इलाम : इलामको देउमाई नगरपालिकाले दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत संस्थागत सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मानव संसाधन विकासलाई प्राथमिक एजेन्डाको रूपमा अघि सारेको छ ।
नगरपालिकाको कर्मचारी सांगठनिक संरचना लागू भइसकेको सन्दर्भमा सोहीअनुसार सेवा प्रवाह चुस्त, पारदर्शी र जनमैत्री बनाउन रणनीति अवलम्बन गरिने भएको छ । कर्मचारीको दक्षता र नैतिकता अभिवृद्धिका लागि तालिम, अवलोकन भ्रमण र सिकाइ कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।
नगरले जनप्रतिनिधिहरू, न्यायिक समिति तथा मेलमिलाप समितिका सदस्यहरूको क्षमता अभिवृद्धिलाई पनि नीति निर्माणको महत्वपूर्ण हिस्सा बनाएको छ । विवाद समाधान तथा स्थानीय शासन प्रणालीमा उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।
संघीय सरकारले अवलम्बन गरेको नीतिअनुसार नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको तलब सुविधा समायोजन गरिने भएको छ । साथै, अस्थायी, करार तथा ज्यालादारी प्रणालीमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीति लिइँदा दीर्घकालीन सेवा सुरक्षाको सुनिश्चितता हुनेछ ।
देउमाई नगरपालिकाले यस्ता नीतिहरूको कार्यान्वयनमार्फत स्थानीय तहको सेवा प्रवाहमा गुणात्मक सुधार, शासन प्रणालीमा विश्वासको सुदृढीकरण र कर्मचारीको समर्पणशीलता वृद्धि गर्ने अपेक्षा राखेको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :