माङसेबुङ गाउँपालिकाले युवाहरूलाई स्वदेशमै सिप, तालिम तथा रोजगारीका अवसर प्रदान गर्ने

  नयाँ बुलन्द
133 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले युवाहरूलाई स्वदेशमै सिप, तालिम तथा रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलबार माङसेबुङ गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाले वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्न युवाहरूलाई सीपमूलक तथा आयमूलक तालिम प्रदान गर्दै राष्ट्रिय युवा नीति अनुसार कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ । साथै, खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै डोलटार खेलमैदानलाई गाउँपालिका स्तरीय खेलमैदानको रुपमा स्तरोन्नति गर्ने तथा प्रत्येक वडामा राष्ट्रिय मापदण्डयुक्त “एक वडा एक खेलमैदान” निर्माणको नीति अघि सारेको छ ।

गाउँपालिकाले खेलाडी उत्पादन, खेलस्तर वृद्धिका लागि नियमित प्रतियोगिता सञ्चालन तथा खेलकुद विकास समिति मार्फत आवश्यक पूर्वाधार विकास गर्ने योजना ल्याएको छ । यसक्रममा सेइङ आत्मानन्द लिङदेनज्यू तथा सेइङ पवित्रहाङमा साम्बा लिङदेनज्यूको जन्मोत्सवको अवसरमा गोल्ड कप सञ्चालनलाई निरन्तरता दिइने भएको छ ।

यसैगरी, कभर्डहल, रंगशाला लगायतका संरचना निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्दै खेलकुद विकासलाई अघि बढाइने नीति ल्याइएको छ । गाउँपालिकाले युवाहरूलाई व्यवसायिक, सीपमूलक र रोजगारमूलक तालिम सञ्चालन गरी स्व–रोजगारीका थप अवसर सृजना गर्ने तथा विदेशबाट फर्केका र अन्य बेरोजगार युवाहरूलाई उद्यमशीलता, वित्तीय साक्षरता तालिम प्रदान गरी सहुलियत कर्जासहितको सुविधा मिलाउने योजना ल्याएको छ ।

गाउँपालिकाका सबै वडामा युवा क्लब गठन गरी विपद व्यवस्थापन, सामाजिक जागरण र स्वयंसेवकीय कार्यमा युवालाई परिचालन गरिनेछ भने राष्ट्रिय युवा परिषद् र प्रदेश सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, वडा तहका महिला तथा पुरुष फुटबल प्रतियोगिता निरन्तरता दिइनेछ भने कराते, ब्याडमिन्टन, भलिबल, बुद्धिचालजस्ता खेललाई पनि प्रोत्साहन गरिने नीति ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार