विदेशमा अलपत्र परेकाहरुको सहयोगी बन्दै सामी कार्यक्रम

बुधबार इलाम सदरमुकाममा आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्बन्धी पत्रकारहरुसँको अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरु

इलाम : इलाम नगरपालिका-१२ साङ्गरुम्बाका पूर्णबहादुर लिम्बूको गत साउन २ गते ४२ वर्षको उमेरमा साउदी अरेबियामा निधन भयो । उनको शव विदेशमा अलपत्र भयो । शव ल्याउन पूर्णबहादुरका भाई छबि लिम्बूले एक सातासम्म निक्कै पहल गरे, तर सम्भव भएन ।

जब छबिको सम्पर्क इलाममा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसँग भयो, तब एक सातामा नै शव घर आइपुग्यो । त्यसका लागि सामीले जिल्ला प्रशासन कार्यालयमार्फत वैदेशिक रोजगार विभाग र अन्य निकायमा पहल गरेको थियो ।

‘मेरो दाजुको शव ल्याउन आफैंले गरेको पहल सफल नभएपछि सामीको सम्पर्कमा पुगेँ, उहाँहरुको पहलमा एक सातामा नै शव घरमा आइपुग्यो’ बुधबार इलाममा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा छबिले भने, ‘सामीकै पहलमा मेरो दाजुको परिवारका लागि २६ लाख रुपैयाँ क्षतिपूर्ति समेत उपलब्ध भयो ।’

उनले आफ्नो दाजु पूर्णबहादुरको परिवारलाई बिमा कम्पनीबाट १४ लाख, वैदेशिक रोजगार बोर्डबाट सात लाख र साउदी अरेबियाको कामदार कम्पनीबाट पाँच लाख रुपैयाँ गरी २६ लाख रुपैयाँ उपलब्ध भएको जानकारी दिए । विदामा घर आएर अघिल्लो माघमा मात्र साउदी फर्किएका पूर्णबहादुरको सात महिनापछि हृदयघातबाट निधन भएको भाई छबिले बताए ।

उता वैदेशिक रोजगारीका क्रममा दुबै पुग्नुभएका इलाम नगरपालिका-१ साँखेजुङका रामचन्द्र रसाइली गतवर्षको दशैंमा परिवारको सम्पर्कबाट वेपत्ता भए । घरमा दशैंखर्च पठाइदिन्छु भनेर श्रीमती कमला रासइलीलाई फोन गरी रामचन्द्र सम्पर्कविहीन भए । तर घरमा पैसा मात्र होइन, फोन समेत नआएपछि कमलालाई छाँगाबाट खसेझैं भयो । उनले आफ्नो श्रीमानसँग सम्पर्क गर्न थुप्रै प्रयास गरिन् तर पत्ता लाग्न सकेन ।

अन्तत: कमलाको सम्पर्क सामीसँग भयो, सामीको निरन्तर पहलपछि झण्डै ६ महिनापछि रामचन्द्र स्वदेश फर्कन सफल भए। ‘मेरो श्रीमान् काम गर्दै गरेको कम्पनीमा काम सकिएपछि त्यहाँबाट अर्कै कम्पनीमा जानुभएको रहेछ,’ कमलाले भनिन्, ‘दलालमार्फत विदेश जानुभएकाले आउन त्यति सहज थिएन, सामीसँगको सम्पर्कपछि सामीको निरन्तर प्रयासपछि उहाँ (श्रीमान) सकुशल घर फर्किन सफल हुनुभयो ।’

सामीले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा इलाम नगरपालिका-८ मदनकुमार मगरको झापाको विर्तामोडस्थित डायमण्ड मेनपावर कम्पनीले २ वर्षदेखि नियन्त्रणमा लिएको राहदानी र एक लाख रुपैयाँ समेत फिर्ता गराएको छ । ‘पोल्याण्ड पठाइदिन्छु भन्दै २ वर्षदेखि मेरो राहदानी र रु एक लाख पेश्की लिएको डायमण्ड मेनपावरलाई पटकपटक माग्दा समेत दिएको थिएन, तर सामीमा उजुरी गरेपछि एक सातामा नै फिर्ता पाइयो’ मगरले भने ।

यसरी वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या झेल्न बाध्य भएकाहरुको उद्धारका लागि समीले निरन्तर पहल गरिरहेको छ । विदेशमा अलपत्र परेका, मृत्यू भएका, बेसाहार भएकालगायत विभिन्न समस्यामा परेका नेपालीहरुलाई सामीले घरसम्म ल्याउन पैरवी गर्दै आएको छ । सामीको उस्तो प्रयासबाट श्रम बेच्न विदेशी भूमिमा गएका नेपालीहरुले राहत महसुस गर्न थालेका छन् ।

जिल्लाको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । यसअघि विगत ४ वर्ष सुरक्षित आप्रवासन (सामी) परियोजनाको नाममा सञ्चालन भएपनि विगत २ वर्षदेखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको नाममा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रमले विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्शलगायतको काम समेत गर्दै आएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पछिल्लो आठ महिनामा इलामबाट छ हजार तीन सय ३८ जना व्यक्तिहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष २०८०।०८१ को साउनदेखि फागुन मसान्तसम्मको तथ्याङ्कमा सबैभन्दा धेरै फागुनमा आठ सय ९४ जना वैदेशिक रोजगारीमा गएको रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार