आजदेखि दोस्रो संस्करणको इलाम गोल्डकप

इलाम : इलाम सदरमुकाममा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप आज (शनिबार) सुरु हुँदैछ ।

भारतको एक टोली र नेपालका एक विभागीय टोलीसहित आठ टोलीको सहभागिता हुने गोल्डकपको तयारी पूरा भएको आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष याङ्गे योल्मूले बताए । सदरमुकामस्थित ठूलो टुँडीखेलमा हुने गोल्डकको उद्घाटन खेलमा आयोजक रेडहर्ष फुटबल क्लब र काठमाडौंको संकटा फुटबल क्लबबिच खेल हुनेछ ।

इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजकसहित नेपाली सेनाको त्रिभुवन क्लब, काठमाडौंको संकटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज बोइज युनाइटेट, मचिन्द्र फुटबल क्लब, झापाको रेडस्टार क्लब र पाहुना टोलीको रुपमा भारतको जीटीए-११ दार्जिलिङ गरी आठ टोली सहभागी छन् ।

गोल्डकपमा खेल्न विभिन्न टोलीबाट चर्चित खेलाडीसमेत इलाम आउँदैछन् । त्रिभुवन आर्मीबाट भरत खवास, विकेश कुथु, नवयुग श्रेष्ठ र आयुस तिम्सिनासहितका खेलाडी इलाम आउँदैछन् । चर्ज बोइजबाट अनन्त तामाङ, कमल श्रेष्ठ, छिरिङ लामा, इरिक विष्ट, मोहन कार्की, सनिल तामाङ र नेपालका स्ट्राइकर अञ्जान विष्टको खेल दर्शकले हेर्न पाउनेछन् ।

त्यस्तै, मचिन्द्रबाट देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, मनिस डाँगी, सनिस श्रेष्ठ, सुदेश राई, छिरिङ गुरुङ, विशाल घलान, सौरभ लिम्बू, दिवाकर चौधरी, पेमा तामाङ, प्रदीप भण्डारी, विदेशी खेलाडी आला ओलेलगायत आउने आयोजक समिति सदस्य निरोज खड्गीले बताए ।

मङ्सिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपो विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँचलसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई पनि नगद पुरस्कार पाउनेछन् ।

गोल्डकपका लागि ठूलो टुँडीखेलमा दैनिक चार हजार दर्शक अटाउने क्षमताका बाँसको अस्थायी पारापेट निर्माण गरिएको छ । गोल्डकपमा दर्शकका लागि प्रवेश शुल्क रु एक सय तोकिएको छ । सेमिफाइलन खेलमा रु दुई सय र फाइनल खेलमा रु तीन सय तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने नि:शुल्क प्रवेश गर्न पाउने व्यवस्था गरिएको अध्यक्ष योल्मूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार