माङसेबुङ गाउँपालिकाद्वारा पर्यटन विकासका लागि महत्वाकांक्षी नीति सार्वजनिक

  नयाँ बुलन्द
77 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्न ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक गन्तव्य स्थलहरूको विकासका लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा गाउँपालिकाले मुख्य पर्यटकीय आकर्षणहरू गजुरमुखीधाम, माङसेबुङ, माङमालुङलाई गुरुयोजना अनुसार विकास गर्न प्रदेश तथा संघीय सरकारसँग लागत साझेदारीका कार्यक्रम सञ्चालन गर्ने भएको छ । साथै, चुक्चिनम्बा, विराटज्योति माङहिम, अन्धाराजा–अन्धारानी, पाङबुहाङ गुफा, ढ्याङगुरे डाँडा, खराने थुम्का, घोर्लेभीर, तारेभीर, फुलुंगी, खत्रप्पा जस्ता क्षेत्रहरूलाई पूर्वाधारसहितको पर्यटकीय सर्किट निर्माण गरी गुरुयोजना र विस्तृत आयोजना प्रतिवेदन तयार पार्दै निजी क्षेत्र, संघीय तथा प्रदेश सरकारसँग मिलेर पूर्ण सुविधासम्पन्न गन्तव्यका रुपमा विकास गरिने योजना ल्याइएको छ ।

गाउँपालिकाले माङसेबुङलाई किरात धार्मिक क्षेत्रका रूपमा विकास गर्न प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने तथा साहसिक खेल रक क्लाइम्बिङ, प्याराग्लाइडिङ लगायत गतिविधिका लागि चतुरे, लारुम्बा, गजुरमुखीधाम, रतुवाबेसी, तीनथुम्की लगायत क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने नीति अघि सारेको छ ।

यसैगरी, सामूहिक घरबास तथा सामुदायिक आवासको विकास गर्दै ग्रामीण पर्यटन प्रवर्द्धन गर्न आवश्यक प्राविधिक सहयोग तथा तालिम सञ्चालन, लारुम्बा क्षेत्र र अन्य गन्तव्य स्थलहरूको विकासका लागि प्रदेश, संघीय सरकार तथा दातृ निकायसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइनेछ । माङमालुङलाई सुनाखरी क्षेत्रका रूपमा विकास गर्न सरोकारवाला तथा संस्थाहरूसँग सहकार्य गरी सुनाखरी फूल रोपण कार्यक्रम सञ्चालन गर्ने नीति पनि ल्याइएको छ ।

गाउँपालिकाले गजुरमुखीधाम, माङमालुङधाम विकास ऐन निर्माण गरेर पालिकाको स्वामित्वमा ल्याउने तथा माङमालुङ वन क्षेत्रलाई सामुदायिक वन उपभोक्ता समितिको अवधारणामार्फत व्यवस्थित गर्दै लगिने नीति अवलम्बन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार