इलाममा तमू ल्होसारको रौनक (तस्बिरहरु)

  नयाँ बुलन्द
756 Shares

इलाम : गुरुङ जातिको महान पर्व तमू ल्होलोसारको अवसरमा इलाममा सांस्कृतिक उत्सवको आयोजना गरिएको छ । भोली अर्थात आइतबारसम्म चल्ने उत्सवमा जातिय खाद्य परिकार, परम्परागत भेषभूषा, भेडाका उनबाट बनेका सामाग्रीहरु सहितको स्टल राखिएको छ ।

त्यस्तै जातिय पहिचान झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । ल्होसारकै अवसरमा इलाम टुडिखेलमा भेट्रान फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो भने जिल्लाका विभिन्न स्थानमा समेत विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

इलामका गुरुङ समुदायले यस वर्षको ल्होसार सामुहिक रुपमा मनाएका हुन् । आफ्नो संस्कार र संस्कृतिको संरक्षणमा सद्भाव, भाइचारा, विश्वबन्धुत्व र सहअस्तित्व जगाउने उद्देश्यले सबै भेला भई इलाम बजारमा ल्होसार मनाएका हुन् । गुरुङ समुदायमा घरघरमै ल्होसार मनाउने प्रचलन पनि छ ।

इलाम जिल्लामा गुरुङ समुदायको करिव ९ हजार जनसंख्या छ ।

पुष १५ लाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार तमु ल्होसार मनाईने गरिन्छ । यस वर्ष पुष १४ गते राति १२ बजे हिल्हो (बिरालो वर्ष) को बिदाई र मुप्ही ल्हो (गिद्ध वर्ष) को स्वागत गरी ल्होसार मनाइँदै छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गणना गर्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए ।

मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार