इलाम : इलामको देउमाई नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर, अर्गानिक र निर्यातमुखी बनाउने उद्देश्यसहित आगामी वर्ष २०८२/०८३ का लागि बहुआयामिक र व्यावसायिक कार्यक्रम पारित गरेको छ । बुधबार दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार कृषिमा आधुनिकता, प्रविधि हस्तान्तरण र स्थानीय स्रोतको अधिकतम उपयोगमा आधारित रणनीति अघि सारिएको छ ।
‘प्रांगारिक खेती अभियान’लाई नगरको पहिचान बनाउने उद्देश्यले नगरले कृषि क्षेत्रलाई बाध्यता नभई रहरको पेशाका रूपमा विकास गर्नुपर्ने दृष्टिकोण अघि सारिएको छ। ‘घरघरमा करेसाबारी, भान्साभान्सामा ताजा तरकारी’ अभियानलाई निरन्तरता दिँदै बिउ वितरण, सिँचाइ व्यवस्थापन तथा पोषणयुक्त तरकारी र फलफूल उत्पादनमा जोड दिइने उल्लेख छ ।
नगरले उन्नत पशुपालन, व्यवसायिक तरकारी तथा फलफूल खेती, मत्स्यपालन, मौरीपालन, अलैँची, अकबरे खुर्सानी, किवी, अदुवा, चिया, कफि, बेसारजस्ता नगदेबालीमा कृषकहरूलाई प्रोत्साहन गर्ने भएको छ । साथै, दुग्ध डेरी आधुनिकीकरण तथा छुर्पी प्रवर्द्धन कार्यक्रमलाई पनि निरन्तरता दिनेछ ।
कृषि तथा पशुपंक्षीसम्बन्धी तथ्यांक अद्यावधिक गरी किसान सूचीकरण तथा परिचयपत्र वितरण, माटो परीक्षण शिविर, सेक्स सिमेन वितरण तथा कृषि विशेषज्ञ जनशक्तिको व्यवस्था लगायत कार्यक्रमहरू नगरको प्राथमिकतामा परेका छन् ।
‘हाम्रै नगरको झ्याले आलु अर्गानिक खानपानमा नगरवासी सिपालु’ भन्ने नारासहित विउ संरक्षण, उत्पादन वृद्धी र बजारीकरणलाई एकसाथ अघि बढाउने नीति लिएको छ । साथै, रैथाने जातका बाली संरक्षण र वन्यजन्तु प्रकोप नियन्त्रणमार्फत कृषिमा स्थायित्व ल्याउने रणनीति अपनाइएको छ।
नगरभित्रका उत्कृष्ट कृषक तथा उद्यमीहरूको पहिचान गरी उनीहरूलाई प्रोत्साहन गरिनेछ। साथै, कृषि तथा पशु बजार केन्द्र र व्यवस्थित वधशाला निर्माण गरेर उत्पादनलाई उपभोक्तासम्म पुर् याउने व्यवस्था गरिने उल्लेख छ ।
खोरेत मुक्त पालिका बनाउने लक्ष्यसहित संघीय तथा प्रदेश सरकारसँग समन्वय गरिने नीति पनि कार्यक्रमको प्रमुख अङ्ग बनेको छ ।
देउमाई नगरपालिकाको कृषि तथा पशुपालन क्षेत्रमा देखिएको योजनाबद्धता र लगावले स्थानीय उत्पादन, आत्मनिर्भरता र रोजगारी सृजनामा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :