लिम्बू पत्र-पत्रिकाको इतिहासमा कोमदेखि तुम्दुमदो हेनासम्म    

  विरही काइँला
2.1k Shares

पृष्ठभूमि  

लिम्बुको जिब्रोले उच्चारण गरिने ध्वनि चिन्हलाई लिम्बु लिपि भनिन्छ । यो लिपि ब्राह्रमी लिपिबाट विकशित भएको ठहर छ । लिम्बु लिपि सिरिजङ्गा(सिलिचङ्का) सिंगथेबेले प्रचार गरेको पाइन्छ । यसैकारण यो लिपिलाई सिरिजङ्गा लिपि पनि भनिन्छ । लिम्बु लिपि प्रचार गरेको अभियोगमा सिरिजङ्गालाई सुखिमका ठासाङ लामाहरूले हत्या गरेका थिए । हजसनद्वारा सङकलन गरिएको लिम्बु पुस्तक र जोभानसिँह फागोलाई लेख्न लगाएको मुन्धुमसँग सिरिजङ्गाले प्रचार गरेको लिपिमा भिन्नता पाइन्दैन । यो लिपिलाई लालशोर सेन्दाङले पनि सुखिम र कालेबुङमा प्रचार गरेका थिए । सुखिममा यो लिपिको अस्तित्व सुन्य रहयो भने कालेबुङमा कप्तान कैनवीर लिम्बु, जीवन दास राई,निर्मल लिम्बु आदिले यो लिपि सिकेर एक दुई वटा पुस्तकहरु लेखेका छन ।

मिवा खोला निवासी सुबेदार बाजवीर सुब्बा(थलङ)ले यो लिपिलाई सुधार मात्र गरेनन् अपुग अक्षरहरू समेत थपेका थिए । का खा गा उच्चारण गरिने पुरानो नियमलाई परिवर्तन गरेर क ख ग भनेर पढ्नु पर्ने ब्याकरणको नियम समेत बनाए । सन् १९२८ मा कालेबुङको याक्थुङ चुम्लुङको आग्रहमा सुबेदार बाजवीर सब्बाले तुम निङवाफु साप्ला प्रकाशित गरेका थिए । यो नै लिम्बु लिपिमा प्रकाशित प्रथम पाठ्य पुस्तक हो । अ आम्मा आ, इक्सु उ, क आम्मा का, क तुम्मौ को, भनेर लिम्बुको स्वरबर्ण र ब्यञ्जनबर्ण पढ्ने पद्तिको विकाश बाजवीर सुब्बा (थलङ)-ले गरेका हुन । ईमामसिंह चेम्जोंगले पनि  लालशोरले पढाएको का खा छोडेर सुबेदार बाजवीर सुब्बा(थलङ)-ले चलाएको क ख को ब्याकरणीय नियमलाई पालन गर्दै उनीसित मिलेर सन् १९३१ मा निसिगेक याक्थुङ साप्ला निकाले भने सिरिजङ्गा मुन्धुम साप्ला लेखेका छन् । सत्यहाङ पन्थका महागुरु फाल्गुनन्द लिङदेनले पनि आफ्ना चेलाहरुलाई सुबेदार बाजवीर सुब्बा (थलङ)को तुम याक्थुङ निङवाफु साप्ला पढेर पन्थका पुस्तकहरु लेख्न लगाएका थिए । आज हामीले सिरिजङ्गा लिपि भन्दै आएको लिम्बु लिपि वास्तवमा बाजवीर सुब्बा(थलङ)ले सुधार गरेको लिम्बु लिपि हो ।

कोम 

अगस्त १९६७ मा चोक बजार दार्जीलिङबाट विरही काइँलाको सम्पादनमा कोम नामक साहित्यिक पत्रिका लिथोमा प्रकाशित भयो । सुबेदार बाजवीर थलङले सुधार गरेको लिम्बु लिपिमा एकै अङ्क प्रकाशित कोममा सेवाहाङ नेम्बाङको “माङहुप” सुरथदिल नेम्बाङको खोजपूर्ण लेख “याक्थुङ यक केगोबा” प्रकाशित भएको पाइन्छ । यसरी नै रनधोज(रन्साङ) नेम्बाङको “ओम” विरही काइँलाको “आनिङवा” कविता पनि यसै अङ्कमा प्रकाशित भएको छ । आजसम्मको खोज अनुसार “कोम”-लाई लिम्बु पत्र-पत्रिकाको इतिहासमा जेठो पत्रिका मानिन्छ ।

त्यसताक लिम्बु भाषाको समुचित विकास वा यस भाषामा शिक्षा दिने काम चाहिँ भएको थिएन । आफ्नो भाषालाई जीवित राख्न औ लिपिको प्रचार प्रसार गर्ने ब्यक्तिगत प्रयत्न सँगसँगै लिम्बुहरुले सरकार समक्ष मातृभाषामा पढ्न पाउँ भनी निवेदन गर्दै आइरहेका थिए । नेपालमा यो सम्भव हुदैन भन्ने कुरा नेपाल सरकारको शिक्षा विभाग(अंग्रेजी फाँट,संकेत संख्या ३०८७/ ०७ ईअ)- ले मिति २९.३.०७ मा जमदार हर्षप्रसाद लिम्बु (नेम्बाङ)लाई पत्रमा जनाइ सकेको थियो ।

सुखिममा सन् १९६७ मा चोङहरुलाई  इ चोङखारचोङमा विभाजन गरी इ चोङका लागि १ सीट काउन्सिलमा आरक्षण गरिको थियो । इ चोङको लागि छुट्टै रङ्गको टिकट थियो । खार चोङको लागि छुट्टै रङ्गको टिकट थियो । चुनाउमा चोङ सीटबाट हर्कधोज चोङ निर्विरोध निर्वाचित भए । काउन्सीलर हर्कधोज चोङले १५ अगस्त १९६७ मा बसेको काउन्सीलको पहिलो सभामा सरकारी पाठशालाहरुमा चोङ भाषा पढ्न-लेख्न पाइयोस भनी माग-पत्र पेश गरे । हर्कधोजको माग खेरो गएन शिक्षा विभागको  ११ मार्च १९६८(मेमो न० (३२)६२/९९९०/इ.डि.एन.)-को परिपत्र अनुसार सुखिमका पाठशालाहरुमा चोङ भाषा पढाइने भएपछि २१ मार्च १९६८ मा इच्छापूर्णदास माङयुङ बडा सामदोङ सरकारी पाठशालामा चोङ भाषाको पहिलो शिक्षकको रुपमा नियुक्त भए ।  सन्१९७१ मा सुखिमकी रानी ग्याल्मो होपकुकको अध्यक्षतामा पाँच सदस्यीय चोङ पाठ्य पुस्तक समिति गठन गरियो । चोङ प्राइमर तयार भयो, तर सदस्यहरू बीच चुक क (सानो क)-को विवादको कारणले गर्दा पुस्तक प्रकाशित भएन ।

सेकमारी

चोङ शिक्षक इच्छापूर्ण दासको भतिज चन्द्र माङयुङको सम्पादनमा साउन २०३० (सन् १९७२) मा सामदोङबाट दुई पृष्ठको सेकमारी नामक पत्रिका कार्बन कपिमा प्रकाशित भयो । सेकमारी फुङ १ तेत्ला १ (सावन २०३०) मा चन्द्र माङयुङको “नाक्वा” र नरबहादुर तामलिङको “आपेली तगाङ” दुई वटा कविता प्रकाशित भए । सेकमारीको प्रकाशनले लिम्बु भाषा र साहित्यको विकासका लागि आवस्यक पर्ने पत्रकारिताको परम्परा सुखिममा बस्यो भन्दा अनर्थ नहोला  । त्यसबेला लिम्बु भाषालाई चोङ भाषा भनेर पुकारिन्थ्यो ।

राजाले जातिहरु बीच भेदभाव ल्यायो भन्दै एक थरिका मानिसहरु राजासित चिडिन थालेका थिए । ४ अप्रेल १९७३ मा राजा पाल्देन थोण्डुप नामगेलको पचासौं जन्मोत्सवको दिन शुरु भएको आन्दोलनले सुखिमे राजनीतिक धरातल नै हल्लिन पुग्यो अनि छोग्यालको शासन समाप्त भयो । छोग्यालसँगै चोङ सीट गयो । अहिले सम्म १२ जना शिक्षक नियुक्त पाएका चोङ भाषा पनि धरापमा परयो । सुखिममा चोङ भाषाको विरोध भइरहेको थियो । डा.नन्दकुमार जाँगिरा गान्तोकमा शिक्षा विभागका निर्देशक थिए । उनले चोङ भाषाको ठाउँमा लिम्बु भाषालाई स्थान दिए । डा.जाँगिराको दूरदर्शी कार्यले लिम्बु भाषाले स्थान पाएपछि पीएस मुरिङलापहलमान सुब्बाले लिंगचोमबाट बीबी मुरिङला र साम्दोङबाट चोङ भाषाका शिक्षक चन्द्र माङयुङलाई गान्तोक झिकाइ लिम्बु पाठ्य पुस्तक लेख्न लगाए । पीएस मुरिङलाको घरमा बसेर बीबी मुरीङला र चन्द्र माङयुङ याक्थुङ सकसक निरुम्लोआल्ल कुसिङ नितुम्लो ११ मार्च १९७६ मा लेखि सिध्याए । अब चन्द्र याङयुङ शिक्षा पेसामा फर्किए भने बीबी मुरिङलाले २४ अप्रेल १९७६ मा लिम्बु पाठ्य पुस्तक लेखकको रुपमा नियुक्ति पाए ।

गाउँ फर्केर चन्द्र माङयुङ लिम्बु पत्रिकासँग जोडिनु पुगे अनि सेकमारी फुङ २  तेत्ला २ (सन् १९८०) मा थिथोग्राफमा प्रकाशित भयो । तर यस अङ्कमा “हाङबामुइ” अभिवादन र “सेकमारीलाम” सम्पादकीय बाहेक केही परेन । सेकमारी फुङ ३ तेत्ला ३ पनि “सेकमारी इत्मुइ चुक्लाम” सेकमारी परिवार मा नै सिमित रहयो ।

वार्षिक रुपमा प्रकाशित हुने सेकमारी फुङ ४ तेत्ला ४ (सन् १९८२)देखि साहित्यिक पत्रिकाको रुपमा प्रकाशित भएको पाइन्छ । सेकमारी फुङ ४ तेत्ला ४ मा शान्तिदेवी याक्थुङमाको “मारे खाहुन” वाङराज याक्थुङबाको “केधिम्बारे सिक्कुम” र भारतसिंह याक्थुङबाको “येत्छामारे त्वा” आदि कथाहरू  समावेश गरिएका छन् । ऐतराज याक्थुङबा “फुङ” बिमित लक्सम इमे “याकथुङ साप्सक” धनसिंह याक्थुङबा “आल्लोबा कुबो नु १९८१” पञ्चलाल याक्थुङबा “थिकहुम्मे यम्बा” चन्द्रकुमार याक्थुङबा “सुवाङ आक्केरिक पोमा” लेख-निबन्ध साथै मनिराज याक्थुङबा “आनिङवा त्ये” चन्द्रकुमार याक्थुङबा “तुख्खे चोगि” प्रेमकुमार याक्थुङबा “आफाङ्ङे हिम्मो नोखिआङ” कविता छापेर सेकमारीले नवलेखक-लेखिकालाई प्रेरणा प्रदान गरेको छ । तिनीहरुमध्ये शान्तिदेवी याक्थुङमा,बिमित लक्सम इमे,मनिराज याक्थुङबा र ऐतमान याक्थुङबाले कलम चलाउदै छन् ।

लामो अन्तरालपछि सेकमारीको पाँचौं अङ्क (खानित ५ सन् २०१०) एसबी माङयुङ र भिम माङयुङ प्रधान-सम्पादक, सनवीर लिम्बु,बीबी लिम्बु’रोशनी’,एसएम लिम्बुको सम्पादनमा देखा परयो । यस अङ्कमा  कवितातर्फ आशा हाङ्मा याक्थुङमाको “लाङदो यी आभोसम्ल” नाम्भेराबा तेरेबादेनको “ताङसाङधाङबा खेसेमिक हेक्केबा मिम” विजय लिम्बुको “सिङसिङ” कुमाहाङ पेघाको “आमोए” हिल्ली हाङ्मा याक्थुङको ”आनिङवा मये” सन्दीप लिम्बुको ”याक्थुङसा फे,आला, रे” मुक्सामा लिम्बुको ”निङवा फुये” रिङकु याक्थुङको ”तागेरा निङवा फुओ सेल्लाप” प्रकाशित भएको छ । एस एम याक्थुङको कथा “एक्ले नु पितकम्बाहा” जीवम याक्थङको पत्रात्मक कथा “मिक्वारे पिन्देबा सकइङघङ इन” र मोहन इजमको जीवनी “निङवाफेम्मा मेन्नुनामा खोदेक्मि साङग्राम्बा हर्कधोज माङयुङ” यसै अङ्कको सामग्री हुन ।

सेकमारीको अङ्क छ (खानित ६ सन्२०१२) लिम्बु, नेपालि र अङग्रेजी गरेर तीन भाषामा प्रकाशित भएको पाइन्छ । लिम्बुमा २९ वटा कविता ४ वाट लेख-निबन्ध,४ वटा कथा समावेश छ भने नेपालीमा १ वटा जीवनी,६ वटा कविता र अङ्ग्रेजीमा १ वटा लेख परेको छ । यस अङ्कमा कवितातर्फ हर्क खाम्धाक,  ईन्द्रहाङ, सन्तोष तेराप्पे, भोजराज माङयुङ, सन्चहाङ लिङदेन लाम्दिक्पा, सुकहाङ लाम्भु, अमरिता याक्थुङखाम्धाक, सिङहाङ याक्थुङ लिङदेन, मनाहाङ याक्थुङ खाम्धाक, सोना सावादेन, ऐताहाङ लिम्बु, जेएल लिम्बु, लालसिँह लिम्बु, सानोमैला, मनबहादुर माबो, धोजमान निङसाङ लिङदेन, चन्द्रहाङ लिम्बु, भिमकुमार लिम्बु, तारा लिम्बु वेजी, सुहाङमा याक्थुङ पक्खिम, सुनुहाङ माङयुङ लिम्बु, बुद्धीराज लिम्बु, मिङसो याक्थुङ, माङहाङमा याक्थुङ, पूर्ण खाम्धाक, सुकवीर लिम्बु सुभासा, सोना सावादन, सोममाया याक्थुङ, सुक्कुहाङमा ताम्लिङ, सिसेक आदिले कलम चलाएका छन भने बीबी मुरिङलासुभा, खाम्धाक रुपलाल याक्थुङ मेरिङ, लालसिँह लिम्बु जीएम खाम्धाकको लेख-निबन्ध प्रकाशित भएको छ । नेपाली खण्डमा विरही काइँलाको जीवनी-लेख, चन्द्रहाङ लिम्बु, रविन गुरुङ, पी भट्टराई, जेएल लिम्बु र श्याम कुमारी गुरुङको कविता र निकुरा बुङ्गतेनको अङ्गेजी लेख पनि छ ।

सेकमारी अङ्क सात(खानित ७ अन तङ्बे २०१४) लिम्बु कविता जितपाल माङ्मु-खेकलाम, मनाहाङ याक्थुङ खाम्धाक-आबाङे लक्खुम्ले वानाम्मो,आशाहाङमा ताम्लिङ-थेआङ, रुपलाल याक्थुङमेरिङ-याप्मिरे सिगाङ्ङा, यवहाङसावादेन-आङ्गा निछाम्साआ रो, रसमाया बक्खिम-मेन्छुमारे हिङमन, सोना सावदेन-सुजा थिक तोन्दुङबे, मन्नाहाङ खाम्धाक-फेलेलुङ तिम्ब्रक,सन माङयुङ लिम्बु-खेनेए महातमागान्धी केबोक्खेरो, हिमा हाङ्मा-सेप्म रो, ऐताहाङ लिम्बु-आक्केरिक नुङ्ङाबे?,शान्तिराम पन्धाक-आलेक्खा नसानिबा युमामाङ्ङे पलि, रन्जना लिम्बु-युमा माङ्ले मिम, पीएस इजम-मुक्लाहा मेमुक्ले, सनहाङ लिम्बु-मा, मङगलमान लिम्बु-आमारे थेत्लङ केगुत्ताङ, मणिहाङ लिम्बु-थेआङ ?, प्रिथि लिम्बु-हिङमन, रोशनी लिम्बु-कक्केरिक यम्बा आम्बोङनेन्, गजेन्द्र लिम्बु-यरिक्के माङघा, युवाहाङ सावादेन-मेरिङ, ऐताबीर पेघा-फुङहेक्के हिङमन, सन्जै माङमु-फुङइसिक, कौशिला याक्थुङमा-सेममुइ, चन्द्रहाङ बक्खिम-निङवा र इत्ने रो, पूर्णहाङ लिम्बु-इत्तुङबा हेक्के मेबोक्खेन, आयुना लिम्बु-केलाङ, औ लिम्बु कथातर्फ सुरुत्चि याक्थुङ काम्धाकको नियेम्बा तरेरत्, शिभहाङ ताम्लिङको आङ्गारक याङकेसाबा रो फागत्, भगिशोर सावादेनको सामसेत्(सोघासुसिङ इङमा), मन्जिल लिङदेनको-याङकेसाबा सङवाबा, सिसेक-हिङमाको-केगोप्पा निङसाङहा, मुक्कुमहाङ याक्थुङको-कोक्मा आप्प्रेक लासेबे,खुसुहाङ ताम्लिङको-कुनिङवा मेदुम्सेन्नाङ, तुम्याङहाङ एसपी माङयुङ लिम्बुको-चेचिल्लो नु कन्देक्मा,राजु साप्सिङबोको-चोसाप्पी माङले साप्तुबेन,परेकोछ भने लेख-निबन्धतर्फ बओबी सुभामुरिङलाको-कुसेप्माङहा नि:मा मेघो:सुन्छिन, सन्तोष तेराप्पेको -मिरिक पानिख्रताओ कक्फेक्वा तुप्येन थिम्बे ओगाप आयाङगुम्सा तित्हा,नाम्भेराबा सेरेबादेनको -नयुङवाबा माङहिम, विष्णुकुमार मुरिङलाको-फाङनाम्ले फोजे चोल्मा थिम्ले ताजिक,ध्रुव लकान्द्रीको- हिङमन्भु:,एसबी ताम्लिङको मिक्तो आत्ती केरे,डीएस लिङदेनको-लाजे? थोबो हाङधिम्ले नुनामे, युवाहाङ सावदेनको-केलाङ,बाहेक अङग्रेजीमा ३ र नेपालीमा १८ वटा यसै अङ्कका सामग्री हो भन्न पर्छ ।

तुम्दुमदो हेना

सन्१९७५ मा पश्चिम सुखिमको लिङचोमका बीबी मुरिङला र साम्दोङका चन्द्र माङयुङको संयुक्त सम्पादनमा तुम्दुमदो हेना कार्बनकपिमा प्रकाशित भयो । तुम्दुमदो हेना वर्ष १ अङ्क १ (जुन १९७५) मा बीबी मुरिङलाको कविता “निङवाफुओ निङवा तुक्मा पान” चन्द्र माङयुङको कविता “कम्भासिक मेत्ने” छापिए  । अङ्क २ (सन् १९७५) पनि चन्द्र माङयुङको “ईत्ताङसिङले” र बीबी मुरिङलाको ”नाहेन” कवितामा नै सिमित रहयो ।

