सेवानिवृत्त शिक्षक दम्पतीद्वारा विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना

  नयाँ बुलन्द
1.1k Shares

अक्षयकोषको चेक हस्तान्तरण गर्दै सेवानिवृत्त शिक्षक घनेन्द्र कार्की र राधिका कार्की (बाँया) र ग्रहण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक हरीप्रसाद पौड्याल (दायाँ) । 

इलाम : इलामको माई नगरपालिका-२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो स्वर्गीय छोराको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सेवानिवृत्त शिक्षक घनेन्द्र कार्की र राधिका कार्कीले आफ्नो स्वर्गीय छोरा इन्जिनियर सुवर्ण कार्कीको स्मृतिमा स्थानीय कन्काई माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालयको ६३ औं वार्षिक उत्सवको अवसरमा बुधबार कार्की दम्पतीले कक्षा ८, १० र ११ का उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी ‘इन्जिनियर स्वर्गीय सुवर्ण कार्की स्मृति अक्षयकोष’ स्थापना गरेको प्रधानाध्यापक हरीप्रसाद पौड्यालले जानकारी दिए ।

कार्की दम्पतीले अक्षयकोष बापतको रु पाँच लाखको चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक पौड्याललाई हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण गर्दै घनेन्द्र कार्कीले आफ्नो स्वर्गीय छोराको नाममा बर्सेनि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको बताए ।

स्वर्गीय सुवर्ण कार्कीले २०६२ सालमा सोही विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । पछि इन्जिनियर उत्तीर्ण गरी सोही सेवामा रहेकै बेला २०७६ मा ब्रेन ट्युमर रोगबाट सुवर्णको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार