
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्ति, महिला, बालबालिका, जेष्ठ नागरिक र एकल महिलाहरूको उत्थान तथा विकासलाई प्राथमिकता दिँदै महत्वाकांक्षी नीति तथा कार्यक्रम ल्याएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले आदिवासी जनजातिको सामाजिक–आर्थिक तथा सांस्कृतिक उत्थानका लागि आदिवासी जनजाति समन्वय समिति गठन गरी प्राकृतिक स्रोत र साधनको उपभोग तथा लाभको न्यायोचित बाँडफाँड, नयाँ कृषि प्रविधि तथा सीपमूलक तालिमका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । साथै, आदिवासी जनजातिको भाषा, संस्कार र संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रमहरू ल्याइने योजना छ ।
यस्तै, महिलाको सशक्तीकरण र अधिकार प्रवर्द्धनका लागि गाउँपालिकास्तरीय महिला समन्वय समिति तथा दलित समुदायको सामाजिक विकासका लागि दलित समन्वय समिति गठन गरी सामाजिक समावेशितामूलक नीति तथा कार्यक्रम लागू गरिनेछ ।
गाउँपालिकाले अपांगता भएका व्यक्तिहरूका लागि संस्थागत क्षमता अभिवृद्धि, पुनःस्थापना केन्द्र सञ्चालन, स्वास्थ्य शिविर, आर्थिक सशक्तीकरण, अपांगता परिचयपत्र वितरणलाई निरन्तरता दिनेछ । सहायक सामग्री वितरण तथा आवश्यकता अनुसार विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
गाउँपालिकाले बालबालिकाका हकहितको संरक्षण गर्न बाल क्लब र बाल सञ्जाललाई सशक्त बनाउने, जोखिममा रहेका जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम र जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा राहत कोष स्थापना गरी सार्वजनिक सेवाहरूमा अग्राधिकार सुनिश्चित गर्ने जनाएको छ ।
साथै, एकल महिलाको जीविकोपार्जन सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको छ । गाउँपालिकाले लक्षित समूहको मागका आधारमा आवश्यक बजेटको व्यवस्था गर्दै नागरिक, सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमार्फत यी नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।
























































