राष्ट्रपति रनिङ सिल्ड अर्को वर्ष सूर्योदय नगरपालिकामा हुने

  नयाँ बुलन्द
238 Shares

१६ औं संस्करणको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनको झण्डा हस्तान्तरण गर्दै कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर (बायाँ) र जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोला एवम् ग्रहण गर्दै सूर्योदयका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बराल (दायाँ) । 

इलाम : इलाम जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको १६ औं संस्करण आउँदो वर्ष सूर्योदय नगरपालिकामा हुने भएको छ ।

विगत ३ वर्षदेखि सदरमुकामबाट विकेन्द्रीकरण गरी बाहिर आयोजना गर्न थालिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अर्को वर्ष अर्थात् २०८२ मा सूर्योदय नगरपालिकामा निश्चित भएको हो ।

जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा प्रत्येक वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने गर्दछ । यस वर्ष १५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मङ्गलबार माई नगरपालिकामा सम्पन्न भएको छ। यस वर्षको प्रतियोगिता सम्पन्न भएसँगै आउँदो वर्ष सूर्योदय नगरपालिकामा प्रतियोगिता सञ्चालन हुने टुङ्गो लागेको हो ।

सूर्योदय नगरपालिकामा प्रतियोगिताको १६ औं संस्करण आयोजना गर्न टुङ्गो लागेसँगै सो पालिकालाई प्रतियोगिता सञ्चालनको झण्डा हस्तान्तरण गरिएको छ । कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले सूर्योदयका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बराललाई प्रतियोगिता सञ्चालनको झण्डा हस्तान्तरण गरेका हुन् ।

सूर्योदय नगरपालिकासँग समन्वय गरेर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनका लागि झण्डा हस्तान्तरण गरिएको अध्यक्ष बाँस्तोलाले बताए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सदरमुकाबाट विकेन्द्रित गरिन थालेपछि पहिलोपटक १३ औं संस्करण फाकफोकथुम गाउँपालिका सञ्चालन गरिएको थियो । त्यसपछि १४ औं संस्करण माङसेबुङ गाउँपालिकामा र १५ औं संस्करण माई नगरपालिकामा सञ्चालन गरिएको हो ।

सदरमुकाम बाहिर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय स्तरसम्म विभिन्न खेल विधाबारे जानकारी हुन थालेको र यसले सिङ्गो खेलकुदा विकासमा टेवा पुर्‍याएको अध्यक्ष बाँस्ताले बताए ।

इलाममा १० वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा पालैपालो प्रतियोगिता सञ्चालन गर्दै लैजाने सहमति भएको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख नारायण भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार