बेरोजगारी न्यूनीकरण र गरिबी निवारणमा केन्द्रित देउमाई नगरको समावेशी नीति

  नयाँ बुलन्द
49 Shares

इलाम : इलामको देउमाई नगरपालिकाले रोजगारी सिर्जना र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । देउमाई नगरपालिकाको बुधबार सम्पन्न दशौं नगरसभाले श्रम, सीप, स्वरोजगार तथा उद्यमशीलता विकासलाई एकीकृत गर्दै समावेशी नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले पेश गरेको नीति तथा कार्यक्रममा श्रम सेवा केन्द्रलाई श्रम बैंकको रूपमा विस्तार गरी बेरोजगार व्यक्तिहरु, रोजगारदाता तथा श्रमिक सम्बन्धी तथ्यांक संकलन र अद्यावधिक गर्ने प्रणालीलाई सुदृढ बनाउने तयारी गरेको छ । यस अन्तर्गत राष्ट्रिय रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम र लघु उद्यम विकास कार्यक्रमलाई एकीकृत गरी एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने नीति अवलम्बन गरिनेछ ।

नगरप्रमुख पोख्रेलका अनुसार, ‘श्रम सक्रिय जनशक्तिलाई स्वरोजगारतर्फ उन्मुख गराउन सीप, तालिम र पूर्वाधार विकासमा जोड दिइएको छ। विशेषतः घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य गरिनेछ ।’ नगरभित्रका बेरोजगार तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सिप र क्षमताको पहिचान गरी उनीहरूलाई स्वरोजगारमा रूपान्तरण गर्ने योजना पनि सार्वजनिक गरिएको छ । यसका लागि सिप विकास, उद्यमशीलता तालिम तथा वित्तीय पहुँच अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।

सुरक्षित आप्रवासन कार्यक्रमसँग सहकार्य गर्दै वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू र उनीहरूको परिवारको सामाजिक सुरक्षामा समेत ध्यान दिइने बताइएको छ । यसका साथै, सार्वजनिक पूर्वाधार निर्माणमा स्थानीय जनशक्तिको उपयोग गरिने र आवश्यक निर्माण सामाग्री तथा औजारको व्यवस्थापन नगरमै गरिने नीतिलाई कार्यान्वयन गरिने उल्लेख छ।

नगरले कार्यस्थलमा आधारित सिप विकास तालिम प्रदान गर्दै स्वरोजगारका अवसरहरू सिर्जना गर्ने दीर्घकालीन योजना अघि सारेको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार