इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने-जिताउनुस्, विकासको जिम्मा म लिन्छु

  नयाँ बुलन्द
329 Shares

इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा हुने उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई मत दिएर विजयी गराउन मतदाताहरूलाई आग्रह गरेका छन् ।

बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इलामको चौतर्फी विकास र सुवास नेम्वाङको इलाम बनाउने सपना साकार पार्न पनि सुहाङलाई निर्वाचित गर्नुको विकल्प नभएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले इलामवासीले सुहाङलाई जिताए इलामको सिङ्गो विकासका लागि आफू र आफ्नो पार्टी नेकपा एमालेले जिम्मा लिने बताए ।

‘इलामको चौतर्फी विकास नेकपा एमालेले गर्छ । सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्’, ओलीले भने, ‘सुहाङले सम्पत्ति कमाएर थुपार्ने होइन, इलामको विकास गर्ने हो ।’

उनले सुहाङले चुनाव जितेर पैसा कमाउने नभई देश विकास गर्ने पनि बताए । ‘पैसा कमाउने भए यो उकालो ओरालो किन कुद्नुपर्थ्यो, सोफामा बसेर एक दुई वटा मुद्दा हेरेर पनि कमाउन सक्थे’, उनले भने, ‘इलाम बनाउने अभियानलाई पूर्णता दिन भनेर सुहाङ उम्मेदवार बनेका हुन् । सुहाङले हार्दा सुहाङलाई घाटा हुँदैन, इलामलाई हुन्छ ।’

अध्यक्ष ओलीले एमालेले जनतालाई नछक्याउने भन्दै जे भन्छ त्यही गर्ने पनि बताए । ‘हामी छक्कयाउन आएका होइनौ, मैले ५९ वर्षदेखि राजनीति गरेको । टुप्पामा बसेर राजनीति गर्नेले कुनै लोभ गर्नुहुँदैन’, उनले भने, ‘म बसेको घर म र मेरो श्रीमती बाचुन्जेल बस्छौ त्यसपछि त्यो घर राज्यको हुन्छ ।’

कार्यक्रममा उम्मेदवार सुहाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताए । उनले अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुनेमा जोड दिए ।

उनले इन्द्रेणी जस्तो समाजलाई अझ राम्रो बनाउन सामाजिक सम्बन्ध राम्रो हुनु पर्ने भन्दै सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएको बताए ।  ‘यो समस्या समाधान गर्न पनि सबै एक हुनु पर्छ’, नेम्वाङको भनाइ छ ।

आफूलाई लगाएको मालामा जनताको रौनक र खुसी भए पनि आफू भने भावुक भएको सुनाउँदै उनले इलामको विकासमा आफ्ना बुवा सुभाषचन्द्र नेम्बाङले गरेको विकास स्मरण गर्दै जनताका सामु पुग्दा उनीहरूका आँखामा आँसु देखेको बताए ।

-रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार