
इलाम : सन्दकपुर गाउँपालिका कोशी प्रदेशको सुन्दर जिल्ला इलाममा अवस्थित छ । सन्दकपुर इलाम जिल्लाको शीर हो । इलामको चुचुरो अर्थात कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो, सन्दकपुर यही गाउँपालिकामा पर्छ । सन्दकपुर गाउँपालिका घुम्नै पर्ने पर्यटकीयस्थलमा घोषित छ ।
१५६.०१ वर्ग कि.मी. क्षेत्रफल ओगटेको गाउँपालिका जनसंख्याको आधारमा १३३ औं र क्षेत्रफलको आधारमा ४ सय ७७ औं सानो स्थानीय तह हो । ४ नगरपालिका र ६ गाउँपालिका मध्ये सन्दकपुर गाउँपालिकामा धेरै गन्तव्यस्थल छन् । दक्षिणमा माईटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्ग पाटेनागी देखि पश्चिममा थाक्लेभञ्ज्याङ्ग सम्म गाउँपालिका फैलिएको छ ।
प्राकृतिक भु–बनोट, बहुमूल्य जडिबुटी, दुलर्भ वन्यजन्तु, जैविक विविधता विभिन्न जातजातिको भाषा, सस्कृति, रहनसहन, रितीरिवाज र कृषिमा आधारित जीवनशैलीको अध्ययन गर्न सकिन्छ । समुन्द्र सतहबाट ९ सय ९ मिटर देखि ३ हजार ६ सय ३६ मिटरसम्म फैलिएको छ । सिंहलीला र महाभारत पर्वतश्रृंखलाबाट उत्पन्न दर्जनौ नदीनाला प्रणाली, विश्व रामसार सुचीमा सुचीकृत माईपोखरी, अनेकौ सिमसार क्षेत्र, लोपोन्मुख थुप्रै वन्यजन्तु, वनजंगलभरी पाइने चराका बथान, वनस्पति हिमश्रङ्खलाको दृश्य, झरनाहरु सन्दकपुर गाउँपालिका भित्रका पर्यटकिय गन्तव्य हुन् ।
सन्दकपुर डाँडा : कहाँबाट पदयात्रा
स्थानीय तह घोषणा भइ जनप्रतिनिधि नेतृत्वमा आएपछि सन्दकपुर गाउँपालिका भित्र पर्यटन प्रवद्र्धनले गति लिएको थियो । २०७४ को स्थानीय तहको निर्वाचन पछि पर्यटन पुर्वाधारले पनि गति लिएको छ । सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थल पछिल्लो समय पदमार्गले जोडिएका छन् । विश्व रामसार सुचिमा सुचिकृत माइपोखरीदेखि मानव निर्मित ढापपोखरी जोड्ने ४३ किलोमिटर लामो पदमार्ग निर्माण भएको छ ।
माईपोखरीबाट शुरु भएको पदमार्गले डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, सूर्योदयमा दृश्यावलोकन क्षेत्र छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरुवाले, धुपि, आहाल हुदै सन्दकपुर डाँडा जोडिन्छ ।
सन्दकपुरबाट गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पुगेर पुरा हुन्छ । रेडपाण्डा पदमार्ग यात्राका क्रममा विश्वको अग्लो हिमश्रङ्खला ६० बढी हिमालको दृश्य, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, चरिबाघ, मुनाल, डाँफे सहित सयौँ प्रजातीका चराहरु, सिमसार, नदीका मुहान, प्राकृतिक सुन्दरतामा रमाउन सकिन्छ । सन्दकपुर डाँडासम्मको पदयात्रा सन्दकपुर गाउँपालिका ५ को पर्यटकीय गाउँ जौबारी बाट गैरीबास, कैयाकट्टा, कालपोखरी हुँदै पदयात्रा गर्न सकिन्छ । जौबारी सन्दकपुर पदमार्ग २५ किलोमिटर लामो छ ।
सन्दकपुर डाँडाको पदयात्रा वडा नम्बर १ को बिखेभञ्ज्याङबाट पर्यटकीयस्थल छिन्टापु गोरुवाले हुँदै सन्दकपुर पुगिन्छ । बिखेभञ्ज्याङबाट सन्दकपुरसम्मको पदयात्रा ३० किलोमिटर लामो छ ।
रेडपाण्डा पदमार्ग
विश्व रामसार सुचिमा सुचिकृत माइपोखरीदेखि जौबारीसम्म जोड्ने पदमार्ग रेडपाण्डा पदमार्ग हो । पदमार्ग ४३ किलोमिटर लामो छ । रेडपाण्डा पदमार्गमा पर्ने कैयाकट्टाबाट मानव निर्मित चन्द्रपाल थेवे ढापपोखरीसम्म पनि पदमार्गले जोडिएको छ । माईपोखरीबाट शुरु भएको पदमार्गले पर्यटकीयस्थल डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क , रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरुवाले, धुपि, आहाल हुँदै कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पुगिन्छ ।
सन्दकपुरबाट बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पनि पुगिन्छ । सन्दकपुर गाउँपालिकाबाट रेडपाण्डा पदमार्ग नामाकरण भएको पदमार्गमा संघीय सरकारको पर्यटन विभागबाट ६ करोड र प्रदेश सरकारबाट १ करोड खर्च भएको छ । जुन सन्दकपुर गाउँपालिका १ को रामसार क्षेत्र माईपोखरीबाट वडा नम्बर ५ को जौबारी बजार जोडिन्छ । जौबारीलाई पूर्वी नेपालको मुस्ताङको उपमा पाएको छ ।
पदमार्गले जोडिने पर्यटकीय गन्तव्य र आकर्षण
रेडपाण्डा पदमार्गले १५ पर्यटकीय गन्तव्य समेटिएका छन् । रामसार क्षेत्र माईपोखरी, डम्बरसिंह सुनुवार संग्राहालय, सहिद भुमि सातखाल्डे, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, खप्परे, ढुङ्गेपानी, छिन्टापु डाँडा, गोरुवाले पर्दछ । पदमार्गमा धुपि, आहाल डाँडा, सन्दकपुर डाँडा, गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, लालबास पोखरी, दोबाटे, माबुथाम, कैयाकट्टा, गैरीबास र जौबारी बजार रहेका छन् । रेडपाण्डा पदमार्गको शुरुवात सन्दकपुर १ र ३ मा अवस्थित रामसार क्षेत्र माईपोखरीबाट शुरु हुन्छ । माईपोखरी विश्व रामसार सुचिमा सुचिकृत धार्मिक र पर्यटकीय गन्तव्य हो ।
पदमार्ग यात्राका क्रममा विश्वको अग्लो सगरमाथा सहित नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमश्रङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । लोपउन्मुख रेडपाण्डा, थार, चितुवा, चरिबाघ लगायतका वन्यजन्तुको अध्ययन गर्न सकिन्छ । लोपउन्मुख डाँफे, मुनाल सहित दर्जनौँ चराहरुको दृश्यावलोकन र अध्ययन पदमार्ग यात्राका क्रममा पाइन्छ । दजनौँ सिमसार, नदीका मुहान, र प्राकृतिक सुन्दरतासँगै जडिबुटी र गुराँससहित दर्जनौँ प्रजातीका वनस्पति, फुलहरुमा रमाउन सकिन्छ ।
पदमार्गको यात्रा र समय
रेडपाण्डा पदमार्ग ४३ दशमलव १८ किलोमिटर लामो छ । पदमार्गको यात्रा तीन दिनमा गर्न सकिने भएपनि भौगोलिक अवस्था, पदयात्रीको सुविधाका लागि आवश्यक पूर्वाधारका कारण ५ दिनमा यात्रा गर्न सकिन्छ ।
पदयात्रा छोट्याउने र लम्ब्याउने पदयात्रीको खर्च गर्ने क्षमता र यात्राको अवस्थामा निर्भर हुन्छ । पदमार्गमा क्षेत्रमा खाने र बस्ने सुविधाको आधारमा हामीले यो पदमार्गको यात्रा गर्न सक्छौँ । हाम्रो पदयात्राको शुरु माईपोखरी वा जौबारीबाट गर्न सक्छौँ । हामीले माईपोखरीबाट यात्रा तय गर्ने योजना बनाएमा झापाको पूर्व पश्चिम राजमार्गको चारआलीबाट इलाम सदरमुकाम हुँदै ८० किलोमिटर यात्रा गाडीको यात्रा गर्नुपर्छ ।
त्यसपछि माईपोखरीसम्म गाडीको यात्रा थप १२ किलोमिटर हुनेछ । यदि हामीले जौबारीबाट पदयात्राको योजना बनाएमा मेची राजमार्गको फिक्कलबाट माईजोगमाई गाउँपालिकाको नयाँबजारहुँदै जौबारीसम्म ७२ किलोमिटर गाडीमा यात्रा गर्नुपर्छ । हाम्रो पदयात्रा भने माईपोखरीबाट भएको थियो ।
रेडपाण्डा पदमार्गको यात्राका लागि हामी सर्वप्रथम माईपोखरी पुगेका थियौँ । हाम्रो बास माईपोखरीमा नै भयो । माईपोखरीसम्म गाडीमा पुगेका हामीले पदयात्रा शुरु भयो । रामसार क्षेत्र माईपोखरीबाट शुरु भएको प्रथम दिनको यात्रा हिले भञ्ज्याङ्गमा पुगेर टुङ्गीयो । हामी पर्यटकीय क्षेत्र छिन्टापुसम्म पुग्न सक्ने भएपनि छिन्टापुमा होटल र होमस्टेको अभाव रहेकाले हिलेभञ्ज्याङ्गमा हाम्रो प्रथम दिनको यात्रा बिट मार्नुपर्यो ।
हाम्रो यात्राको पहिलो दिन माईपोखरी, डम्बरसिंह सुनुवार बहुसास्कृतिक संग्राहालय, सातखाल्डे सहिद पार्क, सुन्दर देउराली, टप्पु डाँडा, रेडपाण्डा प्रजनन् केन्द्रहुँदै हिले भञ्ज्याङ पुगेका थियौँ । हामीले पदयात्राको प्रथम दिनमा ६ हजार २ सय मिटर पदयात्रा गरेका थियौँ । पर्यटकीय गन्तव्यसँगै रहेका होटल र होमस्टेमा गाँस र बासको सुविधा रहेकाले हाम्रो यात्रा रमाइलो रह्यो । हाम्रो दोस्रो दिनको यात्रा हिले भञ्ज्याङबाट गोरुवालेसम्मको हुनेछ । दोस्रो दिनको यात्रा हामीले घना जंगलले घेरिएको महाभारत पर्वतको डाँडैडाडा यात्रा गर्यौ ।
हामीले छोक्रेभञ्ज्याङ, खप्परे, घिवाला भञ्ज्याङ्ग, ढुङ्गेपानी, छिन्टापु डाँडा हुँदै गोरुवाले भञ्ज्याङ पुग्यौँ । दोस्रो दिनको यात्रा १० किलोमिटर रहेको छ । हामी १० किलोमिटर यात्राका क्रममा दर्जनौ प्रजातीका चराहरु, लोपउन्मुख रेडपाण्डा, दर्जनौ हिमश्रङ्खलाको दृश्यमा रमायौँ । दोस्रो दिनको यात्रामा पुगिने छोक्रेभञ्ज्याङ, खप्परे घिवाला भञ्ज्याङ्ग र ढुङ्गेपानी क्षेत्रसम्मको क्षेत्र वन्यजन्तु र चराहरुको अध्ययनको क्षेत्र मानिन्छ । छिन्टापु डाँडा नेपालको प्राकृतिक ग्रेटवालले प्रख्यात छ ।
चीनको ग्रेटवाल झैँ देखिन्छ । छिन्टापु ३ हजार ३ सय ३ मिटरको उचाईमा अवस्थित छ । छिन्टापु क्षेत्र इलामको गुराँसको राजधानीका रुपमा परिचत छ । छिन्टापुबाट दर्जनौ हिमश्रङ्खलाहरुको दृश्यमा रमाउन सकिन्छ । छिन्टापु क्षेत्रमा क्याम्प राखेर गर्न बस्न सकिने भएपनि होटल र होमस्टेको व्यवस्था नभएकाले गोरुवाले क्षेत्रमा पुगेर होमस्टेमा बस्न सकिन्छ । हाम्रो तेस्रो दिनको यात्रा गोरुवाले क्षेत्रबाट कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडासम्मको हुनेछ । सन्दकपुर क्षेत्र समुन्द्र सतहबाट ३६ सय ३६ मिटरमा अवस्थित छ ।
सन्दकपुर कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । हाम्रो तेस्रो दिनको यात्रामा हामीले गुराँसका जंगलको बिचमा रहेको पदमार्गको यात्रा गयौँ । चराहरुको चिरबिर अनि यात्राका क्रममा भेटिने मुनाल र रेडपाण्डाको दृश्यले हाम्रो मन फुरुङ्ग भयो । चैत्र र बैशाखमा फुल्ने लालिगुराँसको फुलमा रम्न सक्नेछौँ । ९ किलोमिटरको तेस्रो दिनको यात्राका क्रममा धुपि क्षेत्रमा रहेका चौरी गोठहरुमा चौँरीको दूधको स्वादमा रमाउन सक्यौँ । धुपिबाट आहाल डाँडा हुँदै सन्दकपुर डाँडा पुग्यौँ ।
आहालडाँडा सुर्योदय र सुर्यास्तको दृश्यमा रमाउन सकिन्छ । हामीले सुर्यास्तको दृश्य दृश्यावलोकन गयौँ । नेपाल र भारत सीमा क्षेत्रमो रहेको आहालडाँडा क्षेत्रमा भारत भएर दैनिक सयौँ पर्यटकहरु आउने गरेको छ । आहालडाँडाबाट सगरमाथा, कंचनजंघमा हिमश्रङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । आहालडाँडाबाट नजिकै रहेको छ सन्दकपुर डाँडा । भारतको पश्चिमबंगाल र इलामको शीर सन्दकपुर डाँडा महाभारत पर्वतमा पर्ने सुनको अण्डा मानिन्छ ।
नेपाल, भारत, भुटान र चीनको तिब्बतका हिमश्रङ्खलाहरुको चराले झैँ दृश्यावलोकन गर्न सकिने सन्दकपुर क्षेत्रमा होटल र होमस्टेहरुमा बास बस्नको आनन्द बेग्लै हुन्छ । सन्दकपुरबाट नेपाल, भारतका ग्रामीण बस्तीदेखि सहरहरुसम्मको दृश्यमा रमाउन सकिन्छ । तेस्रो दिनको यात्राको पछिको सन्दकपुर बसाईपछि हामीले चोथो दिनको बिहानै सुर्योदय अनि आँखै अगाडी देखिने हिमालहरुमा पुग्ने सुर्यका किरणहरुले विश्वभरबाट पुग्ने पर्यटकहरु रमाउने गरेका छन् । सन्दकपुरबाट हाम्रो चौथो दिनको यात्रा दोबाटेसम्मको थियो । दोबाटे सन्दकपुर गाउँपालिका ४ मा अवस्थित छ । दोबाटे लोपउन्मुख रेडपाण्डाको अध्ययन क्षेत्रको रुपमा परिचित छ । सन्दकपुर डाँडाबाट हामी गुराँसे भञ्ज्याङ, बिखेभञ्ज्याङ्ग, चौरी चौक, कालपोखरी, लालबास पोखरी हुँदै दोबाटे पुगेका थियौँ । हाम्रो चौथो दिनको यात्रा ९ किलोमिटर रहेको थियो ।
दोबाटे क्षेत्रका होमस्टेमा बास बसी अर्गानिक खाना अनि लोपउन्मुख रेडपाण्डाको अध्ययन गर्न पाएका थियौँ । रेडपाण्डा अध्ययनका लागि सहयोगीको पनि साथ पाएका थियौँ । दोबाटे क्षेत्रमा मुनाल र डाँफे चराको पनि अध्ययन गर्न पाइन्छ । त्यसबाहेक चरिबाघ र सयौँ प्रजातीका चराहरुको अध्ययन अवलोकन गर्न पाइन्छ ।
हाम्रो पाँचौ दिनको यात्रा दोबाटेबाट जौबारीसम्मको थियो । हामीले बिहानको खाजा अघि सन्दकपुर ४ को माबुथाम डाँडासम्म पदयात्रा गयौँ । दोबाटे माबुथाम डाँडासम्को यात्रामा माबु सन्दकपुर सडकको प्रयोग गर्नुपर्छ ।
माबुथाम डाँडामा निर्माणाधिन टावरबाट पुरै सन्दकपुर गाउँपालिकासँगै तराईका भु–भागहरुको दृश्यावलोकन गर्न सकिन्छ । हाम्रो माबुथामको यात्रापछि हामी पुनः दोबाटे फर्केर कैयाकट्टा, गैरीबास, जौबारीसम्म यात्रा गर्यौ । जंगलको बिचमा रहेको पदमार्ग यात्राको आनन्द बेग्लै थियो । यात्राको बिचमा पर्ने कैयाकट्टा, गैरीबास, जौबारी क्षेत्र रेडपाण्डा, सयौँचराहरु, मुनाल, डाँफे, चरीबाघको अध्ययन गर्ने अवसर पायौँ । जौबारी पुगेसँगै रामसार क्षेत्र माईपोखरीबाट शुरु भएको यात्रा पाँचौ दिनमा पुरा भएको छ ।

हाम्रो यात्रा थप्न सक्छौँ
रेडपाण्डा पदमार्गको यात्रा सकिएपछि हामीले यात्रा थप गर्न सक्छौ । हामी सन्दकपुर ५ को कैयाकट्टाबाट हाँगेथाम हुँदै ढापपोखरीसम्मको पदयात्रा थप्ने छौँ । कैयाकट्टाबाट ढापोखरीसम्मको यात्रामा पर्यटकीय गन्तव्य कैयाकट्टा, हाँगेथाम, साँङ्गे छ्योलिङ्ग गुम्बा, ढापोखरी, पाहा झरना जोडिएका छन् । यो यात्रा ८ किलोमिटरको हुनेछ । त्यस्तै सन्दकपुर– ५ को जौबारीबाट आहालभञ्ज्याङ्ग क्षेत्रसम्मको यात्रा थप गर्न सक्छौँ । यो यात्रामा रेडपाण्डा र चराचुरुङ्गीको अध्ययन गर्न सकिन्छ । हामी सन्दकपुर १ को बिखेभञ्ज्याङ्गबाट छिन्टापु हुँदै सन्दकपुरसम्म यात्रा गर्न सक्छौँ । यो क्षेत्रमा पाँचथरको पौवाभञ्ज्याङ्गबाट निर्माण शुरु भएको फाल्गुनन्द पदमार्गले जोडिन्छ । यो क्षेत्रबाट हिमाली दृश्यसँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डा र चराचुरुङ्गीको अध्ययनबाट आनन्द लिन सकिन्छ ।
पदमार्गमा आवश्यक थप पूवार्धार
रेडपाण्डा पदमार्ग पूर्ण रुपमा संचालनका लागि थप पूर्वाधार निर्माण हुनुपर्छ । पदमार्ग र पर्यटकीय गन्तव्यहरुको सुचना लिनका लागि सुचना केन्द्रको आवश्यकता छ । विश्व रामसार सुचिमा सुचिकृत माईपोखरीमा सुचना केन्द्र स्थापना गर्नुपर्छ । रामसार क्षेत्रमा सुचना केन्द्र स्थापना भएमा पर्यटकहरुलाई गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरुसँगै र सेवा सुविधाका बारेमा जानकारी दिन सहज हुन्छ । जसले गर्दा पदयात्रा गर्ने पर्यटकहरुलाई आफ्नो यात्रास्थलको सम्पूर्ण कुरा लिन सहज हुन्छ ।
सन्दकपुर गाउँपालिकाले पदमार्गको सुरक्षा र मर्मतको काम नियमित गर्नुपर्छ । मर्मतको काम त अतिआवश्यक छ । पदमार्गको नियमित मर्मत नहुँदा झाडीको विकास हुने भएकाले अशोज र फागुन महिनामा पदमार्ग सफा गर्नुपर्छ । पदमार्गको छिन्टापु क्षेत्रमा पर्यटक बस्ने आवास गृहसँगै, शौचाल र खानेपानीको व्यवस्था गर्न आवश्यक छ ।
सन्दकपुर डाँडामा निर्माण पुरा गरि गेष्टहाउस संचालनका गरेमा पर्यटकहरुलाई सुविधा पुग्नेछ । पदमार्गको टप्पु छिन्टापु क्षेत्रको घिवाला भञ्ज्याङ्ग क्षेत्रमा पर्यटक बस्नका लागि गेष्ट हाउस बनाउन आवश्यक छ । यो क्षेत्रमा फाल्गुनन्द पदमार्गले पूर्वाधार निर्माण गर्ने भएकाले केहि वर्षमा हाम्रो यात्रा सहज हुने अपेक्षा गर्न सकिन्छ । गोरुवाले आहाल खण्डको धुपी क्षेत्रमा गेष्ट हाउस र क्याम्प राख्नका लागि पूर्वाधार निर्माण भएमा राम्रो देखिन्छ ।
पदमार्गको कैयाकट्टा र गैरीबास जोड्ने खण्ड पूर्णरुपमा मर्मत गर्नुपर्ने हुन्छ । पदमार्गको घिवाला भञ्ज्याङ्ग, छिन्टापु, धुपि, लगायतका क्षेत्रमा खानेपानीको व्यवस्था । पदमार्गका विभिन्न क्षेत्रमा पर्यटक आरामका लागि गोल घर बनाइएमा अझ यात्रा सहज हुनेछ ।
फोहारमैला व्यवस्थापन
रेडपाण्डा पदमार्गमा अहिले पर्यटकहरुको पदयात्रा बढ्दो छ । पदमार्गसँगै निर्माण पर्यटकहरुको आकर्षक गन्तव्य भएको छ । पर्यटकहरु अहिले सन्दकपुर छिन्टापु खण्डमा बढी यात्रा गर्दै आएका छन् । सन्दकपुरबाट छिन्टापु, सन्दकपुर कैयाकट्टा जौबारी क्षेत्रमा पर्यटकहरु पदयात्रा गर्ने क्रम बढेको हो । पूर्वाधार र सेवा सुविधा थप भएमा पर्यटकहरुको अझ चाप बढ्ने अवस्था छ ।

त्यसैले पदमार्ग भित्र पर्ने बजारहरुमा फोहोरमैला व्यवस्थापन गर्न समुदायलाई सचेत गराउनुपर्नेछ । पदमार्गका विभिन्न क्षेत्रमा डसबनीको व्यवस्था गर्नुपर्छ । पदमार्ग भएको क्षेत्र जगल भएकाले फोहोरमैला व्यवस्थापन नर्गदा वातावरण प्रदुषण हुन्छ । हामीले समुदायलाई फोहोरमैला व्यवस्थापन गर्न समुदाय सचेत गरिएमा वातावरण प्रदुषण हुनेबाट जोगिन्छ ।
जैविक विविधता, वनजंगल, सिमसार
रेडपाण्डा पदमार्ग क्षेत्रमा जैविक विविधता, जडिबुटी, चराचुरुङ्गी, सरिश्रप, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, चितुवा, चरिबाघ, मुनाल, डाँफे र पोखरीहरु प्रशस्त छन् । धार्मिक महत्वका माई, पुवामाई लगायत दर्जनौ खोलाहरुको मुहान क्षेत्र पदमार्ग भित्रनै समेटिएका छन् । हामी पदयात्रा क्रममा नदी, खोलाका मुहान, सिमसार, पोखरीहरु र जैविवि विविधताको अध्ययन गर्दै यात्रा गर्न सक्छौ । भौतीक पूर्वाधार निर्माण गर्दा वनजंगल र जंगल क्षेत्रमा बसोबास गर्ने चराचुरुङ्गी, वन्यजन्तु, चराचुरुङ्गी र सिमसार क्षेत्रको सुरक्षालाई ध्यान दिएर काम गर्नुपर्छ । सडक निर्माण गर्दा पर्यावरणमा असर नहुने गरिने बनाउनुपर्छ ।
रेडपाण्डा पदमार्गको सुरक्षा र व्यवस्थापनका लागि समुदायसँग जोड्नुपर्छ । पदमार्गको नियमित मर्मतका लागि समुदायलाई जिम्मा दिइ उनीहरुलाई पर्यटन व्यवासमा जोड्नुपर्छ । जसले गर्दा समुदायको आयश्रोत वृद्धि भइ रोजगारीका अवसरहरु थपिन्छ । समुदायमा आधारित पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन भएमा अझ राम्रो हुन्छ । सुमदायलाई होमस्टे, गोठस्टे, गाइड, पोटर लगायतका सिप मुलक कार्यक्रमहरुमा जोड्न सकिए पर्यटनका माध्यमबाट सन्दकपुर आन्तरिक श्रोत वृद्धि गर्न सकिन्छ ।