मान्द्रे, चित्रे र योङहाङ क्वाटरफाइनल प्रवेश

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मान्द्रे एफसी, चित्रे एफसी र योङहाङ एफसी क्वाटरफाइनल प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो खेलमा इभाङ नौ एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरमा पराजित गर्दै मान्द्रे एफसी क्वाटरफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

दोस्रो खेलमा आयोजक बोझोला इन्द्रेणी क्लबलाई ४-३ गोल अन्तरमा रोक्दै चित्रे एफसीले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

त्यसैगरी तेस्रो खेलमा निवाङ्सो क्लबलाई १-० मा पराजित गर्दै योङहाङ एफसीले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । जितसँगै योङहाङ एफसीले सेमीफाइनल प्रवेशका लागि चित्रे एफसीसँगको भेट पक्का गरेको छ ।

प्रतियोगिता अन्तर्गत भोलि (मङ्गलबार) पनि प्रिक्वाटरका तीन खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा हिलिहाङ एफसी महमाई र एलवाईएफसी, दोस्रो खेलमा सृजनशील र इभाङ तीन एफसी तथा अन्तिम खेलमा वरभञ्ज्याङ एफसी र मगर संघसीबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् । स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा जारी प्रतियोगिताको फाइनल कात्तिक २३ गते हुने आयोजक क्लबका सचिव सुरेश योङहाङले जानकारी दिए ।

प्रतियोगिता इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ । प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार