इलाम : वातावरणीय संरक्षण र विपद् व्यवस्थापनका सवालमा इलामको देउमाई नगरपालिकाले योजनाबद्ध र दीर्घकालीन रणनीति अघि सारेको छ । बुधबार देउमाई नगरपालिकाको दशौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रमले जलस्रोतको संरक्षणदेखि लिएर विकास निर्माणमा वातावरणमैत्री उपाय अपनाउने स्पष्ट संकेत दिएको छ ।
नगरले जलाधार र खानेपानीका मुहानहरूको संरक्षण गर्न वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्बन गरेको छ । वातावरणीय सन्तुलन कायम राख्न वृक्षरोपणलाई नियमित रूपमा सञ्चालन गरिनेछ भने संरचनागत निर्माणले पार्ने प्रभाव न्यूनीकरण गर्न वायो इन्जिनियरिङ्ग प्रविधि अपनाइने उल्लेख छ।
नगर प्रमुख सुर्यप्रसाद पोख्रेलका अनुसार नगरले स्थानीय आपतकालीन सञ्चालन केन्द्रलाई थप सुदृढ गर्दै विपद् व्यवस्थापन सेवा प्रभावकारी बनाउने योजना बनाएको छ। बाढी, पहिरो, आगलागीजस्ता सम्भावित विपद्हरूको पूर्वतयारी तथा तत्कालीन उद्धारमा केन्द्रित सेवा प्रणाली निर्माण गरिने जनाइएको छ।
यसका साथै, नगरले स्थानीय विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील योजना तयार गरी कार्यान्वयनमा लैजाने नीति अघि सारेको छ। यसले वातावरणीय परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
नगरभित्र निर्माण हुने सडक र भौतिक संरचनाहरूका लागि वातावरणीय प्रभाव मूल्याङ्कन तथा विस्तृत आयोजना अध्ययन प्रतिवेदन तयार गरेर मात्र कार्यान्वयन अघि बढाइने भएको छ । यसले दीर्घकालीन रुपमा वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वास नगरपालिकाले लिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :