इलाम : क्षेत्रीय समन्वय, साझा पूर्वाधार विकास र अन्तरपालिका सहकार्यलाई सुदृढ गर्न देउमाई नगरपालिकाले छिमेकी स्थानीय तहहरूसँग सहकार्यलाई नीति तहमै संस्थागत गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न देउमाई नगरको दशौं नगरसभाबाट पारित नीति अनुसार देउमाईले इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकासँग सहकार्यलाई थप बलियो बनाउँदै जाने भएको हो ।
उक्त नीति अनुसार, सडक सञ्जाल विस्तार, पर्यटन प्रवर्धन, जलस्रोत उपयोग, विपद् व्यवस्थापन लगायतका सामाजिक-आर्थिक विषयहरूमा समन्वय र साझेदारी गरिनेछ । यस किसिमको सहकार्यले विकास निर्माणका आयोजना तथा जनसरोकारका कामहरूमा समन्वित प्रयासमार्फत दिगो उपलब्धि हासिल गर्न सकिने विश्वास लिइएको छ ।
साथै देउमाई नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग भगिनी सम्बन्ध स्थापना गर्दै सीप, प्रविधि, अनुभव र स्रोत आदानप्रदानमा जोड दिने नीति पनि अघि सारेको छ । नगरप्रमुख सुर्यप्रसाद राईका अनुसार, ‘स्थानीय सरकारबीचको साझेदारी र अन्तर्राष्ट्रिय सहकार्यले देउमाईलाई आधुनिक, आत्मनिर्भर र सशक्त नगरको रूपमा अगाडि बढाउन मद्दत गर्नेछ ।’
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :