एकल महिलालाई स्वरोजगार बनाउँदै फाकफोकथुम गाउँपालिका, ४५ जनाले लिए उद्यमशीलता विकाश तालिम

  युद्धबहादुर बोहोरा
308 Shares

इलामः फाकफोकथुम गाउँपालिकाको १ नम्बर वडाका ४५ जना एकल महिलाले उद्यमशीलता विकाश तथा महिला आयआर्जनको लागि व्यावसायिक तालिम लिएका छन् । एकल महिलालाई सिपमुलक उद्यमशीलता विकाश गर्ने उदेश्यले सामाजिक विकास मन्त्रालयले प्रदेशस्थित १४ जिल्लाका १४ स्थानीय तहका एकल महिलाका लागि संचालन गरेको कार्यक्रम अन्तर्गत फाकफोकथुम गाउँपालिकाको साझेदारीमा पाँच किसिमका एकल महिलालाई प्रशिक्षणसहित समुह गठन गरिएको छ ।

सम्बन्ध विच्छेद,विधवा,४५ वर्षसम्मका अविवाहित,५ वर्ष भन्दा बढी श्रीमान् सम्पर्क विहिन भएको र अंश लिएर मानो चामलसहित परिवारबाट अलग भएका महिलाहरुलाई मानव अधिकारका लागि एकल महिला समुह इलामको सहजीकरणमा  तालिम संचालन गरेको हो । तालिममा खाता खोल्ने तरीका,सिप विकाश र समुह गठन साथै बीउपूँजी परिचालन तथा उपयोग सम्बन्धी प्रशिक्षण गराइएको छ । डब्लुएचआर इलामबाट सहजकर्ताद्वय दिपा आचार्य र रन्जु पौड्यालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

समाजमा एकल महिलालाई स्थापित गराउन र आत्मनिर्भर बनाउने अभियानका साथ उनीहरुको समस्या, सुरक्षामा चुनौती, अवसर र सामाजबाट हुने विभेद, महिला हिंसा अन्त्य गर्न कार्यक्रमको आयोजना गरिएको पालिका उपाध्यक्ष कल्पना राईले जानकारी दिइन् । स्थानीयस्तरमा एकल महिलाको सहभागिता लगायतका विषयमा एकल महिलाको जीवनयापन सहज बनाउन तालिममा सिकेका सीप अनुसारको व्यवसाय गर्नका लागि बीउपुँजी प्रदान गरिने  भएको छ ।

नर कुमारी लिम्बुको नेतृत्वमा ९ सदस्यीय समुह गठन गरिएको छ । एकल महिलाका नाममा संस्था दर्ता,खाता खोल्ने,एकल महिलाको परिभाषा,अधिकारलगायतका विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक आचार्य र पौड्यालले बताइन् । तालिमसंगै भौगोलिक संभाव्यताको अध्ययनपछि स्थानीय एकल महिलाले कृषि र पशु पालन व्यावसायबाट आफुलाई जीविकोपार्जनमा सहयता पुग्ने गरी समुहबाट  बीउपूँजी लिने भएका छन । घरमै सीमित एकल महिलालाई सामाजिक काममा सक्रिय गराउने र आयआर्जनमा जोड दिने  कार्यक्रममार्फत यस वर्ष एउटा वडामा मात्रै कार्यक्रम गरिको भएता पनि अगामी आर्थिक वर्षमा सबै वडालाई समेटिने  उपाध्यक्ष राईको भनाइ छ । सिप विकाश तालिम अन्तर्गत कृषि सम्बन्धी सहजकर्ता धिरेन श्रेष्ठले  उनीहरुले गर्न सक्ने र आयआर्जन हुने पेशा संचालन गर्न प्रशिक्षण गराइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार