विपन्नको लागि छाना, नगरका लागि सहरी अनुशासन

  नयाँ बुलन्द
35 Shares

इलाम : इलामको देउमाई नगरपालिकाले समावेशी आवास, सहरी अनुशासन र भू-उपयोग व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्पष्ट र क्रियाशील नीति अघि सारेको छ ।

बुधबार सम्पन्न नगरपालिकाको दशौं नगरसभाबाट पारित नीतिअनुसार विपन्न, सीमान्तकृत, निम्न आय भएका तथा दलित परिवारको लागि नागरिक आवास कार्यक्रम अन्तर्गत छाना फेर्ने अभियानलाई अगाडि बढाइने भएको छ ।

संविधान र राष्ट्रिय आवास नीति, २०७५ को भावना अनुसार आवासको हक कार्यान्वयन गर्दै आर्थिक रुपमा कमजोर वर्गलाई समेट्ने उद्देश्य लिइएको हो ।

भौतिक योजना तथा सहरी विकास अनुशासनका लागि देउमाईले पुराना घरको अभिलेखिकरण र नयाँ घरको नक्सा पास अनिवार्य गर्ने नीति अघि सारेको छ । यस्तै, राष्ट्रिय भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गरिनेछ, जसले भूकम्पीय जोखिम न्यूनीकरण र सहरी सुरक्षामा टेवा पुर्याउने विश्वास गरिएको छ ।

भू-उपयोग सुधारका लागि नगरपालिका भू-उपयोग राष्ट्रिय नीति कार्यान्वयन गर्दै नापी तथा मालपोत कार्यालयसँग समन्वयमा भू-वर्गीकरणको लगत व्यवस्थित गर्ने कार्यमा जुट्नेछ । यसले नगर योजना निर्माणलाई तथ्यगत र दीर्घकालीन बनाउनेछ ।

यस्तै, नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सार्वजनिक पर्ति जग्गाको खोज, अभिलेख र संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने नीति लिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार