इलाम : लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट इलामको पर्यटन प्रवद्र्धनका लागि सन्दकपुर गाउँपालिकामा चैत्र २० बाट २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ । रेडपाण्डाको संरक्षणमा समुदायलाई सचेत गराउँदै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।
रेडपाण्डा महोत्सव पदमार्गमा आधारित पर्यटन महोत्सव हो । महोत्सवको मुख्य उदेश्य लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्नु हो । सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवद्र्धनमा महोत्सव केन्द्रित छ । ४३ किलोमिटर लामो पदमार्गको नाम रेडपाण्डा पदमार्ग हो ।
११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चाराको अध्ययन गर्न पाइन्छ । १५ पर्यटकीय गन्तव्य जोड्ने पदमार्गको प्रवद्र्धन गरि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले बताए । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट नेपालमा पर्यटन प्रवद्र्धन भएको क्षेत्र इलामको सन्दकपुर हो । सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागी विश्वभरका पर्यटकहरु पुग्ने गरेका छन् । विश्व रामसार सुचिमा सुचिकृत माईपोखरीबाट, नेपालका प्राकृतिक ग्रेटवाल छिन्टापू, कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरहुँदै पूर्वको मुस्ताङ जौबारी जोड्ने पदमार्गमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुको पदयात्रामा महोत्सवमा हुँदैछ ।
४ दिनसम्म आयोजना हुने महोत्सवमा आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु पदयात्राका क्रममा अध्ययन गर्न पाइन्छ । चिसो हावापानीसँगै, प्राकृतिक सुन्दरता र साहासिक पर्यटनको आनन्द लिन सकिने महोत्सव सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकारको पर्यटन कार्यालय झापा, केचना कंचनजंघा पर्यटन विकास समिति, रेडपाण्डा नेटवर्क लगायत संस्थाको प्रवद्र्धनमा आयोजना हुने सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतले बताए ।
रेडपाण्डा पदमार्ग आधारित पर्यटन महोत्सवमा आन्तरिक र बाह्य गरि १ हजार बढी पर्यटहरुले पदयात्रा गर्नेछन् । चैत्र २० गतेबाट शुरु हुने महोत्सवको आयोजक सन्दकपुर गाउँपालिका हो । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन कार्यालय काँकरभिट्टा, केचना कंचनजंघा पर्यटन विकास समिति, रेडपाण्डा नेटवर्क, दिपज्योती युवा क्लब पाँचथर रहेका छन् । महोत्सवमा डिभिजन वन कार्यालय इलाम, होमस्टे महासंघ, उच्च पहाडी संस्था नेपाल, सामुदायीक वन उपभोक्ता महासंघ र नेपाल आदिवासी जनजाति महासंघको समन्वय रहेको छ । महोत्सवको ट्राभल्स पाटर्नरमा सन्दकपुर हिल्स ट्राभल्स टुर्स एण्ड रिर्सज सेन्टर रहेको हो । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न नेपालमा दोस्रो पटक रेडपाण्डा महोत्सव हुन लागेको हो ।
रेडपाण्डाको माध्यमबाट पर्यापर्यटनको प्रवद्र्धन हुँदै आएको इलामको सन्दकपुर गाउँपालिका रेडपाण्डा महोत्सवको आयोजनाले स्थानीय पर्यटन व्यवसायीहरु पनि उत्साहित भएका छन् । सन्दकपुर गाउँपालिकाको पर्यटन पात्रोका आधारमा चैत्र २० गतेबाट २३ गतेसम्म प्रवद्र्धनात्मक महोत्सवको आयोजना हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।
महोत्सवको तयारीका लागि सन्दकपुर गाउँपालिकामा समन्वय बैठक सम्पन्न गरि तयारी तिब्रता भएको केचना कंचनजंघा पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए । समन्वयको बैठकले सन्दकपुर गाउँपालिकामा निर्माण हुँदै गरेको रेडपाण्डा पदमार्गको शुरुवाती क्षेत्र विश्व रामसारमा सुचिकृत माईपोखरीमा उद्घाटन चैत्र २० गते बिहान हुनेछ । बैठकले महोत्सवको समापन सन्दकपुर ५ स्थित जौबारी चोयाटार क्षेत्रमा हुनेछ । रेडपाण्डाको संरक्षणका लागि रेडपाण्डाको बसोबास भएको क्षेत्रमा अन्तरक्रियात्मक कार्यक्रम गर्दै पदयात्रा गर्ने योजना रहेको सन्दकपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सनम राईले बताए ।
रेडपाण्डाको अवलोकन गर्दै पदयात्रा गर्ने रुट पनि छनौट भएको छ । माईपोखरी टप्पु सन्दकपुर हुँदै जौबारी चोयाटार सम्म चारदिनसम्म पदयात्रा गरिने योजना रहेको हो । पदयात्रामा आधारित पर्यटन महोत्सवमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुको उपस्थिति हुने छ । रामसार क्षेत्र माईपोखरीमा उद्घाटन गरिएपछि पर्यटकीय क्षेत्र छिन्टापहुँदै गोरुवालेसम्म पदयात्रा गरि बास बस्ने कार्यक्रम छ ।
दोस्रो दिन छिन्टापुबाट कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर डाँडाको आहाल क्षेत्रमा पुगेर बास बस्ने योजना तय भएको हो । तेस्रो दिन रेडपाण्डा पर्यापर्यटनको को काम हुँदै आएको दोबाटे कैयाकट्टा क्षेत्रमा पुगेर पदयात्रीहरुको टोली बस्ने योजना छ । महोत्सवमा अवसरमा हुने पदयात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधिको सहभागि हुनेछन् । पदयात्रामा बढीमा ३० जना पर्यटन व्यवसायीलाई आमन्त्रण गरिएको हो ।
दोबाटे क्षेत्रमा रेडपाण्डा संरक्षण, यसको महत्व र पर्यटन प्रवद्र्धनमा भुमिका बिषयमा अन्तरक्रिया समेत हुनेछ । दोबाटे र कैयाकट्टा क्षेत्रमा रेडपाण्डाको दृश्यावलोकन गर्न योजना रहेको छ । अन्तिम दिन जौबारी चोयाटार क्षेत्रमा रेडपाण्डाको अवलोकन गरि महोत्सवको समापन गर्ने कार्यक्रम रहेको छ । महोत्सवले रेडपाण्डाको महत्वका बारेमा जनचेतना छर्ने र रेडपाण्डा पदमार्गको प्रचारप्रसार गरि गाउँपालिकाको आयस्तर वृद्धि गर्ने योजना रहेको हो