तुम्दुमदो हेना अङ्क ३(सन् १९७५) लिथोग्राफमा प्रकाशित भयो । यस अङ्कमा चन्द्र माङयुङको “तागेरा निङवाफुमे सेवारो” बीबी मुरिङलाको  “तुमेसिगेआङ पाप्माबोखे” पदमसिँह मुरिङला नुगोको “निङसाङ”सँग तीन वटा कविता र चन्द्र माङयुङको दुई वटा लेख “हयङ पयङ” र “सिरिजङगा सक” यस अङ्को सामाग्री यति नै हुन । वर्ष नलेखिएको तुम्दुमदो हेना अङ्क ४ मा चन्द्र माङयुङको लेख “आमेन्छिनले कुमेनछिन” र बीबी मुरिङलाको “मेरिङ साम्लो” र “पेलि ईङखङ” बाहेक अन्य सामग्री परेन । अङ्क ५ (सन् १९७७) ईमानसिँह चेम्जोंग विशेषांकको रुपमा प्रकाशित भएको पाइन्छ । लक्षमण लावती र जसहाङ मादेनको जीवनी “मुइगुम अङसी ईमानसिँह चेम्जोंगलेन कुहिङमन” जीवनी, ऐतमान सुब्बाको लेख “सोधुङगेन साङ्ग्राम्बा ईमानसिँह चेम्जङ” पदमसिँह मुरिङलाको “सुखिम लाजे श्री ईमानसिँह चेम्जङ” चन्द्र माङयुङको “खेन्हा इप्मेल्ले” येइङ्सा मादेनको “थिक निङवा” बीबी मुरिङलाको “सोधुङगेन चेम्जङहाङनु” हर्कबहादुर सुब्बाको “सोधुङगेन चेम्जोङहाङ” लेख-निबन्ध,बीबी मुरिङला र चन्द्र माङयुङको “आरन तुमदुम्दो हेनाआङ ताजेङ”.आरबी सुब्बाको “मेरिङ चोगुरो” येहाङ लाओतीको “साङग्राम्बा सोधुङगेन मुइगुम अङ्सीरे कुमिङओ” कविता, यस अङ्कमा प्रकाशित छन् । अङ्क ६(नोभेम्बर १९७८)मा कवितातर्फ एनडी सुब्बा”मिक हन्दुमलो” बीबी मेवाखले”तुम्दुमदो हेना लन्देरो” येहाङ लाओती”याप्मीरे मिक्की” ज्ञानोदय लावती “पोगिरो” भिमकुमार नेम्बाङ”माक्सिङबुङ पुइन्ले पातु” ज्ञानसिँह मादेन “ईङ्वा कासेरो,निङवा वासेरो” तिलधोज लिसिङबुङ “आल्ल कक्के चोगुमलो” हर्कबहादुर सङबाङफे “खाहुन साम्लो” एनबी सुब्बा “फङनाम” लक्षमण लावती “मेल्लुङ चामा लेक्वा हुक्वा चोगी” आरबी सुब्बा “आनिङवातुक” चन्द्रमणि सुब्बा “मेन नित्ते ग” मोहन सुब्बा “नाक्चा नु साप्ला” एनबी सुब्बा “थबामिङ” ऐतमान सुब्बा “मेसोरे र मेबत्छे” एलएम कुरुम्बाङ “थि थुङमेल्ले” लेखनिबन्ध तर्फ हर्कबहादुर खामधाक “याक्थूङ चप्ता” बीबी मुरिङला “याक्थुङ सापसक फोमेल्ले” र जीवनी तर्फ चन्द्र माङयुङ “साङग्राम्बा सोधुङगेन ईच्छापूर्णदास” प्रकाशित छन ।

१६ सितम्बर १९७८मा सुखिम याक्थुङ सङजुम्भो स्थापना भयो । त्यसपछि सङजुम्भोले तुम्दुमदो हेनालाई मुखपत्र बनाइ ७ र ८ अङक पीएस मुरिङला “अपतन”,पृथ्वीराज खेवा र फिपराज खेवाले सम्पादन गरेका थिए ।

तीन वटा कथा मोहन फुरुम्बोको ”वस मासिङ’, बीपी आङदेम्बेको “हेक्केआङ रक आबोखा” अनि कविताहरू हर्कबहादुर खाम्दाको “सिमा मेसुक्तेन” परेको छ भने बाह्र वटा कविताहरूमा चन्द्र माङयुङको “मेखिम” र “मिक्कि फुङ” आरबी लेक्वाहाङको “तान्छो” विरही काइँलाको “लेप्चाधिक आबोखे” बीबी मुरिङलाको “लुङहाम साम्लो” जसहाङ मादेनको”सोघा पोक्मा मुन्धुम” मणिराज याक्थुङको “काराङवा” बीबी मेवाखलेको “सुक्खेवा साम्लो” साङहाङ सानको “हेनयेननिन त्येरो” मैततबहादुर चेम्जोंगको “फुङईक्ला” सिंहवीर पाराङदेनको “हाङवामा” र “खाहुन” अङ्क ७ को सामाग्री हो । यसबाहेक मोहन ईजमको लेख “हेक्केआङ आनिङवा” पनि अङ्क ७ मा परेको छ । तुम्दुमदो हेना अङ्क ८(नोभेम्बर १९८२) मा पदमसिँह मुरिङलाको “पान्थर फिदिम पाङभेबा याक्थुङबा साम्यो नु सापसकरे थोबो चुम्भो” मोहन फुरुम्बोको “दार्जीलिङ अखिल भारतीय किरात चुम्लुङओ” लक्षमण लावतीको “सोना इङदङ”एसआर खजुमको “सिकसाम्बा सिकसाम्मा हानु” पृथ्वीराज सुब्बाको “सापलुपहिम” ताक्कनसाबा याङदेम्बा(नेम्बाङ)को “सुजापान रेन तोन्जो” मोहन सुब्बाको “किरात माराम ओ सुजापान”लेख-निबन्ध छ भने डीपी लिङदेनको “आङ्गा स्याङरैछ” र  एबी खेवाको “सेप्माङ ओबा पाननाङ ताप्थुङधो मये” कथा पाइन्छ । कविताहरुमा लाओती येहाङको “नामदारे” सिँहबहादुर पाराङदेनको “सिरिजङगा मेत्तुङ” डीपी फुरुम्बोको “सापमुन्धुम आनिइन” बीबी मुरिङलाको “ईङ्गा इतुङले” एमबी खाम्धाकको “अक्के चोगुम” जसहाङ मादेनको “सोघा पोक्मा मुन्धुम” र मनबहादुर खेवाको गीत “साम्लो” प्रकाशित भए ।

तुम्दुमदो हेना अङ्क ९ (अक्टुबर १९८८) देखि पीएस मुरिङला ‘अपतन’ र मोहन फुरुम्बोको संयुक्त सम्पादन प्रकाशित भएको पाइन्छ । यस अङ्कका कविता केबी याक्थुङ्को-करसाङ, बिर्खबहादुर पक्खिमको-निङ सिमसिम, भिमबहादुर माङयुङको-लुङ्माओ साप्तुसे, आइबी याक्युङको-युमा माङ सेवा, बल मुरिङलाको-नामयाङ सिगाङ साप मुन्धुम ओमपमेल्ले,अनि लेख-निबन्ध एचबी याक्थुङको-यक्साम पाङभे साङधाबु, बिमित याक्थुङमाको-पाङभे थोबोरे लागि मेन्छीमा निसाम, एसआर खजुमको-लाजे खिकहुमओ मेन्छुमारेलक्फा, बीआर याक्थुङको-१९८८ थेल्लिक्पा याक्थुङ सुवाङ लि लक मेल्ले, प्रकाशित छन ।

यसरी कवितातर्फ बल मुरिङलाको ‘खा मेओतनेन आबाङे’ हर्कबहादुर खाम्धाकको ‘खासिङ मेनितल मेबत लेछ’ सुकबीर ताम्लिङको ‘आम्घो सेन’ वीर नेम्बाङ मेरिङको ‘आङ्गा आक्वा पोङङा आङ कोक्मा इप्प्रेक पेक्का र पत्छा’ कथातर्फ भीम माङयुङको ‘मेल्लुङ खिकमारे मिमजी पुरे’ सम्बरमान ताम्लिङको ‘खपमेन चेसाबाआङ मेघोसेन’ लेख-निबन्धतर्फ मोहनप्रसाद फुरुम्बोको ‘आनी अक्केबाए आवा’ बी बी मुरिङलाको ‘याक्थुङबारे पाङ सामइक कुसिङवानु’ एसआर खजुमको ‘तकयान सोमरे कुजेङ’ र ‘सप्चा नु चोबेन थोबोओ पन्डित जवाहरलाल नेहरुरे लक्फा’-लाई तुम्दुमदो अङ्क १० (अगस्त १९८९) को सामाग्री भन्न पर्छ । अङ्क ११ (जुन १९९०) का लेख-निबन्धहरुमा पीएस सावदेनको ‘हाङमा लक्ष्मीबाई लत्थिक मुक्कुमा रुमे’ सम्बर ताम्लिङको ‘पोबेन निसाम रे येकयाबा’ एसआर खजुमको ‘मेल्लुङ साकमेप्मो वेन्छाङहा’ येमप्रसाद सुब्बाको ‘माङगेना चोक्मा थिम’ कवितामा बीबी पक्खीमको ‘निङवा मेदुमसेल्ले’ आश मुरिङलाको ‘लत्थिक खेदा’ केशव माङयुङको ‘नेल्सन मन्डेला’ भीमबहादुर याक्थुङको ‘थिकसेक्पा लाङदो बेओ तिङग्रेक’ र कथामा देवमान सुब्बाको ‘हिङमन्ले कुभा’ परेको छ । अङ्क १२ (अप्रेल १९९२) को कवितामा लाओती येहाङको ‘निसुङ ल’ पूर्णसिँह मुरिङलाको ‘सेप्माङरे पान हा’ विरही काइँलाको ‘निङवाइन’ केशव नाम्भेराबाको ‘थेआङ लाम केनाक्तेर केयेबे’ शान्ति माङयुङको ‘सेप्माङ सिगाङ’ लिलाहाङ सावदेनको ‘तान्दिक्पा सेप्माङ’ आश मुरिङलाको ‘हाङसाङरेन थनामो चिबेत तक्लेङ’ चन्द्रमान ताम्लिङको ‘निसुङबा फुङ्ङीन’ पीएस याक्थुङको ‘ताम्भुङङीन कुन्धेरो’ कथामा भीमबहादुर याक्थुङको ‘हिम्मो थान्छिङ्ङाङ्बा खेदा’ सुकबीर ताम्लिङको ‘सेसेभुङ हाल्ले केवात्ते?’ लेख-निबन्धमा आर के फुरुम्बोको ‘याक्पङ्गे थिकहुम निसामलाम’ देवमान याक्थुङको ‘मेन्छुमारे नमनम्बा नेर्वा’ एसआर खजुमको ‘याक्थुङ साक्थिमम्मिबा थाकलावा’ र पदमसिँह मुरिङलाको निवेदन-पत्र ‘सुक्खिम याक्थुङ सापसक सङजुम्भो कान्दक पालि’ बीबी मुरिङलाको ‘थिकनेत्छि इत निम्बा पान्छेक्वापेन्छिङ’ इत्यादि छापिएको पाइन्छ । तुम्दुमदो हेना सन १९७५ देखि सन १९९२ सम्म आइपुग्दा ७१ वटा कविता, १३ वटा कथा र ४० वटा लेख-निबन्ध प्रकाशित भएको पाइन्छ । तुम्दुमदो हेना बाट नै चतुरमान तुम्बापो,एतमान सुब्बा, येहाङ लाओती, हर्कबहादुर खाम्धाक,बीबी पक्खिम आदिले लिम्बु साहित्यमा पर्दापण गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार