इलाम : माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४८ करोड ७३ लाख १० हजार ८२३ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १७औं अधिवेशनको पहिलो बैठकमा उपाध्यक्षको अध्यक्षतामा प्रस्तुत गरिएको बजेट तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।
बजेट प्रस्तुत गर्दै कार्यवाहक अध्यक्षले “दिगो विकास, समृद्धिको आधार” नारालाई आत्मसात गर्दै गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यले बजेट तर्जुमा गरिएको जानकारी दिनुभयो। प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, सशर्त अनुदान, विशेष र समपूरक अनुदान लगायत प्रदेश सरकार तथा आन्तरिक स्रोतलाई समेत आधार बनाइएको छ।
प्रमुख बजेट विवरण:
-
समानीकरण अनुदान (संघीय): रु ८ करोड ९६ लाख
-
राजस्व बाँडफाँड (संघीय): रु ८ करोड ३८ लाख
-
समानीकरण अनुदान (प्रदेश): रु ७९ लाख ७१ हजार
-
आन्तरिक आय: रु ८३ लाख ४२ हजार
-
अन्य (बैंक मौज्दात, अल्या आदि): रु ४ करोड ५० लाख
- अनुदान (सशर्त, विशेष, समपूरक – संघ/प्रदेश): रु २४ करोड ६३ लाख ७० हजार
प्राथमिकताका क्षेत्रहरू:
बजेटमा कृषि तथा पशुपालन व्यवसायको आधुनिकीकरण, विद्यालय शिक्षा सुधार, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन, खानेपानी, सिंचाइ, सडक जस्ता पूर्वाधारको स्तरोन्नति, विपद् व्यवस्थापन, साना उद्योग र सीपमूलक तालिमद्वारा रोजगारी सिर्जना, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धनजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।
यस वर्ष ६ वटा वडाहरूका लागि २ करोड १० लाख रुपैयाँ, शिक्षा, युवा तथा खेलकुद कार्यक्रमका लागि १ करोड ८३ लाख, पशु सेवा तर्फ ३० लाख, कृषि विकासतर्फ २० लाख, र स्वास्थ्य सेवातर्फ ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गत वर्षको आय-व्ययको समिक्षा:
पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४९ करोड ६८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्म ४६ करोड ५१ लाख रुपैयाँ वास्तविक आम्दानी भएको थियो। त्यसमध्ये चालूतर्फ ६१.७४% र पूँजीगत खर्चतर्फ ४६.९४% खर्च भइसकेको उल्लेख गरिएको छ।
राजस्व नीतिमा प्रविधिमैत्री सुधार
राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउँदै, करको दर र दायरा फराकिलो पार्ने, कर्मचारीलाई तालिम दिने, उत्कृष्ट करदाता सम्मान गर्ने, र वडा कार्यालयलाई कर संकलनमा सक्रिय बनाउने नीति बजेटमा समावेश गरिएको छ।
कार्यान्वयनमा सबैको सहयोग अपेक्षित
बजेट प्रस्तुतीका क्रममा गाउँपालिकाका अध्यक्ष हेमन्त राईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, बजेट तर्जुमा समितिका सदस्य, वडाध्यक्ष, विषयगत समिति, कर्मचारी, राजनीतिक दल, तथा सम्पूर्ण माङसेबुङवासीप्रति आभार व्यक्त गरिएको छ। प्रस्तुत बजेटको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको पूर्ण सहयोग अपेक्षा गरिएको छ ।
























































