इलाम : नेपाली स्कुस बैधानिक रुपबाट भारत निर्यात हुने भएको छ । वर्षौंदेखि अवैध रूपमा निर्यात भइरहेको तरकारी इस्कुसले अब भारतीय बजारमा वैधता पाएको हो । नेपालमा उत्पादन भएको स्कुसलाई प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएपछि भारत निर्यात सहज हुने भएको छ । इलाम र पूर्वका विभिन्न जिल्लामा ठूलो परिमाणमा स्कुस उत्पादन हुन्छ । तर, यसको निर्यात सहज नहुँदा किसानले सास्ती खेप्नुपरेको थियो ।
इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लाको इस्कुस इलामका सीमावर्ती क्षेत्रबाट रातारात अवैध रूपमा निर्यात भइरहेको थियो । पशुपतिनगर नाकाबाट सहज रुपमा भारत तर्फ स्कुस लग्न समस्या रहँदै आएको थियो । सूर्योदय नगर प्रमुख रणबहादुर राईले नगरले ४ वर्षदेखि गरेको प्रयास सफल भएको बताए ।
उनले सूर्योदय नगरपालिकाका किसानहरुको मुख्य आम्दानीको स्रोत स्कुसलाई क्वारेन्टाइन लिस्टमा राखेपछि किसानहरुले लगानीअनुसारको मूल्य पाउने विश्वास व्यक्त गरे । उनले प्लान्ट क्वारेन्टाइन रेगुलेसन एन्ड मनिटरिङ सेक्सन र प्लान्ट क्वारेन्टाइन एन्ड पेस्टिसाइड मेनेजमेन्ट सेन्टरसँग स्कुसलाई निर्यातजन्य वस्तुको प्लान्ट क्वारेन्टाइन सूचीमा राख्न निकै मेहनत गर्नुपरेको बताए ।
इलामका धेरै जसो क्षेत्रम स्कुस खेती हुने गरेको छ । उत्पादित स्कुस सिजनको सुरुमा करिब ४० रुपैयाँ प्रतिकिलो विक्री हुनेगरेपनि मुख्य सिजनमा यसको मूल्य १० रुपैयाँसम्ममा झर्ने गरेको छ । इलाममा स्कुस खेतीका लागि न्यानो र ओसिलो हावापानी भएकाले रोगकिरा खासै लाग्दैन । स्कुस खेतीबाट एक किसानले २ लाखदेखि २० लाखसम्म बार्षिक आम्दानी गर्दै आएका छन् ।