राष्ट्रपति रनिङ सिल्डको उपाधि इलाम नगरपालिकाले जित्यो

इलाम : १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ ।

माई नगरपालिका-२ स्थित सितली खेलमैदानमा मङ्गलबार अबेर सम्पन्न प्रतियोगितामा इलाम नगरपालिकाले २२ स्वर्ण, १३ रजत र ८ कास्य पदकसहित तेस्रोपटक उपाधि हात पारेको हो । इलाम नगरपालिका १३ औं र १४ औं संस्करणको राष्ट्रपति रनिङ सिल्डको प्रतियोगिताको समेत विजेता पालिका हो ।

जिल्लाको चार नगरपालिका र छ गाउँपालिकाका विद्यालयमा अध्ययनरत ८ सय ८५ छात्रछात्रा सहभागी प्रतियोगितामा १८ स्वर्ण, १३ रजत र २० कास्य पदकसहित सूर्योदय नगरपालिका दोस्रो र १२ स्वर्ण, १२ रजत र २१ कास्य पदकसहित माई नगरपालिका तेस्रो  भएका छन् ।

४ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित माङसेबुङ गाउँपालिका चौथो, ३ स्वर्ण, १० रजत र २ कास्य पदकसहित माईजोगमाई गाउँपालिका पाँचौ, २ स्वर्ण, ३ रजत र १९ कास्य पदकसहित चुलाचुली गाउँपालिका छैठौं र २ स्वर्ण पदकसहित सन्दकपुर गाउँपालिका सातौं भएको भएको छ ।

त्यस्तै, १ स्वर्ण, ६ रजत र १५ कास्य पदकसहित रोङ गाउँपालिका आठौं, १ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित देउमाई नगरपालिका नवौं तथा १ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित फाकफोकथुम गाउँपालिका दशौं भएका छन् ।

जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माई नगरपालिकाको व्यवस्थापनमा भएको प्रतियोगितामा छ विधामा दुई सय ३४ पदकका लागि खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

अर्को वर्ष सूर्योदय नगरपालिकामा हुने

यसैबीच १६ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सूर्योदय नगरपालिकामा हुने भएको छ । विगत ३ वर्षदेखि सदरमुकामबाट विकेन्द्रीकरण गरी बाहिर आयोजना गर्न थालिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अर्को वर्ष अर्थात् २०८२ मा सूर्योदय नगरपालिकामा निश्चित भएको हो ।

जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा प्रत्येक वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने गर्दछ । यस वर्ष १५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मङ्गलबार माई नगरपालिकामा सम्पन्न हुँदैछ । यस वर्षको प्रतियोगिता सम्पन्न हुने भएसँगै आउँदो वर्ष सूर्योदय नगरपालिकामा प्रतियोगिता सञ्चालन हुने टुङ्गो लागेको हो ।

सूर्योदय नगरपालिकामा प्रतियोगिता आयोजना गर्न टुङ्गो लागेसँगै सो पालिकालाई प्रतियोगिता सञ्चालनको झण्डा हस्तान्तरण गरिएको छ । कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले सूर्योदयका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बराललाई प्रतियोगिता सञ्चालनको झण्डा हस्तान्तरण गरेका हुन् ।

सूर्योदय नगरपालिकासँग समन्वय गरेर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनका लागि झण्डा हस्तान्तरण गरिएको अध्यक्ष बाँस्तोलाले बताए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सदरमुकाबाट विकेन्द्रित गरिन थालेपछि पहिलोपटक १३ औं संस्करण फाकफोकथुम गाउँपालिका सञ्चालन गरिएको थियो । त्यसपछि १४ औं संस्करण माङसेबुङ गाउँपालिकामा र १५ औं संस्करण माई नगरपालिकामा सञ्चालन गरिएको हो ।

सदरमुकाम बाहिर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय स्तरसम्म विभिन्न खेल विधाबारे जानकारी हुन थालेको र यसले सिङ्गो खेलकुदा विकासमा टेवा पुर्‍याएको अध्यक्ष बाँस्ताले बताए ।

इलाममा १० वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा पालैपालो प्रतियोगिता सञ्चालन गर्दै लैजाने सहमति भएको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख नारायण भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार