
माङसेबुङ : माङसेबुङ गाउँपालिकाले आफ्ना नागरिकलाई स्वच्छ, सफा, गुणस्तरीय र दिगो खानेपानी उपलब्ध गराउन तथा सरसफाइ प्रवर्द्धन गर्न महत्वाकांक्षी योजना अघि सारेको छ । मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा सरसफाइ प्रवर्द्धन गर्न महत्वाकांक्षी योजना अघि सारेको हो ।
गाउँपालिकाका अनुसार, चालू रहेका खानेपानी योजनाहरूको सञ्चालन तथा मर्मतसम्भारलाई निरन्तरता दिँदै एक घर एक धाराको अवधारणालाई कार्यान्वयन गरिने भएको छ । साथै खानेपानी स्रोत पहिचान गरी तत्कालीन तथा दीर्घकालीन योजना निर्माण गरी स्वच्छ र शुद्ध खानेपानीको परिपूर्तिमा विशेष जोड दिइनेछ ।
त्यस्तै, खानेपानी स्रोत नभएका क्षेत्रहरूमा स्रोतको सम्भाव्यता अध्ययन गरी वैकल्पिक ऊर्जाको प्रयोग गर्दै सौर्य लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्ने योजना ल्याइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको महाभारा डाँडा वरिपरि रहेका माङमालुङ बजार लगायतका क्षेत्रहरूमा पनि स्वच्छ खानेपानीको उचित प्रबन्ध मिलाइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार, सरसफाइको उचित व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिइनेछ । यस योजनाले स्थानीय बासिन्दाहरूको स्वास्थ्य सुधार, पानीको अभाव अन्त्य, र वातावरणीय स्वच्छता प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

















































