इलाम : इलाममा सञ्चालन हुन लागेको पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप सातौं संस्करणको तयारी सुरु गरिएको छ ।
आगामी २४ फागुनदेखि हुन लागेको गोल्डकप सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । माइभ्याली फुटबल क्लबको आयोजनामा हुने गोल्डकपको सबै तयारी सुरु गरिएको इलाममा मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइयो ।
यस संस्करणमा नेपालका ८ र विदेशका २ गरी १० वटा टिमलाई आमन्त्रण गरिने माईभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले जानकारी दिए । गोल्डकपमा नेपालको नेपालका ए डिभिजन क्लबका तीनवटा बिभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरीको (एपीएफ) क्लब तथा मनाङ-मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, मचिन्र्श क्लबलाई आमन्त्रण गर्ने आयोजकले जनाएको छ । त्यस्तै मोफसलमा तहल्का मच्चाउँदै आएको तथा ए डिभिजन लिग समेत खेलिसकेको झापा ११ र आयोजक माइभ्याली फुटबल क्लबले प्रतिष्पर्धा गर्नेछ । विदेशी दुई टिम भारत र बंगलादेशका क्लबलाई निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।
यस संस्कणको विजेताले नगद १० लाख र उपबिजेताले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । अन्य खेलाडीहरुले विधागत पुरस्कारहरु समेत पाउनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न आयोजकले ८८ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । गोल्डकपको मुख्य प्रायोजकको रूपमा इलाम नगरपालिका रहेको छ । दर्शक, स्थानीय उद्यमी व्यवसायी, वैदेशिक रोजगारमा रहेका फुटबल फ्यान र प्रतियोगिताका स्पेशल दाताले गरेको आर्थिक सहयोग नै फुटबल खेल सम्पन्न गर्नमा सहयोगी हुने माइभ्याली फुटबल क्लबका अध्यक्ष काफ्लेले बताए ।
प्रतियोगिताको फाइनल ३ चैतमा हुनेछ । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।
यसअघि २०७६ सम्म प्रत्येक वर्ष प्रतियोगिता संचालन भएपनि कोभिड १९ का कारण २०७७ यता प्रतियोगिता संचालन हुन सकेको थिएन ।