इलाम : इलामको देउमाई नगरपालिकाले दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रलाई संरचना, संरक्षण र प्रचारप्रसारमा केन्द्रित गर्दै थप सशक्त बनाउन रणनीति अघि सारेको छ ।
बुधबार नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले पेश गरी नगरसभाबाट पारित नीति तथा कार्यक्रममा पर्यटन गुरुयोजनाअनुसार निर्देशिका निर्माण गरी प्रमुख पर्यटकीय गन्तव्यहरूमा संरचनागत विकासलाई निरन्तरता दिने भएको छ । नगरले अगाडि सारेका योजनाहरुले दीर्घकालीन, दिगो र समुदायमैत्री पर्यटन विकासमा बल दिने नीति पारित गरेको हो।
विशेष गरी सिद्धिथुम्का चुली, पानीटार चियाबगान, गुफाथुम्की, झ्याउपोखरी र विश्वकै ठूलो लालीगुँरास क्षेत्र जस्ता स्थानहरूको संरक्षण र प्रवर्धनलाई उच्च प्राथमिकता दिइने जनाइएको छ । पर्यटकीय क्षेत्रहरूमा पूर्वाधार विकासका साथै स्वच्छता, संकेत चिह्न, पर्यटक सहायता केन्द्रजस्ता आवश्यक व्यवस्था गरिने उल्लेख छ ।
त्यस्तै, कुहिभिर क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न विशेष योजना अघि सारिएको छ । ट्रेकिङ, पदमार्ग, दृश्यावलोकन टावर जस्ता संरचना निर्माण गरी यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने लक्ष लिइएको छ ।
नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा अन्य पर्यटकीय महत्वका स्थानहरूमा संरचना निर्माण तथा प्रचारप्रसारलाई पनि निरन्तरता दिइने नीति छ। यसबाट धार्मिक पर्यटन, आस्थामूलक यात्रा र सांस्कृतिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :