
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि तथा पशुपालन क्षेत्रलाई सुदृढ पार्न विभिन्न महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले परम्परागत खेती तथा कन्दमूल उत्पादनलाई प्रोत्साहन गर्दै कृषिको लागत घटाउन, यान्त्रीकरणलाई प्राथमिकता दिने नीति ल्याएको छ । कृषक समूह दर्ता, कृषि सहकारी र उद्यमीहरूको अभिलेखिकरणका साथै कृषकहरूलाई जैविक मल प्रयोगका लागि आवश्यक तालिम दिने योजना ल्याइएको छ ।
यस्तै, प्लास्टिक टनेल, मल्चिङ, उन्नत बीउ वितरण तथा कृषि यान्त्रीकरणलाई विस्तार गरी कृषि उत्पादनलाई व्यवसायीकरण गर्ने नीति अघि सारिएको छ । साना तथा सीमान्तकृत किसानका लागि जीविकोपार्जन कार्यक्रम सञ्चालन, उत्पादन संकलन तथा बजारीकरणका संयन्त्र विकास, कृषि उपज तथा पशु स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले कृषि तथा पशुपालन पकेट कार्यक्रमलाई निरन्तरता दिँदै दुग्ध चिस्यान केन्द्र र ‘एक गाउँपालिका एक शीत भण्डार’ निर्माणका लागि संघीय, प्रदेश तथा निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । साथै, कृषिमा नयाँ व्यवसायको नमुना कार्यक्रम ल्याई युवाहरुलाई उत्पादनमूलक कार्यतर्फ आकर्षित गर्ने योजना ल्याइएको छ ।
यस्तै, कृत्रिम गर्भाधानद्वारा नस्ल सुधार कार्यक्रमलाई निरन्तरता दिइने, प्रत्येक वडामा हाटबजार संरचना निर्माण गरिने, विषादीरहित उत्पादनलाई प्रवर्द्धन गर्ने र गाई पकेट कार्यक्रमलाई व्यवस्थित बनाइने नीति ल्याइएको छ । त्यस्तै, ‘एक पालिका एक उत्पादन’ साझेदारीलाई प्रदेश सरकारसँग मिलेर अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन, रैथाने बाली तथा अकबरे खुर्सानी खेतीलाई प्रोत्साहन गर्दै खोरेत रोग नियन्त्रण र अन्य रोगथामका कार्यक्रमलाई प्राथमिकता दिएको छ । साथै, कृषि क्षेत्रका सबै परियोजनाको अभिलेखीकरण, लागत साझेदारी र प्रभावकारीताको नियमित मूल्यांकन गर्दै कृषि र पशुपालनको दिगो विकासलाई अगाडि बढाइने भएको छ ।
























































