नयाँ वर्षको शुभकामना

  नयाँ बुलन्द
56 Shares

आज विक्रम् संवत २०८१ सालको पहिलो दिन । २०८० लाई विदाइ गर्दै आज शनिबारदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको भव्य स्वागत गरिंदैछ ।

विक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ  ।

वि.स. अङ्ग्रेजी पात्रोभन्दा झण्डै ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् ।

नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ । आजको दिन राम्रो कामको थालनी गरे वर्षैभरी राम्रो हुने जनविश्वास छ । त्यही जनविश्वसका आधारमा आज विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने, आफन्तहरुसँग भेटघाट र रमाईलो गर्ने, विभिन्न कार्यक्रमहरुमा सहभागी भई मनोरञ्जन लिने गरिन्छ ।

नयाँ वर्षलाई अवसरमा पारेर देशैभरी विभिन्न कार्यक्रमको आयोजना भईरहेको छ । रमाइलो सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु तय भएका छन् । गाउँगाउँमा फूटबल, भविबल लगायत विभिन्न खेलहरू सञ्चालन सुरु भएका छन् ।

शुभकामनाका आवाज अघिल्लो हप्तादेखि नै गुञ्जन थालेका छन् । सामाजिक सञ्जालका वालहरु नयाँ वर्षको शुभकामनाहरुले भरिएका छन् । यसरी नयाँ वर्षलाई जताजतै स्वागत गरिएको छ । शुभकामना आदानप्रदान गरेर नयाँ वर्षको थालनी गएिको छ ।।

यसै अवसरमा हामी पनि हाम्रा सम्पूर्ण पाठक वर्ग, संवाददता, विज्ञापनदाता, सुभचिन्तक, सुभेच्छुकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्षले नयाँ जोस, जाँगर र उमङ्ग प्रदान गरुन् । सबैमा शुभकामना…..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार