दोहा (कतार) : ०१ नोभेम्बर २०२४ (शुक्रबार) – ईलाम सेवा समाज दोहा कतारका दिदीबहिनीहरुले समाजकै आफनो माईती दाजुभाईहरुलाई सहभागी गराएर तिहार भाईटिकाको परम्परालाई निरन्तरता दिदै चेलीमाईती भेटघाट कार्यक्रमको आयोजना गर्यो ।
समाजका महिला संयोजक रेनु कार्कीको संयोजकत्व र कार्यसमिति सदस्य अन्जु आचार्यको संचालन रहेको कार्यक्रममा ईलामेली दिदीबहिनीहरुले धनधान्यकी देवी लक्ष्मीको पुजाअर्चना गरी कार्यक्रमको आरम्भ गरेका थिए । कार्यक्रम संचालक अन्जु आचार्यको समुहले मन्त्रवाचन र उपाध्यक्ष मन्जु गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा दिदीबहिनीहरुको भैलेनी समुहले भैलो खेलेर कार्यक्रमलाई शोभायमान बनाएका थिए ।
चेलीमाईतीको साईनो आफैमा एक पवित्र साइनो भएकोले आफैमा चेलीमाईतीहरु विच प्रगाढ स्नेह र मानसम्मान रहने हुदा तिहार र विशेष गरी भाईटिका आदनप्रदानले अझ यो सम्बन्धलाई जिवन्त राख्ने बताउदै ईलाम सेवा समाजका अध्यक्ष खडक फागोले ईलामेली चेलीहरुले आयोजना गरेको यस कार्यक्रम मार्फत सवैलाई तिहार र भाईटिकाको शुभकामना दिए ।
चेलीमाईतीको सम्बन्ध भनेको चेलीहरुले माईतीलाई लगाईदिने अनेक थुङगा सयपत्री र मखमलको फुलबाट एउटै पवित्र माला बने झै हो र चेलीहरुले आफना माईतीको दिर्घायु र सफलताको लागी, माईतीहरुले पनि चेलीहरुको सुख समृद्धीको कामना गर्दै भाईटिका मान्ने परम्परा जहाँ नेपाली त्यहाँ निरन्तर रहेको वरिष्ठ उपाध्यक्ष तोरण बस्नेतले बताए ।
कार्यक्रममा चेलीबेटीहरुलाई सुस्वास्थ्य समृद्धीको कामना गर्दै संरक्षक धन बहादुर (रोशन) गहतराजले चेलीमाईती भेटघाटको यो कार्यक्रमले चेलीमाईतीको सम्बन्ध अझ प्रगाढ बनेर जाने र चेलीमाईतीहरुको सुमधुर एकताले अन्तत समाज र संस्थालाई नै बलियो बनाएर लैजाने विचार व्यक्त गर्दै सवै चेलीवेटीहरुलाई शुभकामना दिए ।
समाजका सल्लाहकार याम बहादुर धमला, ईलाम सेवा समाज कतार–ईलाम समन्वय संयोजक अनिल आचार्य, अन्तराष्ट्रिय संयोजक तिलविक्रम थेवे, कोषाध्यक्ष चुडामणी घिमिरे (श्याम) लगायतले शुभकामना दिए ।
युमा साम्यो महासभा कतारका अध्यक्ष प्रेम आङबुहाङ, उपाध्यक्ष घनेन्द्र चेम्जोङ, कार्य समिति सदस्य विष्णु केदेम लगायत अतिथी रहेको सो कार्यक्रममा महासचिव ज्ञानेन्द्र रसाईली र अध्यक्ष खडक फागो, संरक्षक रोशन गहतराज, महिला संयोजक रेनु कार्की, अतिथी प्रेम आङबुहाङ लगायतले उपस्थित दिदीबहिनीहरुलाई माईतीहरुको तर्फबाट संस्थागत रुपमा मायाको चिनो प्रदान गरेका थिए ।
ईलामेली कलाकारहरुको वेजोड सांगितीक प्रस्तुतीले कार्यक्रम थप रोचक बनेको थियो ।
सोही कार्यक्रममा खेलिएको देउसीभैलोबाट उठेको रकम ईलाम सेवा समाज कतारको तर्फबाट ईलाम नगरपालिका वडा नं.९ गोलाखर्कस्थित राहसल बाल–अनाथालयका बालबालिकाहरुलाई खाना खुवाउने र स्टेशनरीका सामाग्रीहरु हस्तान्तरण गरिने संस्थाका महासचिव ज्ञानेन्द्र रसाईलीले जानकारी दिए ।