इलाम : इलामको १० स्थानीय तहमध्ये पश्चिमी क्षेत्रमा पर्ने गाउँपालिका हो ‘माङसेबुङ गाउँपालिका’ । पर्यटकीय, जैविक, धार्मिक, सांस्कृतिक विविधतामा अग्रणी यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साबिक गजुरमुखी, इभाङ र बाँझो गा.वि.स. समेटेर स्थापना गरिएको हो ।
‘माङसेबुङ’ लिम्बू भाषामा राखिएको नाम हो । लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, छनौट गरेको र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । लिम्बू भाषाबाट देवीदेवताको बासस्थान भएको स्थल वा क्षेत्रलाई ‘माङसेबुङ’ भनिन्छ । यहाँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, ज्योतिनन्द गुरु, सचितानन्द गुरु र वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनजस्ता गुरुहरुको जन्म भएकाले यस क्षेत्रको नाम माङसेबुङ रहन गएको हो । यस गाउँपालिकाको नाम किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र ‘माङसेबुङ’ को नामबाट नै नामाकरण गरिएको हो ।
१४२ दशमलव ४१ वर्गकिलोमिटर क्षेत्रफल रहेको माङसेबुङ गाउँपालिका २६ डिग्री ४३ मिनेट ४२ दशमलब ५८२ सेकेण्डदेखि २६ डिग्री ५५ मिनेट ३५ दशमलब ३९६४ सेकेण्ड उत्तरी आक्षाशं र ८७ डिग्री ३८ मिनेट ५५ दशमलब २४४४ सेकेण्डदेखि ८७ डिग्री ४७ मिनेट २९ दशमलब ०११२ सेकेण्ड पूर्वी देशान्तरसम्म र समुन्द्र सतहबाट ५१ दशमलब ५ मिटरदेखि २०२० मिटरसम्म उचाईमा फैलिएको छ ।
पूर्वतर्फ देउमाई नगरपालिका, पश्चिमतर्फ चुलाचुली गाउँपालिका, उत्तरतर्फ फाकफोकथुम गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिका तथा दक्षिणततर्फ चुलाचुली गाउँपालिकाको बीचमा अवस्थित माङसेबुङ गाउँपालिका प्राकृतिक सौन्दर्य, हरियाली वन पाखा, डाँडाकाँडा, खोलानाला, खुल्ला चौर, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीयस्थलका दृष्टिले आकर्षक गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ ।
माङमालुङ र तीनथुम्कीबाट देखिने सूर्योदय, सूर्यस्त, पहाडी भूभाग हरियाली डाँडापाखा, तराईका समथर फाँट र सेताम्मे हिमश्रृङखला लगायत विभिन्न मनमोहक दृश्यहरुले पर्यटकको मन लोभ्याउने गरेको छ । सदरमुकाम इलाम बजारसहित झापाको बिर्तामोड, दमक र धनकुटाको भेडेटारबाट पक्की सडक निर्माणाधीन रहेकाले यस क्षेत्रको पर्यटनले चाँडै गति लिने विश्वास स्थानीयमा पलाएको छ ।
यी सडक निर्माणपछि तराईबाट गर्मी छल्दै हिमश्रृंखलाको दृश्यावलोकन र अनेकौं प्राकृतिक छटामा लुटपुटिन आन्तरिक र बाह्य पर्यटकको ताँती लाग्ने निश्चित छ । यही अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले पर्यटक लक्षित कार्यक्रमलाई पनि शुरुदेखि नै प्राथमिकतामा राखेको छ ।
साबिकका ३ गा.वि.स. का २७ वटा वडालाई ६ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको कार्यालय इभाङमा रहेको छ । त्यसैगरी वडा नम्बर १ को कार्यालय नाङरुङ, वडा नम्बर २ को इभाङ, वडा नम्बर ३ को चतुरे, वडा नम्बर ४ को मार्चेबुङ, वडा नम्बर ५ को भालुटार र वडा नम्बर ६ को कार्यालय चिसोपानी पञ्चमीमा रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङक अनुसार माङसेबुङ गाउँपालिकाको जनसंख्या १६ हजार ८ सय १० रहेको छ । जसमध्ये ८ हजार ४ सय ७७ महिला र ८ हजार ३ सय ३३ महिला रहेका छन् ।
माङसेबुङ कसरी पुग्ने?
माङसेबुङ गाउँपालिका पुग्न इलाम जिल्ला सदरमुकादेखि सवारी साधनमा करिब ३ घण्टा लाग्छ । इलाम-नेपालटार-मंगलबार-गजुरमुखी हुँदै माङसेबुङ गाउँपालिका पुग्न सकिन्छ । पाँचथरको सीमावर्ती राँके-घुर्पिसे पञ्चमी-रवी हुँदै पनि पुग्न सकिन्छ । त्यस्तै झापाको दमकदेखि रतुवा खोलको किनारैकिनार सवारी साधनमा करिब २ घण्टामा माङसेबुङ गाउँपालिका पुग्न सकिन्छ । यो मोटरबाटो निर्माणाधीन दमक-रवि सडक (फाल्गुनन्द मार्ग) हो । उता झापाकै विर्तामोड-दानाबारी-महमाई-लारुम्बा हुँदै पनि माङसेबुङ गाउँपालिका पुग्न सकिन्छ । त्यस्तै धरान-भेडोटार-रवि सडकको अन्तरगत चिसोपनी पञ्चमी हुँदै समेत माङसेबुङ गाउँपालिका गुग्न सकिन्छ ।
पैदल यात्रुले दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगे, टोड्के कुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ । यो बाटो पदयात्राको लागि आर्कषक गन्तव्य बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यसका साथै माङमालुङ क्षेत्र भएर इलाम र पाँचथरको सीमावर्ती राँके भएर धनकुटाको राजारानी हुँदै सुनसरीको धरान जोड्ने मोटरबाटो निर्माणधीन छ ।
भिडियोमा हेर्नुहोस् :