देउमाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम

  नयाँ बुलन्द
35 Shares

इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरको शिक्षा, युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम :

  • देउमाई नगरपालिकालाई शैक्षिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य अनुरुप हाल भानुभक्त मा.वि., मंगलबारेमा प्राविधिक धार अन्तर्गत सिभिल ईन्जिनियरिङ्ग, जितपुर मा.वि.,जितपुरमा पशुविज्ञान र खान्द्रुङ्ग मा.वि.,पञ्चमीमा विज्ञान संकाय सञ्चालन गरिदै आएकोमा यस आ.व.मा समेत साधन स्रोतको यथोचित व्यवस्थापनलाई निरन्तरता दिने नीति अवलम्बन गरिनेछ।
  • विद्यालय भर्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक नीति लिइने छ।
  • देउमाई नगरभित्रमा रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा सत्र्चालित विद्यालय स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • गरीविका कारणले शिक्षामा पहूँच नहुने अवस्थालाई अन्त्य गर्न विद्यालयहरुमा छात्रवृति कोष कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • शिक्षण सिकाईलाई आधुनिक, समयानुकूल र प्रविधिमैत्री बनाउने नीति लिइनेछ।
  • संघीय सरकार, प्रदेश सरकार र दाताहरुको समन्वयमा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु र मंगलबारे बहुमुखी क्याम्पसको शैक्षिक वातावरण तथा भौतिक पूर्वाधार विकास र स्तरोन्नतीका लागी आवश्यक पहल गरिनेछ।
  • परम्परागत तथा धार्मिक विद्यालयहरुको संरक्षण, प्रवर्धन तथा थप विद्यालय विस्तार गर्ने नीति लिइनेछ।
  • नगर प्रमुख छात्रवृति कोषबाट ईन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छात्रवृति कार्यक्रमलाई निरन्तरता दिइने छ।
  • सिङ्गो देउमाई नगरपालिकाको परिचय आम विद्यार्थीमा पुर्र्याउने लक्ष्य अनुरुप “हाम्रो देउमाई” पाठ्यपुस्तक तयार गरि कक्षा १ देखि ५ सम्म लागू भएसकेको छ।यस आ.व.मा कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक तयार गरी सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा लागू गर्ने नीति लिइनेछ ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निशुल्क वितरण गरिदै आएको स्यानिटरी प्याड वितरण कार्यक्रममा आगामी आ.व.बाट नगर भित्रका सम्पूर्ण संस्थागत विद्यालयहरु तथा मंगलबारे बहुमुखी क्याम्पसका छात्राहरुलाई समेत समावेश गर्ने नीति लिइनेछ।
  • सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्वन गरिनेछ।
  • शैक्षिक उपलब्धिमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय र उत्कृष्ट शिक्षकलाई नगर शिक्षा पदकबाट सम्मान गरिनेछ।
  • Book Free Friday को अवधारणा अनुरुप हरेक शुक्रबार एक क्रियाकलाप, हरेक महिना एक प्रतियोगिता कार्यक्रम मार्फत बालबालिकाको प्रतिभा विकास गर्ने नीति अवलम्बन गरिनेछ।
  • हाम्रो विद्यालय आफै बोल्छ कार्यक्रम अन्तर्गत विद्यालयका अनुकरणीय अभ्यास, शैक्षिक उपलब्धि र अब्बल विद्यार्थीहरुको अभिलेख राखी उजागर गर्ने नीति अवलम्बन गरिनेछ।
  • युवालाई व्यवसायिक एवं उद्यमी बनाउन विभिन्न प्रकारका व्यवसायिक तथा सीपमूलक तालिम प्रदान एवं प्रविधि वितरण गर्न आवश्यक नीति लिइनेछ।
  • “स्वस्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई साकार बनाउन नगर क्षेत्रभित्र विभिन्न स्थानमा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै युवाहरुलाई खेलकुद गतिविधि तर्फ आकर्षित गर्न विभिन्न खेल विधाका नगर, जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने नीति लागू गरिनेछ।
  • नगर स्तरीय अन्तर मा.वि. छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुदै आएकोमा आगामी आ.व.बाट नगर स्तरीय अन्तर आ.वि. (१-८) छात्रा फुटबल प्रतियोगिता समेत सञ्चालन गर्ने नीति लिइनेछ।
  • नगरभित्र सञ्चालन हुने सम्पूर्ण खेल तथा खेलाडीलाई प्रोत्साहन गर्ने नीति लागू गरि यूवालाई लागुपदार्थ दुर्व्यसनबाट टाढा रहन प्रेरित गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार