कोशीमा मिडियाको उतारचढाव

अर्थतन्त्रमा आएको समस्याले विज्ञापन बजार प्रभावित भएको छ । पहिलेजस्तो मिडियाबाट आफ्नो उत्पादनको विज्ञापन दिएर बजार विस्तार गर्ने अवस्थामा निजी क्षेत्रसमेत छैन । धेरै मिडियामा यसैको असर परेको छ । पछिल्लो समय खुलेका धेरै मिडियालाई अहिलेको विज्ञापन बजारले धान्न सकेको छैन । फलस्वरूप धेरै मिडिया बन्द हुने अवस्थामा पुगेका छन् ।

नेपालमा मिडियाको इतिहास १ सय ३० वर्षभन्दा बढीको छ । एक शतकभन्दा लामो समय पार गरेको नेपाली मिडिया क्षेत्रले संख्यात्मक दृष्टकोणले होस् वा प्रविधि, लगानी, गुणस्तर, बजार विस्तार वा पहुँच विविधता आदि धेरै हिसाबमा ठूलो फड्को मारेको छ ।

नेपालमा राणाशासन, पञ्चायती व्यवस्थामा मिडियाको त्यतिविधि विकास र विस्तार भएको पाइँदैन । त्यतिबेलाका शासनसत्ताले मिडियालाई एक हिसाबको बन्देज नै लगाएका थिए । खुल्लमखुला केही लेख्न नपाइने, लेखेमा जेलनेल हुने अवस्था पनि थियो । देशमा राजनीतिक व्यवस्था र शासन प्रणालीमा पटकपटक धेरै परिवर्तन आएका छन् । २००७ साल, २०१६ साल, २०३६ साल, २०४७ साल, २०६२/०६३ सालको जनआन्दोलनको बलमा २०७२ सालमा जारी भएको नयाँ संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिएको छ । संवैधानिक अधिकारको उपयोग गर्दै नेपालमा मिडिया उद्योग खुल्ने र वृद्धि विकास हुने क्रम जारी छ ।

पछिल्लो समय मूलधारका ठूला भनिएका मिडिया हाउसहरू समेत संकटमा परेका बेला कोशी प्रदेशका स्वरोजगारमूलक स्थानीय मिडिया हाउसहरू झनै संकटमा छन् । देशमा प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कोशी प्रदेशका मिडियाहरू अहिले महासंकटमा पुगेका छन् ।

कोशी प्रदेशमा पनि मिडियाको इतिहास नेपाली मिडियाको तुलनामा कमको छैन । २००७ सालको जनक्रान्तिसँगै भोजपुरबाट सुरु भएको नेपाल रेडियो हालको ‘रेडियो नेपाल’ नै कोशी प्रदेशको पहिलो मिडिया हो । छापातर्फ भने समाचारमूलक सामग्री समेटिएको कोशी प्रदेशको पहिलो मिडिया २०१२ सालमा विराटनगरबाट प्रकाशन भएको थियो । ‘हुरी’ साप्ताहिकबाट सुरु भएको कोशीको अखबारको विस्तार आज पनि निरन्तर छ । पत्रकारिता क्षेत्रमा सक्रिय जनशक्ति पनि दिनप्रतिदिन बढ्दै गएको छ । अहिले कोशी प्रदेशमा १ सय ३८ वटा छापा माध्यमका पत्रपत्रिका नियमित प्रकाशन भइरहेका छन् । सबैभन्दा धेरै झापाबाट ३६ वटा र सबैभन्दा थोरै भोजपुर र ओखलढुंगाबाट एक÷एक वटा छापा माध्यमका पत्रपत्रिका नियमित प्रकाशन हुँदै आएका छन् । सोलुखुम्बुबाट भने कुनै पनि पत्रपत्रिका प्रकाशन भएको छैन । अन्य जिल्ला सुनसरी २७, मोरङ २५, उदयपुर २०, खोटाङ आठ, धनकुटा पाँच, संखुवासभा र इलाम चार÷चार, पाँचथर तीन, ताप्लेजुङ र तेह्रथुमबाट दुई÷दुई वटा पत्रपत्रिका नियमित प्रकाशन हुँदै आएका छन् । कोशी प्रदेशमा ९९ वटा दैनिक, ३ सय ३७ वटा साप्ताहिक, २७ वटा मासिक गरी ४ सय ६३ वटा छापा माध्यमका पत्रपत्रिका दर्ता भएको तथ्यांक छ । नियमित प्रकाशनमा नरहेका पत्रपत्रिका कतिपय बन्द भइसकेका छन् भने कतिपयको प्रकाशन स्थगित छ ।

रेडियो पत्रकारिताले पनि कोशी प्रदेशमा उत्तिकै ठूलो फड्को मारेको छ । अहिले कोशी प्रदेशमा सरकारी रेडियोको रूपमा रेडियो नेपालको प्रादेशिक प्रसारण धनकुटा छ भने निजी एफएम रेडियोको पहुँच प्रदेशका सबै क्षेत्रमा पुगेको छ । एउटै जिल्लामा दर्जनौँ एफएम रेडियो खुलेका छन् । स्थानीय नागरिकलाई सूचना, समाचार, मनोरञ्जन प्रदान गर्ने कार्यमा अहिले प्रदेशभर १ सय २० वटा दर्ता भएका छन् । जसमध्ये नियमित रूपमा सञ्चालनमा रहेका एफएम रेडियो १ सय ५ वटा रहेका छन् । कोशीमा सबैभन्दा धरै एफएम रेडियो मोरङ र सुनसरी जिल्लामा १७÷१७ वटा छन् भने सबैभन्दा कम ताप्लेजुङ, भोजपुर, ओखलढुंगामा र खोटाङमा तीन÷तीन वटा छन् । अन्य जिल्ला झापामा १६, संखुवासभा र उदयपुरमा आठ÷आठ, पाँचथरमा सात, इलाममा ६, धनकुटा ६, तेह्रथुम र सोलुखुम्बुमा चार एफएम रेडियोहरू स्थापना भएका छन् । सुन्दै काम गर्दै गर्न सकिने, पढ्न नजान्नेहरूका लागि पनि रेडियो सजिलो सञ्चारमाध्यम भएको छ । अहिले रेडियोबाट हरेक क्षण समाचार सम्प्रेषण भइरहेको हामी पाउँछौँ, कहीँ कतै कुनै प्रकारका घटना भएका ब्रेकिङ न्युज दिएर स्कुप मार्ने कार्यमा स्थानीय एफएम रेडियोहरू लागिपरेका छन् । नेपाली पत्रकारितामा प्रसारण माध्यमको विशेष भूमिका छ । कोशी प्रदेशमा १ सय २० वटा एफएम रेडियो दर्ता भएको तथ्यांक छ । प्रसारणमा नरहेका १५ वटा एफएम रेडियो बन्द भएका छन् ।

नेपालमा २०४२ सालबाट सुरु भएको टेलिभिजन पत्रकारिताले पनि कोशीमा यतिबेला छलाङ मारेको छ । अहिले कोशीमा सरकारी टेलिभिजनका रूपमा नेपाल टेलिभिजन इटहरी च्यानल (एनटिभी इटहरी) छ भने निजी क्षेत्रमा ६ वटा टेलिभिजन सञ्चालनमा छन् । सुनसरीबाट चार, झापाबाट दुई र मोरङबाट एक वटा टेलिभिजन सञ्चालन भइरहेको छ । सुनसरीबाट एनटिभी इटहरीसहित कृति टेलिभिजन, विराट टेलिभिजन र एरिना टेलिभिजन, झापाबाट सूर्योदय टेलिभिजन र हिमशिखर टेलिभिजन एवं मोरङबाट मकालु टेलिभिजन सञ्चालनमा छ । छापा, रेडियोको तुलनामा श्रव्य र दृश्य दुवै माध्यमको पत्रकारिताका लागि टेलिभिजन लोकप्रिय बन्न पुगेको छ । टेलिभिजनहरूले अहिले मल्टिमिडिया पत्रकारिताको भूमिका निर्वाह गरिरहेका छन् ।

पछिल्लो समय न्यू मिडियाका रूपमा लोकप्रियता पाइरहेको अनलाइन मिडिया पनि संख्यात्मक रूपमा वृद्घि भइरहेका छन् । संख्या बढ्नु मात्र ठूलो होइन, केही राम्रा अनलाइन मिडियाको पत्रकारिताले नागरिकलाई क्षणभरमै सूचनाको भोक मेटाइरहेका छन् । कोशी प्रदेशमा १ सय ८० वटा अनलाइन मिडिया नियमित सञ्चालनमा छन् । सबैभन्दा धेरै झापाबाट ४८ र सबैभन्दा कम धनकुटा र तेह्रथुमबाट दुई÷दुई वटा अनलाइन मिडिया नियमित नियमित सञ्चालनमा छन् । अन्य जिल्ला सुनसरीबाट २८, मोरङबाट २७, उदयपुरबाट १९, खोटाङबाट १२, इलाम र भोजपुरबाट आठ÷आठ, ताप्लेजुङबाट सात, पाँचथरबाट ६, संखुवासभा र सोलुखुम्बुबाट पाँच÷पाँच र ओखलढुंगाबाट तीन वटा अनलाइन सञ्चारमाध्य नियमित सञ्चालनमा छन् । कोशी प्रदेशमा दुई सयभन्दा बढी अनलाइन सञ्चारमाध्यम दर्ता भए पनि अन्य बन्द छन् ।

आज पनि कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाहरूमा मिडियाको उपस्थिति सशक्त रहेको छ । टेलिभिजन, एफएम रेडियो, पत्रपत्रिका, अनलाइन आदि मिडियाहरूले सशक्त रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । अधिकांश मिडियाहरू श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेका मिडिया छन् । तैपनि मिडियाको विश्वसनीयता, व्यावसायिकता र गुणस्तरमाथि भने अहिले पनि प्रशस्त प्रश्नहरू उठ्ने गरेका छन् । यस क्षेत्रमा नयाँ ढंगका समस्याहरू थपिने क्रम पनि जारी छ । पत्रकारिता क्षेत्रमा कार्यशील जनशक्तिको स्थायित्व, विकास, न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र आदि विभिन्न खाले समस्याहरू छन् । जुन समस्याबाट कोशी प्रदेशका मिडिया र मिडियाकर्मीहरू पनि प्रभावित हुँदै आएका छन् । जसलाई नेपाली मिडियाको चुनौतीको रूपमा लिएर समाधानका पहलहरू अगाडि बढाउनुपर्ने जिम्मेवारी नेपाली पत्रकार, मिडिया सञ्चालक र तीनै तहका सरकारहरूको काँधमा छ ।

कोशी प्रदेश सरकारले मिडिया क्षेत्रलाई महत्वका साथ लिँदै यातायात तथा सञ्चार मन्त्रालय गठन गरेर यो क्षेत्रलाई व्यवस्थित गर्नेतर्फ गम्भीरता देखाएको थियो । तर, मन्त्रालय टुक्राउने र गाभ्ने बहानामा हाल सो मन्त्रालय नै छैन । हाल आन्तरिक तथा कानुन मन्त्रालयबाट मिडियासम्बन्धी काम हुँदै आएको छ ।

कोशी प्रदेशका अधिकांश मिडियाहरू स्वरोजगारमूलक हुन् । पछिल्लो समय मूलधारका ठूला भनिएका मिडिया हाउसहरू समेत संकटमा परेका बेला कोशी प्रदेशका स्वरोजगारमूलक स्थानीय मिडिया हाउसहरू झनै संकटमा छन् । देशमा प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कोशी प्रदेशका मिडियाहरू अहिले महासंकटमा पुगेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ संक्रमण, विश्व लकडाउनको अवस्थापछि उत्पन्न आर्थिक संकटले कोशी प्रदेशको मिडिया उद्योग अछुतो रहन सकेको छैन । प्रदेश राजधानी विराटनगरसहित अन्य जिल्ला र स्थानीय तहमा खुलेका पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो र अनलाइनले आआफ्नै स्तरको संकट सामना गरिरहेका छन् । यहाँ मिडियाहरूमा मालिक पत्रकार र कामदार पत्रकार छन् । पत्रकारितालाई उद्योगका रूपमा सञ्चालन गर्ने मिडियाले आफ्ना कामदारलाई श्रमशोषण गरिरहेको स्थिति एकातिर छ । अर्कातिर आफैँ मालिक र आफैँ कामदार पत्रकार हुनुपरेको स्थिति छ । थोरै पुँजी लगानी गरेर आफ्नो मिडियालाई स्थायित्व दिन समस्या छ । किनकि विज्ञापनको बजार कम छ, भएका पनि ठूला मिडियाको एकछत्र प्रभाव छ । जसले मोफसलमा बसेर ग्रामीण पत्रकारिता गरिरहेको हुन्छ, खोज पत्रकारिता गरिरहेको हुन्छ त्यस्ता मिडियाहरू आर्थिक रूपमा समस्यामा छन् । उनीहरूले चाहेर पनि आवश्यक सेवा सुविधाहरू दिन सकिरहेका छैनन् ।

सरकारको ऐन, कानुन, नीति, नियम, निर्देशिका र कार्यविधिको प्राथमिकतामा नपरेका कारण यहाँका कतिपय मिडियाहरू बन्द हुने अवस्थामा पुगेका छन् । मिडिया उद्यमलाई व्यावसायिक, दिगो, भरपर्दो र स्थायित्व बनाउन आवश्यक छ । मिडियामा आबद्ध हुने पत्रकार तथा कर्मचारीलाई पारिश्रमिक दिनका लागि त्यसले आम्दानी गर्नुपर्छ । मिडियामा आउने आम्दानीका प्रमुख स्रोत विज्ञापन बजार हो । व्यक्तिगत, निजी क्षेत्र र सरकारी तहबाट गरी आउने विभिन्न विज्ञापन नै मिडिया उद्योगको प्रमुख आयस्रोत हो ।

मिडिया उद्योगलाई प्रवद्र्धन, स्थायित्व र विकासमा कुनै प्रस्ट ऐन, कानुन, नीति नै आउन सकेको छैन । संविधानले दिएको अधिकार र राजनीतिक परिवर्तनका घटना क्रमले नेपालमा प्रिन्ट मिडिया र इलेक्ट्रोनिक टेलिभिजन, एफएम रेडियो, अनलाइनको विकास र विस्तार व्यापक रूपमा भएको मानिन्छ । छापा तथा विद्युतीय सञ्चारमाध्यम खुल्ने र बन्द हुने क्रम जारी छ तर विज्ञापनको बजार भने खुम्चिँदै गएको छ । २०७२ सालमा भूकम्पका कारण खस्किएको विज्ञापन बजार कोरोना कालपछि निकै तल झरेको छ । जसको ठूलो मार अरूलाई भन्दा पनि मिडियालाई परेको छ । अर्थतन्त्रमा आएको समस्याले विज्ञापन बजार प्रभावित भएको छ । पहिले जस्तो मिडियाबाट आफ्नो उत्पादनको विज्ञापन दिएर बजार विस्तार गर्ने अवस्थामा निजी क्षेत्रसमेत छैन । धेरै मिडियामा यसैको असर परेको छ । पछिल्लो समय खुलेका धेरै मिडियालाई अहिलेको विज्ञापन बजारले धान्न सकेको छैन । फलस्वरूप धेरै मिडिया बन्द हुने अवस्थामा पुगेका छन् । कतिपय मिडियाले अहिले पनि कर्मचारी तथा पत्रकार कटौती गरिरहेका छन् । कोरोना संक्रमण र त्यसले निम्त्याएको लकडाउनपछि पनि सरकारका तर्फबाट मिडियालाई बलियो बनाउने योजना सार्वजनिक हुन सकेन । मिडिया उद्योग बचाउने र यसमा आश्रित जनशक्तिलाई जोगाउने दायित्व सरकारको पनि हो । अझ स्वरोजगार मिडियालाई बचाउने तत्परता त झन् छिटो देखाउनुपर्ने हो । तर, सरकारमा त्यो तत्परता भने देखिएको छैन ।

विज्ञापन बजारको अभाव, जनशक्तिको समस्या र राज्यका नीतिका कारण मिडिया उद्योग समस्यामा पर्दै गएको छ । निजी उद्योगले जति सहुलियत र सुविधा मिडिया उद्योगले पाउन सकेका छैनन् । लोककल्याणकारी विज्ञापन प्रकाशित गरेबापतको भुक्तानीसमेत छापा माध्यमका पत्रपत्रिकाले समयममा पाउन सकेका छैनन् । प्रेस काउन्सिलले समयमै पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी नजिता सार्वजनिक गरेको छैन  । अनलाइन मिडियालाई त झन् लोककल्याणकारी विज्ञापन दिने प्रावधान नै लागू भएको छैन ।

सरकारी स्तरबाट मिडिया बचाउन चाल्नुपर्ने समयसापेक्ष कदमहरू नचालिँदा मिडिया फस्टाउन सक्ने अवस्था छैन । मिडियालाई उत्प्रेरित गर्न र पत्रकारको उचित मूल्यांकन गरी उनीहरूको सीप र क्षमता बढाउन सरकारले आर्थिकसहितको योजना ल्याउनुपर्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मिडियाको दिगो विकासका लागि सरकारले नीतिगत व्यवस्थामा पनि परिमार्जन गर्नुपर्छ । स्थानीय स्तरको विज्ञापन स्थानीय मिडियालाई हुनेगरी नीति बनाइनुपर्छ भने राष्ट्रिय स्तरको मिडियालाई प्रवद्र्धन गर्ने गरी समानुपातिक विज्ञापन नीति कार्यान्वयनमा ल्याइनुपर्छ । यसका साथै मिडियालाई अन्य सहुलियत दिनेतर्फसमेत सरकार जिम्मेवार बन्नुपर्छ । मिडिया हाउसलाई विद्युत् महसुलमा छुट, लोककल्याणकारी विज्ञापन बापतको रकममा दोब्बर वृद्धि, अनलाइन मिडियालाई समेत लोक कल्याणकारी विज्ञापन, मिडिया हाउसलाई आवश्यक उपकरण खरिद गर्न सहुलियत, पत्रकारलाई लेखनवृत्तिलगायतको सुविधा दिनुपर्छ । यसका लागि नीतिगत सुधार गर्न राज्य तत्पर बन्नुपर्दछ ।

विज्ञापन सोसल मिडियाले तानेपछि मिडिया संकटमा – डा. देवी क्षेत्री दुलाल, इलाम

डा. देवी क्षेत्री दुलाल, इलाम

पहिलेको तुलनामा अहिलेको पत्रकारितामा व्यापक परिवर्तन छ । प्रविधिमा पहुँचको विकाससँगै अहिलेका मिडियामा विधागत र विषयगत रूपमा जानकार पत्रकारहरू छन् । पहिले प्रिन्ट मिडिया मात्र थियो । इलेक्ट्रोनिक मिडियाका रूपमा रेडियो नेपाल र नेपाल टेलिभिजन मात्र थियो, पछि विस्तारै एफएम रेडियोहरू आउन थाले । त्यसपछि क्रमशः प्रविधि र विषगत पत्रकारिताको विकास धेरै भएको छ । प्रविधिको दृष्टिकोणले अहिलेको पत्रकारिता राम्रो छ । तर, पत्रकारितामा हुनुपर्ने विश्वासनीयता र खोज पत्रकारिताको दृष्टिले हेर्दा केही समस्या छ । अहिले मिहिनेत र खोज पत्रकारितामा अभाव खड्किएको देखिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जाल मिडियाको थप चुनौती बनेको छ । विश्वव्यापी सूचना तत्काल पाउन सक्छौँ, तर त्यसको विश्लेषण पक्ष कम छ । हिजोका मिडिया र पत्रकार मिहिनेती थिए, आजको मिडिया र पत्रकार अल्छे छन् भन्ने कुरा पनि आइरहेका छन् । आजको पत्रकारितामा जसरी विकास भइरहेको छ, अवसरसँगै चुनौतीहरू पनि छन् । सारमा भन्दा आजको पत्रकारितालाई अझ विश्वसनीय कसरी बनाउने भन्ने समीक्षा गर्न आवश्यक छ ।

अहिलेका मिडियाहरू संकटमा छ । प्रिन्ट मिडिया महासंकटमा छ, इलेक्ट्रोनिक मिडिया संकटमा छ । विज्ञापन बजार खस्किएको छ । विज्ञापन खस्किएपछि मिडियाहरू पनि खस्किएका छन् । प्रिन्ट मिडियाहरूले पृष्ठ संख्या र छपाइ संख्या घटाउन बाध्य भएका छन् । कतिपय प्रिन्ट मिडिया त बजारमा आउँदैनन्, केवल प्रेस काउन्सिलमा बुझाउन मात्र छपाई गर्ने गरेका छन् । पछिल्लो समय विज्ञापनहरू सोसल मिडियाले तानेका कारणले पनि मिडिया क्षेत्र संकटमा छ ।

मिडिया क्षेत्रमा देखिएको संकट समाधानका लागि सरकार गम्भीर बन्नुपर्दछ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले मोफसलमा स्थापना भएर सञ्चालित मिडियाहरूलाई कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा सोच्न जरुरी छ । साथै राजनीतिक निकायबाट, नीति निर्माण गर्ने तहबाट मिडिया प्रवद्र्धन गर्ने नीति बनाउन जरुरी छ ।

(डा.दुलाल आँखा म्याजिन इलामका प्रकाशक–सम्पादक हुन् )

पत्रकारहरू पलायन भएका छन् – गञ्जबहादुर दाहाल, झापा

गञ्जबहादुर दाहाल, झापा

अहिले देश नै संकटमा छ । अर्थतन्त्र डामाडोल छ । यस्तो अवस्थामा मिडिया क्षेत्र झनै संकटग्रस्त छ । कोशी प्रदेशका कतिपय मिडिया बन्द भइसकेका छन्, कतिपय बन्द हुने स्थितिमा छन् । मिडियाले श्रमजीवीहरूलाई न्यूनतम पारिश्रमिक दिन सकिरहेका छैनन् । त्यसैले धेरै पत्रकारहरू पत्रकारिताबाट नै पलायन भएका छन् ।

पहिलो कुरा कोरोना कालपछि निजी व्यवसाय फस्टाएका छैनन्, व्यवसाय नफस्टाएपछि विज्ञापन आउँदैन । मिडियाको आम्दानीको मुख्य स्रोत विज्ञापन नै नआएपछि मिडिया संकटमा परेको हो । मिडिया सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न सामग्रीको मूल्य दिनदिनै बढ्दो छ, विज्ञापनको बजार दिनदिनै घट्दो । दोस्रो कुरा मोफसलबाट सञ्चालित मिडियाहरू राज्यबाटै विभेदमा छन् । राज्यबाट नै अपहेलित छन् । खासगरी सरकारी विज्ञापन स्थानीय मिडियालाई नै दिनुपर्छ भन्ने नेपाल पत्रकार महासंघसहित मिडियाहरूको माग छ । तर दिँदैन, राजधानीबाट प्रकाशन हुने मिडियामा जान्छ । त्यो विज्ञापन स्थानीय मिडियाले पाउने भने त स्थानीय मिडिया चल्न समस्या नै हुँदैनथ्यो । त्यस्तै प्रेस काउन्सिलको वर्गीकरणमा समेत विभेद छ । वस्तुगत र वैज्ञानिक रूपमा मूल्यांकन हुने गरेको छैन ।

तसर्थ सबैभन्दा पहिले राज्य गम्भीर बन्नुपर्छ । राज्यबाट सबै क्षेत्रका मिडियालाई समान दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्नुपर्छ । विज्ञापन मिडियाको अधिकार हो । स्थानीय विज्ञापन स्थानीय मिडियालाई दिने नीति लागू गर्नुपर्दछ । मिडिया हाउसहरूले पनि आफू जिम्मेवार हुँदै अघि बढ्नुपर्छ । पाठक, श्रोता र दर्शकको विश्वास जित्नुपर्छ । निष्पक्ष, सन्तुलित र विश्वसनीय सामग्री उत्पादन र प्रकाशन प्रसारण गर्न जिम्मेवार बन्नुपर्छ ।

(दाहाल पूर्व सन्देश दैनिक झापाका प्रकाशक–प्रधानसम्पादक हुन्)

-सौर्य दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार