सदरमुकाम र अन्य पालिका जोड्ने सडकलाई उच्च प्राथमिकतामा राख्ने नीति ल्याएको छ ।

यसबाहेक, पूर्वाधार मर्मत संभार कोष सञ्चालन गर्ने, दश लाखभन्दा बढी बजेट भएका आयोजनाहरूलाई प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्ने, उपभोक्ताको लागत सहभागिता तथा दररेट एउटै हुने व्यवस्था मिलाउने नीति ल्याइएको छ ।

गाउँपालिकाले घर नक्सा पासलाई प्रभावकारी बनाउँदै कृषि सडकलाई गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने, पूर्वाधार तथा विपद् पूर्वतयारीका लागि आवश्यक इक्युपमेण्ट खरिद गर्न बजेटको व्यवस्था गर्ने पनि नीति ल्याएको छ ।

गाउँपालिकाका अनुसार, यी नीति तथा कार्यक्रमले माङसेबुङको समृद्धि र नागरिकको दिगो विकासका लागि महत्वपूर्ण आधार तय गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार