
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले “सबैलाई सुलभ स्वास्थ्य सेवा” भन्ने मूल लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकेको छ भने माङसेबुङ-३ मनिपुरमा जग्गा प्राप्तिसँगै अस्पताल निर्माणको कामसमेत अघि बढेको जनाएको छ । साथै, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइलाई व्यवस्थित तथा प्रभावकारी ढंगले सञ्चालन गर्दै सबै वडाका टोलस्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना ल्याइएको छ ।
गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ तथा स्वास्थ्य चौकीहरूमा कार्यरत करार कर्मचारीलाई पारिश्रमिक सुविधासहित निरन्तरता दिनेछ भने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रमलाई पनि चालू राख्नेछ ।
प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेको अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिने, सबै बर्थिङ सेन्टरलाई सवल बनाउने तथा गर्भवती महिलालाई स्रोत, साधनयुक्त अस्पतालसम्म पुर्याउन नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था पनि कायमै राखिनेछ ।
यस्तै, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै नवजात शिशु र आमाको पोषण सुधारका लागि “सुनौलो हजार दिन” कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइने तथा प्रोस्टेट ग्ल्यान्ड सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन, रिक्त दरबन्दी पूर्ति, एम्बुलेन्स भाडादरको समयानुकूल समायोजन, मृतकका परिवारलाई दाहसंस्कार खर्च व्यवस्थापन लगायतका नीति पनि सार्वजनिक भएका छन् ।
गाउँपालिकाका अनुसार, यी नीति तथा कार्यक्रमले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने तथा सामाजिक सुरक्षालाई अझ सुदृढ बनाउने उद्देश्य लिएको छ ।

















































